पोखराको नदीपुर भिसिमार्गमा पुनः भ्वाङ पर्यो


दिननाथ बराल
पोखरा २९, साउन

पोखराको नदीपुर भिसिमार्गमा पुनः २४ दिन पछि पुनः भ्वाङ परेको छ । नदीपुर भिसिमार्ग जाने सडकमै हिता गुरुङको मुल गेट सहित अगाडीको पिच सडकमा ठुलो भ्वाङ परेको स्थानिय
यामबहादुर गुरुङले बताए । उनका अनुसार गएराती ठुलो पानी परेकोले पानीको राम्रो निकास नभएकोले गर्दा भुवान परेको हो ।

यस अघि साउन ४ गते नेवाः छे भवनको गेट अगाडीको कच्चीसडकमै भुवान परेको थियो । पहिलो भ्वाङ परेको करीब ५० मिटर पुर्वपट्टिको सडक सहित हिता गुरुङको मुल गेटमा भुवान परेको हो । उक्त भुवान परेको करीब १० मिटर उक्ततर्फ नारी सेवा केन्द्र कास्कीको जमिनमा समेत भ्वाङ परेको नारी सेवा केन्द्र कास्कीका उपाध्यक्ष सरु अधिकारीले बताईन । पानीको राम्रो निकास नभएकोले ठुलो पानी पर्दा सो क्षेत्रमा पानीको ताल पर्ने गरेकोले पानीको निकास नभएकोले गर्दा पनि सो क्षेत्रमा पुनः भ्वाङ परेको अधिकारीले बताईन ।

करीब एक सय मिटर कच्ची सडक रहेको सो क्षेत्रमा हिलो भयो भन्दै पटक पटक ग्रावेल थप्दै जादा अन्य सडक तथा जमिनको उचाई भन्दा उच्च हुन गई पानीको राम्रो निकास हुन नसकेको कारणले गर्दा पनि भुवान पर्न गएको गुरुङले दाबी गरे । यसैविच पोखरा ५ शान्ति मार्ग रिठ्ठेगौँडा टोलको सडक छेउ सहित स्थानिको गेट नै भाषिने गरी जमिनमा भ्वाङ परेको स्थानीय तारानाथ अधिकारीले बताए ।

भुगोलविद डाक्टर विश्व श्रेष्ठले पोखराको धेरै ठाँउहरुको भु–वनोट चुन डुंगा युक्त भएकोले बर्षायामको भलपानी राम्रो निकास हुन नसके भ्वाङ पर्ने समस्या रहेको बताए । उनका अनुसार बर्खाको पानीमा बढी कारवन हुन्छ भने चुनयुक्त डुंगासंग मेल भए पछि एक आपसमा मिलन भएर जमिनमा भ्वाङ पर्ने समस्या हुन्छ । पोखरामा यस्तो समस्या पोखरा १, २, ५, ६, ७, १६, १७ लगायतका क्षेत्रमा देखिने उनले जनाए । यस अघि पनि पोखराका विभिन्न ठाँउहरुमा भुवान पर्ने समस्या देखिएको छ । हरेक बर्ष जसो पोखरामा यो समस्या देखिन्छ । पोखराका धेरै ठाँउहरुमा पिच सडक तथा कच्ची सडक भए पनि ढल तथा भलपानीको राम्रो निकास गर्न नसक्दा पोखराका अन्य क्षेत्रमा समेत यस्ता प्रकारका भ्वाङ पर्न सक्ने श्रेष्ठले जनाए ।