अब युरोपमा फोनमै नेपाली टेलिभिजन र चलचित्रहरु हेर्न पाइने


लण्डन –युरोपमा बसोबास गर्ने नेपालीहरुले अब आफ्नै फोन, ट्याब्लेट वा  टेलिभिजन सेटमा नेपालका प्रमुख टेलिभिजन स्टेशनहरुको प्रत्यक्ष भिडिओ स्ट्रिमिङका साथै  लोकप्रिय चलचित्रहरु हेर्न र गीतसंगीत सुन्न पाउने छन्।

काठमाडौंस्थित म्युजिक नेपाल प्रालिले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी शुरु गरेको नेपालकै पहिलो भिडिओ स्ट्रिमिङ सेवा अब ‘नेपाल अन डिमान्ड’ नामक मोबाइल एप मार्फत प्राप्त गर्नसकिने सो कंपनीले जनाएको छ।

यी सेवाहरु प्राप्त गर्न ग्राहकहरुले www.nepalondemand.com गएर निशुल्क परीक्षणकोलागि दर्ता गरी आफ्नो एन्ड्रोइड वा आइओएस उपकरणमा एपहरु डाउनलोड गर्नुपर्नेछ। त्यसप‌छि आफ्नो युजरनेम र पासवर्ड राखेर लग इन गरेपछि उच्च गुणस्तरको नेपाली टिभी तथा मनोरन्जन कार्यक्रमहरु हेर्न सकिनेछ।

आइतबार फार्नबरोमा  आयोजित एक समारोहमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सो एप सार्वजनिक गरे। सभालाई संबोधन गर्दै राजदूत सुवेदीले ३६ वर्ष अघि स्थापित निजी  क्षेत्रको कंपनी म्युजिक नेपालले नेपालको कला तथा संगीत क्षेत्रको विकासमा पुराएको योगदानको प्रशंसा गरे। उनले नयाँ प्रविधिमार्फत नेपालको ताजा सूचना र मनोरन्जन प्रवासी नेपालीहरुलाई आफ्नै घरमा बसी उपलब्ध गराउने प्रवन्ध मिलाएकोमा म्युजिक नेपाललाई धन्यवाद पनि दिए।

सो अवसरमा वरिष्ठ गायिका मीरा राणा, भूतपूर्व गोर्खा सैनिकहरुले सुरु गरेको कंपनी जीनर्जीका प्रमुख कार्यकारी सेवानिवृत्त मेजर टिकेन्द्र दल देवान लगायतका वक्ताले नयाँ सेवाको सफलताको कामना गर्दै शुभकामना दिएका थिए।

प्रत्यक्ष भिडिओ स्ट्रिमिङ गरिने टेलिभिजन च्यानलहरुमा नेपाल टेलिभिजनका तीनवटा च्यानलहरु, कान्तिपुर टिभी, हिमालय टिभी, एपिवान टिभी, न्युज २४ र बिटिभी बिजनेस छन्। कान्तिपुर र एपिवान एचडी फर्म्याटमा हेर्न सकिनेछ। त्यसैगरी कम्तीमा १०० वटा नेपाली चलचित्रहरु कुनै पनि बेला हेर्नसकिने गरी उपलब्ध हुने र हरेक साता एउटा चलचित्र थप गर्दै लगिने म्युजिक नेपाल प्रालिका अध्यक्ष सन्तोष शर्माले बताए।

“विश्वभरि नेपाली समुदायसम्म पुग्ने गरी नेपालको पहिलो टिभी तथा भिडिओ स्ट्रीमिङ सेवा शुरु गर्न पाउँदा हामीलाई निकै खुसी लागेको छ। संसारभरि बसोबास गर्नुहुने नेपाली समुदायलाई मातृभूमिसंग जोडन हामीले यो सेवा शुरु गरेका हौं,”उनले भने।

सबै च्यानलहरुमा छुटेका कार्यक्रम १२ घन्टासम्म हेर्न मिल्ने सुविधा, भिडिओ कन्ट्रोल, पहिले छाडेकै ठाउँबाट चलचित्र हेर्न मिल्ने त्यसैगरी क्रोमकास्ट र एपल एअरप्ले प्रयोग गरी आफ्नो टेलिभिजन सेटमा सबै च्यानल तथा अन्य सामग्रीहरु हेर्नसकिनेछ।

बेलायतबाट सार्वजनिक गरिएको नेपाल अन डिमान्ड एप पछि मासिक शुल्क तिरेर युरोप रअन्यत्र पनि डाउनलोड गर्न सकिन्छ।

यो सेवा प्रदान गर्न अत्याधुनिक स्ट्रीमिङ प्रविधि प्रयोग गर्नुकासाथै अनुमति लिइसकेपछि मात्र नेपाली चलचित्र तथा सांगीतिक सामग्रीहरु प्रयोग गरिनेभएकाले यसले नेपाली चलचित्र जगत तथा सांगीतिक उद्योगलाई मदत पुग्ने म्युजिक नेपालले जनाएको छ। नेपाल अन डिमान्ड एप एन्ड्रोइड र आइओएस फोनहरु, एन्ड्रोइड र आइओएस ट्याब्लेट, एप्पल एअरप्ले सपोर्ट, क्रोमकास्ट सपोर्ट, एमेजन फायरस्टिक एप र एन्ड्रोइडमा आधारित धेरैजसो सेटटप बक्सहरुमा पनि उपलब्ध हुनेछ।

म्युजिक नेपालले नेपाल अन डिमान्डका प्रत्येक ग्राहकबाट प्रति महिना प्राप्त हुने शुल्कको ७.५ प्रतिशत हेल्प नेपाल नेटवर्कलाई प्रदान गर्ने घोषणा गरेको छ। “प्रवासमा बसोबास गरिरहेका नेपालीहरुले नेपाली टेलिभिजन, संगीत तथा फिल्महरुबाट मनोरन्जन लिइरहँदा तपाईंहरुले तिरेको शुल्कको केही अंश नेपालमा स्वास्थ्य, शिक्षा तथा मानवीय सहायताको काममा सघाउन हामी प्रतिबद्ध छौं,”  हेल्पनेपाल नेटवर्क युकेका कोषाध्यक्ष सचिन श्रेष्ठले भने।

सन् १९८२ मा स्थापित म्युजिक नेपाल प्रालि  नेपालकै पहिलो निजी संगीत कंपनी हो। नेपाली कलाकारहरुलाई उहाँहरुको सांगीतिक एल्बम बिक्रीवापत निश्चित प्रतिशत रकम रोयल्टीको रुपमा प्रदान गर्ने प्रचलन म्युजिक नेपालले नै शुरु गरेको हो। त्यस्तै प्रतिलिपि अधिकारसंबन्ध‌ि नेपालको पहिलो कानुन निर्माणमा पनि म्युजिक नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।