मृगौला पिडित नेपालीलाई सहयोग गर्न एकदिने अभियान


पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ पार्वती टोल निवासी दुवै मृगौला विग्रीएर उपचारको पर्खाइमा रहेका डिलबहादुर सार्की (नेपाली)को उपचारको लागि एकदिने सहयोग संकलन अभियान गरिने भएको छ।

राष्ट्रिय भूमि अधिकार सञ्च कास्कीको आयोजनामा मंसिर ४ गते हुने उक्त अभियानबाट संकलन भएको सम्पुर्ण रकम पिडित डिलबहादुरको घरमै लगेर हस्तान्तरण गरिने मञ्चका अध्यक्ष प्रेम बहादुर गुरुङले वताए ।

विगत ४० वर्ष देखि पोखरा ९ मा वस्तै आएका डिलबहादुर नेपालीको उपचारमा सहयोगको लागि पार्वती टोल विकास संस्थाका अध्यक्ष आशबहादुर विक र सचिव विकाश आनन्दले संस्थाको तर्फबाट आधिकारिक अपिल गर्दै नेपालीको पारिवारिक स्थिति अत्यन्तै दयनिय रहेकोले संघ, संस्था, संगठन, टोलवासी तथा सहयोगी मनहरुलाई सहयोगको लागि आग्रह गरेका छन् ।

२०७५ साउनमा मृगौलामा समस्या देखिए यता उनले पद्म नर्सिङ होम, दिया मेडिकल पछि फिष्टेल हस्पिटलमा उपचार गराई राखिएको परिवारले वताए । हप्तामा २ पटक डायलासिस गर्नु पर्ने र एक पटक डायलासिस गर्दा ८ हजार लाग्ने तथा वेड चार्ज महङ्गो पर्ने भएकोले घरबाटै डायलासिस गर्दै आएको वताए ।

सरकारी हस्पिटल भनेर पश्चिमाञ्चल क्षेत्रीय हस्पिटलमा नाम दर्ता गरेको भएता पनि डायलासिस गर्ने पालो नै नआएको उनले वताए ।

आफ्नै खर्चमा उपचार गर्दै आएका नेपालीलाई हालसम्म पोखरा ९ स्थित पार्वती आमा समुहले आठ हजार रुपैया र पार्वती टोल विकास संस्थाले सात हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।

उनको एक श्रीमती, ३ छोरी र २ छोरा रहेका छन् । उनलाई आर्थिक सहयोग गर्न इच्छुकले डिलबहादुर सार्की को नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोक शाखाको खाता नं. ३०२००२३६१०१० मा जम्मा गरिदिन श्रीमती सुमित्रा सार्कीले वताईन।