एथ्लेटिको म्याड्रिड नेपाल भित्रिएको त्यो दिन


एथ्लेटिको म्याड्रिडका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेजलाई भब्य स्वागत

बसन्त रानाभाट,बार्सिलोना।

स्पेनी लिगाको चर्चित फुटबल क्लव एथ्लेटिको म्याड्रिड नेपाल भित्रिएको छ। क्लवको रातो र सेतो रङ्गले सजिएको जर्सी वेष्ट काठमाडौ फुटबल क्लवका खेलाडीहरुले लगाउने छन्। दुवै क्लवको लोगो अंकित जर्सीको रङ्ग एथ्लेटिको म्याड्रिडकै जर्सीको रङ्ग हुने भएको छ।

यस बर्षको बिजयादशमीको ऎतिहासिक दिन,जुन दिन एथ्लेटिको म्याड्रिड फाउन्डेशनले नेपालमा सम्झौता गरेको छ। बिश्वभर बिभिन्न अन्तराष्ट्रिय सामाजिक बिद्यालयहरु बनाएर फाउण्डेशन मार्फत सहयोग गर्दै आएको क्लवले वेष्ट काठमाडौ क्लवलाई सहयोग गर्ने गरी सम्झौता गरेको हो।

चन्द्रागिरी नगरपालिका -१४ मा रहेको वेष्ट काठमाडौ फुटबल क्लवलाई सहयोग पुग्ने गरी दुई पक्षीय सम्झौता भएका छन्। फाउण्डेशनले क्लवमा आबद्व बालबालिकाहरुको लागि खेल, प्रशिक्षण लगायत बिबिध सुबिधाका लागि सहयोग गर्ने घोषणा गरेको हो।दुई क्लव सहकार्य गर्ने,फाउन्डेशनले १० देखि १५ बर्षसम्मका खेलाडीहरुलाई फुटबलको माध्यमबाट सहयोग गर्ने। खेलाडीहरु देखि कोचका लागि तालिमको ब्यबस्था गराउने। खाना तथा बस्ने ब्यबस्थाका अलवा खेलका लागि स्तरीय तथा आवश्यक सामग्रीहरु जुटाउने। रातो र सेतो रंग अंकित जर्सीमा दुई क्लवको लोगो प्रयोग गरेर खेल्न सकिने। कालान्तरसम्म सहयोग गर्ने, नेपालको फुटबल क्षेत्रमा फाउण्डेशन मार्फत बिस्तारै सहयोग बढाउदै जानेजस्ता महत्वपूर्ण सम्झौताहरु भएका छन्।यसका लागि नेपाल पुगेका क्लवका इन्टरनेशनल एक्सपान्सन एण्ड एकेडेमी म्यानेजर फर्नाण्डो लोपेजले भने अझ ठुलो आशा देखाएका छन्। उनले भनेका छन्। “सुरुवाती २० हजार युरोको सहयोग खाने,बस्ने वा बिबिध खर्चका लागि हो। तर  यहाँ त उचित खेलमैदानको बारेमा सोच्नु पर्ने रहेछ।यो त अतिआबश्यक देखिएकाले क्लवसँग छलफल पछि केहि समय पछि जानकारी गराउने प्रतिबद्दता ब्यक्त गर्दछु।”बच्चाको बत्ती (बीबी ट्रष्ट) र एथ्लेटिको क्लव बीच सम्झौता भए पनि सोहि ट्रष्ट मार्फत नै वेष्ट काठमाडौ फुटबल क्लवलाई सहयोग पुग्ने गरी हस्ताक्षर भएको छ। सो अबसरमा बीबी ट्रष्टका तर्फबाट गैर आबासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र एथ्लेटिको म्याड्रिडका लोपेजले हस्ताक्षर गरेका छन्।

एक छुट्टै कार्यक्रमको आयोजना गरी पत्रकार सम्मेलनबीच उक्त सम्झौता भएको थियो। सो अबसरमा संघका अध्यक्ष भट्टले यो दुईक्लव बीचको मात्र नभई नेपाल र स्पेनबीच फुटबल क्षेत्रमा भएको ऎतिहासिक सम्झौता भएको बताए।यसअघि चन्द्रागिरीमा आयोजित कार्यक्रममा अतिथिहरुलाई बाजागाजा सहित भब्य स्वागत गरिएको थियो। बच्चाहरुबिच भएको मैत्रीपूर्ण खेलपछि लोपेजले हस्ताक्षर सहित एथ्लेटिको म्याड्रिडको लोगो समेत बितरण गरेका थिए।सो अबसरमा ८० जना खेलाडीहरुलाई जर्सी समेत बितरण गरियो।

