तमु प्ये ल्हु संघले पोखरामा तमु महोत्सव गर्ने


पोखरा । पुसको दोश्रो हप्ता पोखरामा गुरुङ (तमु) महोत्सव हुने भएको छ । देश भरीका तमुहरु उपस्थित हुने उक्त मेला पाँच दिनसम्म चल्ने छ ।

सामाजिक, साँस्कृतिक, आर्थिक, पर्यटकिय विकासको प्रवद्र्धन गर्ने, सबै जातजाति र धर्म संस्कृतिप्रति सद्भावपूर्ण वातावरण सृजना गर्न र सहिष्णुता कायम राख्न महोत्सवले भूमिका खेल्ने आयोजकले वताए ।

साथै तमु ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउन, तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति (प्ये ताँ ल्हु ताँ) को संरक्षण, संबद्र्धन तथा प्रवद्र्धन गर्दैे व्यापक प्रचार प्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

वि. सं. २०७० सालको कात्तिक महिनामा संस्थाको स्थापना दिवसको अवसर पारेर “थेवा त्हें (महायज्ञ)”ं सम्पन्न ग¥यो । पश्चिम तथा दक्षिण दिशा भइ बग्ने सेती नदीले दक्षिणी भेगमा क्षति पु¥याएको अवस्थामा यस क्षेत्रनै धरापमा थियो ।

संघको पहलमा नेपाल सरकारबाट बार्षिक योजनामा पार्न सफल भई सेती नदिमा तटबन्ध निमार्ण कार्य भइरहेको, यसको कारण रामघाट वरपरका विभिन्न धार्मिक संस्थाहरु र रानीपौवा क्षेत्र सुरक्षित हुन पुगेको संघको दावी छ ।

तमु जातिको इतिहास, संस्कार, संस्कृति, परम्परा, भेषभुषा, रहन सहन झल्किने र यो जातिको थप अध्ययन अनुसन्धान गर्न टेवा पुगोस् भन्ने उद्देश्यले “तमु संग्राहलय” स्थापना गर्ने योजना संस्थाले कार्यन्वयनको लागि पहल गरिरहेको पनि छ ।

समूहमा रमाउने, समूहमै चाड पर्व मनाउने विशेषता रहेको यो जाति यस पटकको “बृहत तमु फो ल्होसार महोत्सव २०७५” मा देशव्यापी रुपमा नै एकै थलोमा बृहत रुपमा रमाउने एउटा माहोल सृजना गर्न तमु प्ये ल्हु संघले तमुको महान चाड ल्होसार मनाउने र यो जातिको मौलिक संस्कार संस्कृतिलाई व्यापक प्रचार प्रसार गर्ने जमर्कोका साथ यो साहसी कदम चाली यो कार्यक्रम आयोजना गरेको हो ।

वि.सं. २०४७ कात्तिक ३ गते विधिवत रुपमा स्थापना भएको तमु प्ये ल्हु संघले तमु जातिको मौलिक धर्म, शास्त्र, संस्कार, संस्कृति तथा तमु खेगी (पच्यु, क्ल्हेब्री, बोन्पो लम, पैंडी) को संरक्षण, संवद्र्धन, प्रवद्र्धन र उत्थान गर्दै आइ रहेको र हालसम्म तमु प्ये संघ केन्द्रिय महिला समिति, केन्द्रिय युवा समिति, केन्द्रिय पच्यु समिति, केन्द्रिय क्ल्हेप्री समिति, केन्द्रिय पैंडी समिति र केन्द्रिय बोन्पो लम समिति सहितको भातृ संगठन लगायत पूर्वमा ताप्लेजुङदेखि पश्चिममा रोल्पासम्म नेपालको १८ जिल्लाहरुमा जिल्ला शाखाहरु र ९ वटा विदेश विभागमा संगठन विस्तार गरिसकेको पनि जानकारी गराइएको थियो ।

पाँच दिनसम्मको महोत्सवको अनुमानित खर्च ७० लाख रुपैया रहेको जानकारी दिएका छन् ।

पुस १२ गते देखि १६ गतेसम्म पाँच दिन संचालन हुने सो महोत्सवमा १२ गते झाँकी सहितको ¥याली विहान ११ बजे, मानव अधिकार चोक, चिप्लेढुंगाबाट निस्केर अमरसिह चौंरको खुल्ला मैदानमा कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले वताए।

अन्य दिनहरुमा प्रवचन, खेलकुद तथा राष्ट्रिय कलाकारहरुबाट मनोरञ्जनात्मक कार्यक्रम, कविता÷मुक्तक वाचन, दोहोरी गीत प्रस्तुत, डकुमेन्ट्री शो एवम् फोटो प्रदर्शनी, रक्तदान, युवाहरुद्धारा नृत्य प्रदर्शन (साँझ ५ बजेदेखि राती १२ बजेसम्म), बोन फायर (राती १२ बजे), छ्योप, थासो, रिली पूजा, रुपा लगाउने, पित्रिको नाममा बत्ति बाल्ने र अन्तिम दिन १६ गते सम्मान पत्र वितरण गरिने आयोजकले वताए ।
तमुहरुको प्येमा उल्लेख गरिएका स्थानहरुको अध्ययन, अनुसन्धान, भ्रमण बाँकी रहेको वताउँदै सन् २००० मा तमु प्ये ल्हु संघको पहलमा क्याम्ब्रिज युनिभर्सिटी यू.के. र नेपाल पुरातात्विक विभाग तथा नेपाल टेलिभिजनको संयुक्त सहकार्यमा पहिलो पटक ऐतिहासिक स्थल क्होला सोंथरको उत्खनन् शुरु गरेको थियो ।