स्विट्जरल्याण्डमा नेपाली बालबालिकाको फेसन शो


बेर्न। स्विट्जरल्याण्डबासी नेपालीहरूले एक फरक कार्यक्रमका बीच दशै मनाएका छन्। नेपाली बालबालिकाहरुबीच फेसन शो प्रतियोगिताको आयोजना गर्दै दशै मनाएका हुन्। नेपाली भाषा पहिचानका लागि नेपाली बर्णमाला प्रतियोगिता तथा नेपाली पोशाक सहितको फेसन शो गर्दै एक फरक कार्यक्रम प्रस्तुत भएको थियो।

कोजाग्रत पुर्णिमासँगै दशै समापन भएपनि आईतबार एक कार्यक्रमका बीच नेपालीहरुले दशै मनाए।  नेपाली समाज बेर्न र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डले संयुक्त रुपमा बेर्नमा कार्यक्रमको आयोजना गर्यो। साना- साना बालबालिकाहरुको प्रस्तुतिले सबैको ध्यान केन्द्रित गर्यो।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले नेपाली भाषा र सस्कृति चिनाउने कार्यक्रमको प्रंशसा गरे। उनले भने,”हामी बहुभाषिक बहु साँस्कृतिक समाज हौ। यस्ता सांस्कृतिक परम्पराहरुको ठुलो अर्थ रहेको छ।देशभित्र वा बाहिर जहाँ सुकै भएपनि कहिल्यै भुल्न हुँदैन।”

नेपाली भाषालाई महत्व दिदै बालबालिकाहरु प्रति लक्षित कार्यक्रम फरक रहेको भन्दै राजदूत धितालले प्रंशसा गरेका हुन्।  सो अबसरमा प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार समेत प्रदान गरियो।नेपालबाट देखि आएका कलाकारहरु गायिका सरीता कार्की र गायक मेकसाम खातीले लोक दोहोरी गीत प्रस्तुत गर्दै  मनोरञ्जन प्रदान गरे।सोहि अबसरमा बासेल निबासी जीवन भट्टराई र गायिका कार्कीको दोहोरी घम्साघम्सी समेत चल्यो। स्थानीय कलाकारहरुको गायन र नृत्य प्रस्तुति समेत बेजोड थियो। संगीत तथा गीतकार सुनील शाक्य र रचनाकार अर्जुन रत्न “भिखारी” कार्यक्रममा बिषेश पाहुनाका रुपमा उपस्थित भए।बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य नेपाली समाज बेर्नका अध्यक्ष बिष्णु प्रसाद थापाले गरे भने गैर-आवासीय नेपाली संघका अध्यक्ष भूमीराज गरुङले शुभ-कामना व्यक्त गरे। कार्यक्रमको संचालन कृष्ण प्रसाद शिवाकोटीले गरेका थिए।