बेल्जियमको स्थानिय निर्बाचनका नेपाली उम्मेदवारहरु बीच अन्तरक्रिया


ब्रसेल्स बेल्जियम, अक्टोबर १०। नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा आज एक अन्तर्क्रिया कार्यक्रम बेल्जियमको लुभेन शहरमा सम्पन्न भयो । बेल्जियमको आगामी अक्टोबर १४ तारीख हुन गइरहेको स्थानिय र प्रादेशिक निकायको निर्बाचनमा एक दर्जन नेपाली उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दै छन्।

बेल्जियमका विभिन्न सहरहरूबाट चुनावी मैदानमा उत्रेका नेपालीहरू सत्तासिन र प्रमुख प्रतिपक्ष भिन्न स्थापित राष्ट्रीय ६ राजनैतिक दलको तर्फबाट आफ्नो उम्मेदवारीका साथ मैदानमा उत्रिएका छन । दुई दशक यता बसोबास आरम्भ गरेका नेपालीहरूले यही लगावलाई नछाड्ने हो भने भविष्यमा बेल्जियमको राष्ट्रीय राजनीतिमा महत्वपूर्ण स्थान लिनेमा पत्रकारहरूले प्रश्न गर्दै आफ्नो उम्मेदवारी, एजेन्डा र भविष्यमा गर्ने योजनाहरू बारे जिज्ञासा राखेका थिए ।

धेरै संख्यामा नेपाली उम्मेद्वार लुभेनमा सहरबाट रहेका छन्।जसमा ५ ओटा राजनैतिक दलबाट ५ जना उम्मेदवार रहेका छन् । लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको सोसलिस्ट पार्टी एसपीआले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने समाजबादी-कम्युनिष्ट पार्टीको रूपमा परिचित पिभिडीएले लोक रानामगरलाई उम्मेदवार खडा गरेको छ। सोही नगरपालिकामा अर्का राष्ट्रिय पार्टीहरू सीडीएंडभीले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेद्वार बनाएको छ।

आप्रवासी प्रति कठोर र राष्ट्रबादको नारा दिने पार्टी एनभीआले कृष्ण क्षेत्रीलाई अगाडि सारेको छ। सोही भ्लाम्स क्षेत्रमा पिभिडीए पार्टीले डिल्लीराम भण्डारीलाई प्रदेश ससदको लागि खडा गरेको छ। बेल्जियमको अर्को व्यापारिक शहर अन्त्वेर्पेनबाट महानगरको काऊन्सिलर पदका लागि लिला शर्मा मानन्धरलाई सी डिएंडभी पार्टीले आफ्नो उम्मेद्वार बनाएर चुनावी मैदानमा अगाडि सारेको छ। सोही पार्टीले अर्को विलरीक शहरबाट श्याम श्रेष्ठलाई उम्मेद्वार बनाएर चुनावी मैदानमा उतारेको छ। एसपीआले नै शोभा लिम्बु ओस्तंडेबाट , दिएस एबाट किसन केसी अन्त्वेर्पेन शहरको स्थानीय निकायमा उम्मेद्वार रहेकाछन ।

राम्रो संभाबना बोकेका आसलाग्दो र लामो समय देखि लुभेन नगरमा अपराजित एसपिआका सुर्य ढकाल बिजयी बन्ने संभाबना अधिक छ ।बेल्जियमको प्रमुख पर्यटकीय शहर मानिने ब्रूज़बाट एनभीआ पार्टीले कुशल श्रेष्ठलाई उम्मेद्वार बनाएको छ उनी सबैभन्दा कान्छा नेपाली उम्मेद्वारको रूपमा प्रतिष्पर्धा गर्दैछन। बलिराम झा, लीला शर्मा मानन्धर , सूर्य ढकाल र कृष्ण क्षेत्री नेपाली कांग्रेसको राजनीतिमा प्रचलित नामको रूपमा रहेका थिए ।

प्रखर बक्ता को रूपमा परिचित लिला शर्मा मानन्धर राजनीति शास्त्रमा स्नाकोत्तर हुन साथै लोक रानामगर लामो राजनैतिक पृष्ठभूमी बोकेका संघीय समाजबादी फोरम सम्बद्ध व्यक्ति हुन् । पिएन क्याम्पसबाट ब्याचलर्स डिल्लीराम भण्डारी नेकपा माओवादीको राजनीतिमा सक्रिय नाम हो भने कुशल श्रेष्ठ विद्यार्थी ।नेपाली कलाकारिता जगतमा श्याम श्रेष्ठ स्थापित नाम हो ,रश्मी निरौला काठमाडौंको सेन्ट जेभियरबाट ब्याचलर्स हुन् ।

अन्तर्क्रिया कार्यक्रम महासंघ यूरोप अध्यक्ष केजिन राईको सभापतित्व र सल्लाहकार पंचम अधिकारीको संचालन संचालनमा भएको थियो । महासंघ केन्द्रीय संगठन समिति सदस्य ओम शर्मा , बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माई सदस्यहरू बिरमान मगर , निलम घिमिरे सापकोटा लगायत पत्रकार सहभागी थिए ।