राहदानी बारे स्पेन दूताबासलाई गलत धारणा भएछ :-महानिर्देशक खड्का


बार्सिलोना। परराष्ट्र मन्त्रालय राहदानी बिभागका महानिर्देशक रामकाजी खड्काले स्पेन स्थित नेपाली दूताबासलाई राहदानी सर्कुलेसन बारे गलत धारणा भएकाले समस्या आएको बताएका छन्। दूताबासले विभागीय निर्देशन भन्दै राहदानी बनाउन अनिबार्य रुपमा स्वयं ब्यक्ति नै उपस्थिति गराउनुपर्ने बताएपछि खड्काले यस्तो प्रतिक्रिया दिएका हुन्।

एक सरकारी कार्यक्रममा सहभागी बन्न क्यानाडामा रहेका थापाले अनलाईनखबरसँग कुराकानी गर्दै हुलाक मार्फत दूताबासमा डकुमेन्ट पठाएर पनि राहदानी जारी गर्न सकिने बताएका छन् । उनले भने,” हामीले जुन किसिमको त्यहाँ सर्कुलेशन गरेका छौ दूताबासमा मिसकन्सेप्सन (गलत धारणा) भएछ। लाईभ इनरोलमेन्ट सिष्टम (प्रत्यक्ष दर्ता प्रणाली) भएका मुलुकहरुमा सम्भव भएसम्म ब्यक्ति नै उपस्थित गराउने भनेर सर्कुलर गरेका हौ। तर त्यो प्रणाली नभएका मुलुकहरुमा होईन र स्पेन पनि त्यसमा पर्दैन।

उनले राहदानी सेवालाई छिटो,छरितो र सजिलो र प्रभावकारी बनाउने बिभागको उदेश्य रहेको समेत बताए। महानिर्देशक खड्काले भने,”पोष्टल सर्भिसको उपयोग गरेर पासपोर्ट बनाएर पठाईदिन दूताबासलाई कुनै पनि समस्या हुँदैन। तर यदी अफिसरलाई कुनै शंका लाग्यो भने सो ब्यक्तिलाई स्वयम् स्काईपबाट अथवा कुनै ढंगले कुराकानी गरेर यकिन गर्न सक्छ। नागरिकता वा कुनै डकुमेन्टमा शंका लागेमा सम्बन्धित जिल्ला कार्यलयमा पत्राचार गरेर भेरिफिकेसन गर्न सकिन्छ।”

तर स्पेन स्थित नेपाली राजदूताबासका राजदूत भरत बहादुर रायमाझीले पासपोर्ट बिभागको निर्देशन भन्दै स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने बताउदै आएका छन्।जसका कारण म्याड्रिडभन्दा सयौ किलोमिटर टाढा तथा अन्य शहरहरुमा बस्ने नेपालीहरुलाई राहदानी बनाउन समस्या परेको छ। त्यतिमात्र हैन नयाँ राहदानी बनेपछि पनि दूताबासमा नै स्वयं उपस्थिति हुनुपर्ने राजदूतको अडान छ।

’हामीले काम गर्ने हो। उहाँहरुले एउटा नियम बनाउनु भएको रहेछ। त्यो नियम बेलाबेलामा फेसबुकमा राखेर रिमाइण्ड पनि गराउनु हुन्छ। पासपोर्ट बनाउनको लागि निबेदन गर्न पनि दूताबास जानु पर्ने र लिन पनि जानु पर्ने नियम रहेछ। अहिले हामीले पनि त्यही नै गरेका छौं।’ राजदूत रायमाझी भन्छन्।

दूताबासमा स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने नीतिको बचाउ गर्दै राजदूत रायमाझीले बिभागले प्रमाणिकरण र सहप्रमाणीकरण भनेर छुट्टाएको बताए। उनले भने,’प्रमाणीकरण भनेको जुन राष्ट्रमा बसेको छ त्यसलाई प्रमाणिकरण, एउटा राष्ट्रबाट अर्को राष्ट्रमा हेरिन्छ त्यो सहप्रमाणीकरण। गरिन्छ। स्पेनमा नै दूताबास भएकाले यो प्रमाणिकरण अन्तर्गत पर्यो त्यसैले राहदानी बनाउन स्वयं उपस्थित हुनुपर्छ।’