यसअघि लोपेजले नेपालको फुटबललाई सहयोग र साथ दिन आँफूहरु ईच्छुक रहेको बताएका थिए। उनले भने,”सबैभन्दा कम उमेरमा पनि खेल वा फुटबलको माध्यमबाट अबसर प्रदान गर्न सक्षम रहनु हाम्रो उदेश्य हो। एथ्लेटिको म्याड्रिड फाउण्डेसनको स्कुल एउटा यस्तो स्थान हो जहाँ तपाई मिल्न सक्नु हुन्छ,आनन्द लिन सक्नु हुन्छ र साथी बन्न सक्नुहुन्छ।”
पोर्तुगल,निकारागुआ,मोरक्को, भारत र हाईटी लगायत स्पेनमा नै ११ वटा सामाजिक विद्यालयहरूमा सहयोग गरिरहेका भन्दै पछिल्लो क्रममा नेपालसँग जोडिन पाउदा खुशी लागेको लोपेजले बताए। उनले भने,”यसप्रकारको परियोजना वा अन्य सहयोगका लागि वा अत्यन्त जरुरी सहायताका लागि, क्लव बजेटको एक प्रतिशत छुट्टाएका हुन्छौ।त्यो अन्तर्गत नै हामीले सहयोग गर्ने हो।”

नेपाल र स्पेनको फुटबललाई जोड्ने अभियानका सक्रिय भूमिका निर्बाह गरेका एनआरएनए युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले सम्झौताको त्यो दिन नेपाली फुटबलका लागि ऎतिहासिक भएको बताएका छन्। उनले भने,” स्पेनका महारथी क्लवहरुले दक्षिण अमेरिकी मुलुकहरुमा यस्ता सहयोग गरेका मात्र छैनन् त्यहाँबाट उत्पादन भएका खेलाडीहरुलाई अबसर पनि दिएका छन्। त्यसैले हामी सहयोग पाएर खुशी भन्दा पनि, संसारकै उत्कृष्ट लिगसम्म पुग्ने ढोका खुलेकोमा अझ गदगद छौ।”

दुई क्लवलाई जोड्न यसरी सम्भब भयो :-

एथ्लेटिको म्याड्रिड फुटबल क्लवले सिधै नेपालको फुटबल क्षेत्रलाई सहयोग गर्न तयार भएको भने होईन। यसैबर्ष काठमाडौ महानगरपालिकाका र म्याड्रिड नगरपालिका बीच फुटबलको क्षेत्रमा सहयोग आदानप्रदान बारे छलफल भएको थियो। काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले म्याड्रिड भम्रण गर्दा होस् वा म्याड्रिड नगरपालिकाका प्रतिनिधिहरुले काठमाडौ भ्रमणमा रहदा पनि फुटबलले दुई देश जोडिने बारे चर्चा चल्यो।


(एथ्लेटिको म्याड्रिड फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग एनआरएन केन्द्रिय अध्यक्ष सहितको टोली )

यस्तै स्पेनिस नागरिक खोसे मानुवल भिलानोभाले पनि क्लवसँग बिभिन्न चरणमा छलफल गर्न बाताबरण तय गरे भने म्याड्रिड नगरपालिकाको सहयोग भूमिका रह्यो। पहिलो चरणको छलफलका गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्ट म्याड्रिड आएका थिए। ५ महिना अघि अध्यक्ष भट्ट सहितको एनआरएन टोलिले क्लव फाउण्डेशनका अध्यक्ष पाब्लो लागोसँग छलफल गर्यो। यस्तै दोस्रो चरणमा स्पेनका लागि नेपाली राजदूत भरत बहादुर रायमाझी सहितको टोलीले पनि अध्यक्ष लागोसँग भेटबार्ता गर्यो।

दुवै क्लवहरुको लोगो अंकित जर्सी

केन्द्रिय अध्यक्ष भट्ट सहित एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल,एनआरएन अनररी परिषद् समिति सदस्य गोबिन्द सुबेदी लगायतको टोलीले गैर आबासीय नेपाली संघ र एथ्लेटिको म्याड्रिड बीच सम्झौता गर्ने प्रयास गर्यो। तर नेपाल बाहिर बस्ने नेपालीहरुको सँस्था भन्ने अर्थ लागेपछि एनआरएनएसँग क्लव सझौता गर्न तयार भएन।नेपाल भित्र त्यसमा पनि राजधानी बाहिर पनि क्लव जान तयार भएँन। आबश्यक कागाजी प्रक्रिया र सहजताका लागि बच्चाको बत्ती (बीबी ट्रष्ट)  बाट प्रक्रिया अघि बढ्यो। अन्तत: सोहि ट्रष्ट मार्फत नै चन्द्रागिरीमा रहेको वेष्ट काठमाडौ फुटबल क्लवबाट प्रपोजल पेश भएपछि एथ्लेटिको म्याड्रिडलाई उचित लाग्यो र सम्झौता भएको हो। सम्झौताका लागि पर्यटन ब्यबसायी दीपक भण्डारी,वेष्ट काठमाडौ फुटबल क्लवका अध्यक्ष सुन्दर थापा, गोबिन्द सुबेदी लगायतको महत्वपूर्ण भूमिका रहेको छ।