चलचित्र ‘कपुरी क’ युरोपभर देखाइदै


बार्सिलोना। नेपाली चलचित्र ‘कपुरी क’ को युरोप प्रदर्शनको तयारी थालिएको छ। गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको युरोपभर देखाईने भएको हो। देश तथा विदेशमा एकैसाथ प्रदर्शन गरिने चलचित्रको केहि दिन अघि पोखरामा च्यारिटी शो समेत सम्पन्न भएको छ।

थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवी बनाएका कलाकार तथा निर्देशक सबिन बास्तोला ‘गिरधारी’ ले  चलचित्रको निर्देशन गरेका छन्। भने स्पेन निबासी कलाकार प्रकाश तिवारीले यसै चलचित्र मार्फत डेब्यु गरेका छन्। मिडियाकर्मी समेत रहेका कलाकार तिवारीले यसअघि विभिन्न टेलीचलचित्रमा अभिनय, सह निर्देशन तथा लेखन गर्दै आएका थिए।चलचित्रका मुख्य पात्र समेत रहेका कलाकार तिवारी भन्छन्,”देशभित्र र बाहिर एकै साथ चलचित्र प्रदर्शनको मिति तय हुँदैछ। विदेशको सुरुवात भने स्पेनबाट नै गर्दैछौ। केहि दिनभित्रमा नै मिति तय गर्दै स्पेनबासी नेपाली समुदाय माँझ चलचित्र ल्याउने छौ।” स्पेनका बिभिन्न शहरहरु हुँदै युरोपभर चलचित्र प्रदर्शन गरिने योजना रहेको तिवारीले बताए।

देश तथा बिदेशका बिभिन्न शहरमा सम्पन्न च्यारिटी शो मार्फतको केहि रकम सामाजिक कामका लागि खर्चने निर्माण टोलीले जनाएको छ।

प्राय सन्देश मुलक चलचित्रहरु निर्देशन गर्दै आएका निर्देशक बास्तोलाले निर्देशन गरेको पछिल्लो चलचित्र ‘कपुरी क’ लाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि उनले जातीय छुवाछुत सम्बन्धि कथालाई समेटेर सुनपानी बनाएका थिए। जुन चलचित्रलाई बिकाश बोर्डबाट बार्षिक रुपमा दिईने बिशेष अवार्डबाट सम्मान गरिएको थियो।

चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्त कुमार थापा मगरको कोरियोग्राफी रहेको छ, भने विभिन्न नयाँ तथा पुराना कलाकारहरुको अभिनय रहेको छ ।