किन झगडा र विवाद गर्छन प्रवासमा कांग्रेसहरु ?


प्रकाश ढकाल, कोपनहेगन डेनमार्क

जब नेपालीहरु वैदेशीक रोजगारीको लागि विदेशिने क्रम बढ्दै गयो तब यो संख्या अपेक्षीत भन्दा बढ्दै गयो । सन् २००५ मा युरोप र अमेरिकामा र खाडी मुलुकमा रोजगार या अध्ययनको लागि आउने नेपालीहरुको संख्या एकाएक् बढ्यो । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, कोरिया अनि युरोपेली मुलुक बेल्जियम, स्पेन,पोर्चुगल, इटली, डेनमार्क. नेदरल्याण्ड साथै खाडी राष्ट्रहरु साउदी अरब, कतार, बहाराइन, लगायत देशमा नेपालीहरुको संख्या बढ्दै गयो । रोजगार या अध्ययनको शिलशिलामा यी अनि अरु देशमा आउने नेपालीहरुसंगै उनीहरुको एक्लो ज्यान मात्र आएको थिएन । उनीहरु संगै उनीहरुको मनको अन्तर कुन्तरमा लुकेको राजनीति र यसको मोह समेत संगै आएको थियो ।

युरोप र अमेरिका आउने नेपालीहरु मध्यमा ती नेपालीहरु जसको मनको अन्तर कुन्तरमा राजनीति र राजनीतिक मोह थियो तिनीहरु नेपालमै राजनीतिक संगठनमा आवद्ध भै सक्रिय रुपमा केन्द्रमा या स्थानीय तहमा सक्रिय रहेका थिए साथै आफनो पार्टीका केन्द्रिय ठुला नेताहरुसंगको चिनजान त थियो नै । त्यहि विगतको सक्रियताले विदेशीए संगै कुनै संघ या संगठनमा आवद्ध हुने इच्छाको परिणाम हो नेपालका पार्टीहरुको विदेशमा भात्री संस्थाहरु जन्म । अहिले नेपालका अधिकांश राष्ट्रिय पार्टीहरुको विदेशमा भात्री संस्था या संगठन रहेका छन् ।

तर यहाँ प्रसंग नेपाली कांग्रेसको विदेशस्थित भात्री संस्था ‘नेपाली जनसम्पर्क समिति’ को आयाम र यसमा बारेमा चर्चा गर्न खोजिएको हो । आजका मितिसम्म नेपालका राजनीतिक पार्टीहरुका प्रवासमा रहेका संगठनहरुमा सबैभन्दा बलियो नेपाली कांग्रेसको भात्री संगठन ‘नेपाली जनसम्पर्क समिति’ नै हो । अहिलेसम्म ३१ देशमा ‘नेपाली जनसम्पर्क समिति’ विस्तारीत छ र सक्रिय रुपमा सामाजीक, मानविय कार्य गर्दै आएको छ । यसका अलावा यसले आफनो मातृपार्टी /माहुपार्टी नेपाली कांग्रेसलाई आवश्यक सहयोग गर्दै आएको छ ।

तर दुखको कुरा-प्रवासमा ठुलो संगठन भएर पनि आज अधिकांस देशमा ‘नेपाली जनसम्पर्क समिति’ मा विवाद छ । कतिपय देशको विवाद बाहिर नआएको भए पनि अधिकांस देशका समितिमा विवाद भएको देखिन्छ । किन विवाद छ ? भन्नेतर्फ चर्चा गर्नुभन्दा पहिला मातृपार्टी/ माहुपार्टी नेपाली कांग्रेसलाई राम्रोसंग नियाल्नु जरुरी छ । नेपाली कांग्रेसको केन्द्रमा भएको विवाद जसरी मौलाउँदो छ त्यसरी नै विदेशका जनसम्पर्क समितिहरुमा विवाद मौलाउँदो छ । केन्द्रमा हुने विवादको प्रतक्ष असर प्रवासमा तुरुन्तै देखिछ । केन्द्रमा पार्टी सभापतिको पक्षलाई संस्थापन पक्ष्य मानिए जसरी प्रवासमा पनि पक्ष र विपक्ष देखिन्छ । यस्तो देखिनुमा केन्द्रिय नेताहरु धेरै मात्रामा दोषी देखिन्छन। भने अर्कोतीर विदेशस्थीत विकसीत देसमा रहेर विदेशको संस्कृती र सिस्टम देखेका र सिकेका व्यक्तिहरु पनि फेरी नेपालकै जस्तै ‘फोहोरी’ राजनीति गर्न खोज्ने जनसम्पर्क समितिका पदाधिकारीहरु पनि उत्तिकै जिम्मेवार छन् ।