यता महानिर्देशक खड्काले गलत बुझाईका कारणले यस्तो समस्या आएको बताएका छन्। उनले भने,” पोष्टल मार्फत डकुमेन्ट पठाउन सकिन्छ। मैले मौखिक रुपमा पनि उहाँलाई बताईसकेको छु। यदी लिखित रुपमा दूताबासलाई निर्देशन चाहिन्छ भने पनि पठाईदिन्छु। यसमा समस्या नै छैन। यो सामान्य कुरा हो। उहाँहरु आँफैले बुझेर पनि गर्नु पर्ने हो।”

महानिर्देशक थापाले टेलिफोन कुराकानीमा बताएको पुरा अंश

“सम्भव हुँदा खेरि नजिक हुँदा खेरि दूताबासमा नै आएर राहदानी बनाउदा राम्रो हुन्छ। तर टाढा हुँदा खेरि हुलाक डकुमेन्टहरु पठाएर आबेदन दिन सकिन्छ। यदी अफिसरलाई कुनै शंका लाग्यो भने सो ब्यक्तिलाई स्वयम् स्काईपबाट अथवा कुनै ढंगले कुराकानी गरेर यकिन गर्न सक्छ। नागरिकता वा कुनै डकुमेन्टमा शंका लागेमा सम्बन्धित जिल्ला कार्यलयमा पत्राचार गरेर भेरिफिकेसन गर्न सकिने प्रचलन रही आएको छ।

हामीले जुन किसिमको त्यहाँ सर्कुलेशन गरेका छौ दूताबासमा मिसकन्सेप्सन (गलत धारणा) भएछ। लाईभ इनरोलमेन्ट सिष्टम (प्रत्यक्ष दर्ता प्रणाली) भएका मुलुकहरुमा सम्भव भएसम्म ब्यक्ति नै उपस्थित गराउने भनेर सर्कुलर गरेका हौ। तर स्पेन दूताबासममा होईन।

त्यो सर्कुलर त्यहाँ पनि गयो होला तर प्रत्यक्ष दर्ता प्रणालीको सुबिधा भएका मुलुकहरुका लागि मात्र हो। त्यो बिभागले स्पेन दूताबासलाई गरेरको सर्कुलर होईन। राजदूत ज्यूसँग यस बिषयमा कुराकानी भएको पनि थियो मिसकन्सेप्सन भएजस्तो छ। हाम्रो उदेश्य राहदानी सेवालाई छिटो,छरितो र सजिलो बनाएर प्रभावकारी पार्ने हो।

पोष्टल सर्भिसको उपयोग गरेर पासपोर्ट बनाएर पठाईदिन दूताबासलाई  कुनै पनि समस्या हुँदैन। खाली समस्या हुनुपर्छ प्रमाणिकरणमा। शंका लाग्यो भने गर्ने हो। नभए देखि सरल रुपमा बनाईदिए हुन्छ। डकुमेन्ट ठिक लाग्छ भने अफिसरले साईन गर्ने हो।

फेरि पनि भन्छु। पोष्ट मार्फत डकुमेन्ट पठाउन सकिन्छ। मैले मौखिक रुपमा बताईसकेको छु। यदी लिखित रुपमा निर्देशन चाहिन्छ भने पनि पठाईदिन्छु। यसमा समस्या नै छैन। यो सामान्य कुरा हो उहाँहरु आँफैले बुझेर पनि गर्नु पर्ने हो। यहाँले समाचारमा लेख्नु भए अनुसार यो सिरियस कुरा हो। हामीले अझ विदेशमा राहदानी सेवा सरल र सहज गरिदिने हो त्यसलाई जटिल बनाउनु हुँदैन।

प्रत्यक्ष दर्ता प्रणाली भएको ठाउँमा ब्यक्ति आए देखि त्यो प्रणालीको अर्थ पनि रहन्छ। तर नभएको ठाउँमा अरु नियोगले जसरि गर्नुभएको छ। त्यसरी नै स्पेनमा पनि गर्नु उत्तम उपाय हो। प्रत्यक्ष दर्ता प्रणाली भएका मुलुकहरुलाई सम्भव भएसम्म मान्छेलाई उपस्थित गराउने भन्ने हो। वेभ क्याम्पबाट नै फोटो खिच्नु भन्ने छ। तर  नभएको ठाउँमा त यो चिन्ताको बिषय नै हैन। पोष्टबाट नै डकुमेन्ट पठाउने र पासपोर्ट बनेपछि पनि पोष्टबाट सम्बन्धित ब्यक्तिको ठेगानामा पठाउन सकिन्छ। यसलाई नै निरन्तरता दिनुपर्छ। नयाँ ब्यबस्था आएकै होईन। उहाँहरुले अलिकति बुझ्नमा गल्ती गर्नु भयो।”