चलचित्रको गीत सार्वजनिक गर्न ‘फ्लास मब’ शैलीको प्रयोग


राजाराम पौडेल, पोखरा- पोखराको चिप्लेढुङ्गामा मानिसहरुको चहलपहल हुदै गर्दा एक्कासि संगीतको धुन गुञ्जियो । अनि सबैको ध्यान संगीतको धुन बजेतर्फ मोडियो । केहि छिनमा त्यहाँ ठुलो भिँड भयो । संगीतको तालमा ३० जना कलाकार नृत्य गर्दै थिए । खुल्ला सडकमा गरिएको देखिएको यो दृश्यले यात्रु तथा वरपरका व्यक्तिको ध्यान खिचिनै रह्यो । कार्यक्रम थियो चलचित्र बुलबुल युनिटको ‘खुद्राखाद्री’ बोलको गीतको सार्वजनिक । विदेशमा प्रयोग गरिने ‘फ्लास मब’ शैली अपनाएर युनिटले पहिलोपटक पोखरा सहित देशका विभिन्न पाँच ठाँउहरुमा ‘खुद्राखाद्री’ बोलको गीतलाई सार्वजनिक गरिएको हो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा आयोजना गरिएको कार्यक्रममा एस.के.डान्स स्कुलका ३० जना कलाकारहरुले नृत्य प्रस्तुत गर्दै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरे । एउटै गीतमा तीनपटकसम्म उनीहरुले नृत्य गरेको हेर्दा दर्शकको समेत मन मानेन । दर्शकले समेत नाच्दै उनीहरुलाई साथ दिए ।


गीत सार्वजनिक पश्चात पोखरेली माग्ने बुढा युवराज भण्डारी र पोखरेली धुर्मुस राजेन्द्र नेपालीले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई हँसाए । उनीहरुले विभिन्न प्रसंग जोड्दै चलचित्र बुलबुल हेर्न दर्शकलाई आग्रह गर्दै आफ्नो प्रस्तुती राखेका थिए । भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित छाँयाकन गरिएको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।


चलचित्रका निर्माता अविरल थापाले गीत छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावी उनको छ । उनले प्रेमील भावका रचिएको गीत सबैको मुखमुखमा झुण्डिने र बजारमा आफनो चलचित्रको गीतले तरंग ल्याउने अपेक्षा उनको छ ।

टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गरेको चलचित्र बुलबुलको गीत ‘फ्लास मुब’ शैलिमा पोखरा सँगसँगै काठमाडौको काठमाडौं मल अगाडि, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा भएको हो । काठमाण्डौको कार्यक्रममा भने नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले समेत नृत्य गरे ।


गीत विहिबारबाटै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक भैसकेको छ । स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का गीतमा हेर्न पाईन्छ ।

आगामी फागुन ३ गते अल नेपाल रिलिज हुने चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् ।

भिडियो लिंक
https://www.youtube.com/watch?v=nPbIR_Gt4pA&feature=share&fbclid=IwAR1D2pIbPvuJFRDm2GTZqpjSETmUAqUOOAHSc6Sf5wSvxE8hC8pRpIyTc4s