उदाहरणको लागि एउटा केन्द्रिय नेता प्रवास भ्रमणमा आउँदा उक्त नेतासंग जो नजीक छ उसैले घुमाउने र आवश्यक कुराको जोह गर्ने गर्छ । यस्तो प्रवृत्तीले भ्रमणमा आउने नेताले आँफुलाई घुमाउने व्यक्तिको मात्र कुरा सुन्ने तर अरु कार्यकर्ताको कुरा नसुन्ने कारणले अनावश्यक विवाद निम्त्याएको उदाहरण विगतमा धेरै देशमा देखिएको छ ।

कतिपय कुराहरुमा ‘दाइ’ प्रवृत्ती हावी हुँदै आएको छ । केन्द्रिय नेताहरुलाई ‘दाइ’ सम्बोधन गर्ने अनि मैले भनेपछि दाईले मान्नु हुन्छ भन्ने मनोगत् प्रवृत्तीका कारण पनि संगठन विवादीत छ । आफनो पार्टीका नेतालाई ‘दाई’ नाताको सम्बोधनले संगठनको कार्यमा केन्द्रिय नेताहरुलाई अनावश्यक दवाव दिने प्रवृत्ती कायमै रहनुले पनि संगठनको विवाद उजागर गर्ने गरेको छ ।

नेपाली कांग्रेसले आफनो महाअधिवेशनमा प्रवासका एक देशको जनसम्पर्क समितिलाई सक्रिय सदस्यताको आधारमा ३ महासमिति सदस्य सहित ७ जना महाअधिवेशन प्रतिनिधी सहभागी गराउंदै आएको छ । संगठनमा आवद्ध व्यक्तिहरु यसैमा सहभागी हुने लोभका कारण पनि धेरै जनसम्पर्क समितिहरु विवादीत छन् । कुनै मापदण्ड,पद्धती, निर्वाचन या क्षमताका आधारमा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरु चुनिदैनन् । केवल जनसम्पर्क समितिको सभापतीको नजिकको, आफनै भेगको भएको आधारमा चुनिन्छन् । विडम्वना यहीं छ । तर यसरी चुनिन नसक्ने अरु सक्रिय र जुझारु कार्यकर्ताहरुको लामो समयसम्म स्वाभाविक विरोध कायम रहन्छ यसै कारण पनि संगठनमा विरोध अनि झगडा चलिरहन्छ जसका कारण समयमा हुनेपर्ने अधिवेशन पनि हुँदैन ।

पार्टी प्रोटोकलमा प्रवासस्थित जनसम्पर्क समितिका सभापतिहरु नेपालको एउटा जिल्लाको क्षत्रको क्षत्रिय सभापति सरह रहन्छन् । तर यो सम्मान र क्षमतालाई मध्यनजर गर्दा, विदेश स्थित जनसम्पर्क समितका सभापतीहरुले आँफुलाई चिन्न जरुरी छ । एउटा संगठनको सभापती हुँदैमा आँफुलाई कुनै कम्पनीको बोस या प्रमुख सम्झने प्रवृत्तीका कारण आज अधिकांश जनसम्पर्क समितिमा समस्या उत्पन्न भएको देखिन्छ । ख्याल रहोस, नेपाली कांग्रेसको प्रवास स्थित जनसम्पर्क समिति एउटा राजनीतिक संगठन हो र एउटा राजनीतक संगठनको प्रमुख भनेको लिडर अर्थात नेता हो तर कुनै कम्पनीको बोस अथवा प्रमुख होइन । नेता त्यो हो कसले विचार प्रवाह गर्छ र सबैको कुरा सुन्छ तर यहि कुरा बोस या कम्पनी प्रमुखले गर्न सक्दैन । फरक यहीं छ । त्यसैले प्रवास स्थित जनसम्पर्क समितिका सबै सभापतीहरु नेता बन्ने प्रयत्न गर्नुस, कम्पनीको बोस होइन । यती गर्न सक्नु भयो भने समाधान आँफै आउँछ ।
जय नेपाल ।