पानी मुनिको देश नेदरल्याण्डको यात्रा अनुभूति !


बार्सिलोना । उत्तर पश्चिम युरोपमा रहेको एउटा देश नेदरल्याण्ड । नेपालभन्दा झन्डै साढे तीन गुना सानो मुलुक बाह्रवटा प्रदेशहरुमा विभाजित । पूर्वमा जर्मनी, दक्षिणमा बेल्जियम र उत्तरपश्चिममा उत्तरी सागरसँग सीमाना जोडिएको यही मुलुकको राजधानी एम्स्टर्डमको यात्रामा पुग्ने अबसर मिल्यो। झन्डै ६ बर्ष अघि बेल्जियम बोर्डरसँग जोडिएको नेदरल्याण्डकै अर्को पुरानो शहर माष्त्रिक पुग्ने अबसर मिलेको भए पनि राजधानी एम्स्टर्डम पुगेको मेरा लागि पहिलो पटक हो ।

१२ औं शताब्दीमा स्थापित एउटा नगर एम्स्टर्डम नेदरल्याण्डको राजधानी हो । एम्स्टल नदीको नामबाट एम्सटर्डम नाम रहन पुगेको इतिहासमा पढ्न पाइन्छ । नेदरल्याण्ड सानो मुलुक भएता पनि जनघनत्वको हिसावले भने बढी जनसंख्या भएको देश हो । यहाँ झन्डै एक करोड ७० लाखको हाराहारीको जनसंख्या छ ।पहिले–पहिले स्कुलमा हाजिरीजवाफ हुँदा हामीले सुन्ने गरेको प्रश्न थियो– पानीमुनिको देश भनेर कुन देशलाई चिनिन्छ ? उत्तर थियो नेदरल्याण्ड । यो मुलुकका केही भूभागहरु समुन्द्री सतहभन्दा पनि कम उचाइमा रहेकाले यसो भनिएको हो ।

यो हाम्रा लागि सामान्य ज्ञानको लागि प्रश्न थियो । तर, डचहरुका लागि ठूलो चुनौति । त्यसैले त नेदरल्याण्डले साना–ठूला गरी हालसम्म झन्डै ३० पटकसम्म बाढीहरुको सामना गर्‍यो । लाखौं मानिसहरुले बाढी र आधिकै कारण ज्यान गुमाए ।

सन् १५३० नोभेम्बर ५ तारिख शनिबार । जुन दिनलाई आज पनि ईविल डेका रुपमा लिइन्छ । सेन्ट फेलिक्सको बाढीले फ्ल्यान्डर्स र जिल्यान्डका भागहरू बढारेको मात्र हैन, उक्त बाढीले एक लाख बढी मानिसहरुको ज्यान लियो ।

त्यसैले यहाँको प्राकृतिक परिदृश्यलाई हेर्दा, डच सरकारले सधैँ समाधान खोज्ने रणनीति ल्यायो । यो सधैँ नेदरल्याण्डका लागि एक महत्त्वपूर्ण मुद्दा पनि रह्यो । यहाँको लगभग दुई तिहाई भागलाई बाढीले चुनौति दिइरहेको छ । तर, पनि जल निकासी नहरहरू, र पम्पिङ स्टेशनहरूको जटिल प्रणालीले पानीको नियन्त्रण गरेका छन् । आधुनिक समयमा, बाढीको प्रविधि, टेक्निकल विकासकै कारण समुद्रको प्रभावलाई कम पारेको छ । बाढीलाई रोक्न मद्दत पुर्‍याएको छ । विशेष नहर प्रणाली, क्यानल तथा बाँधहरु निर्माण गरेर डच सरकार आफ्ना नागरिकहरुलाई सुरक्षित राख्न सफल बनेको छ । उत्तरी नेदरल्याण्डको समुन्द्री बाँध अफस्लौटदाइक र डेल्टा वोक्र्स आधुनिक आश्चर्यका रुपमा दर्ज भएका मानवीय कार्यहरु हुन् । तिनै उत्कृष्ट निर्माणहरूले आज पनि विश्वमाँझ नेदरल्यान्ड्सको अस्तित्व कायमै छ ।

डच सरकारले समुन्द्रमाथि कसरी बाँधहरु बनाएको रहेछ त ? आफ्नै आँखाले देख्ने रहर । झन्डै १५ बर्ष देखि नै नेदरल्यान्ड्समा बस्दै आएका छन् गोरखाका फणिन्द्र पन्त । त्यहाँकै, ब्लड बैंकमा कार्यरत उनी एनआरएन अभियानमा पनि सक्रिय छन् । केही बर्षदेखि उनीसँगको निकटताले पनि मेरो समुन्द्री बाँध देख्ने रहर पूरा गर्न निकै सहज बन्यो।

अक्टोवर पहिलो सातातिर एम्स्टर्डम पुग्दा मौसम त्यति चिसो थिएन । भर्खर जाडो सुरु हुँदै थियो । राजधानी एम्स्टर्डमलाई सुरक्षित गरेको उत्तरी नेदरल्याण्डको समुन्द्री प्रमुख बाँध अफस्लौटदाईकतर्फ हाम्रो यात्रा थियो । मौसम घमाइलो भएकाले पनि वरपरका दृश्यहरु झनै घमाइला थिए । लामो समयदेखि नेदरल्यान्डमा बस्दै आएका पन्तसँग त्यहाँका नेपालीहरुको अवस्थाका बारेमा पनि लामै कुराकानी भयो । त्यसलाई पनि यहाँ जोड्ने नै छु ।

अफस्लौटदाइक नामको समुन्द्री बाँध,तस्बिर:- गुगल

समुन्द्रमा नै निर्माण गरिएको ३२ किलोमिटर लामो अफस्लौटदाइक नामको बाँधमा पुग्दा नौलो मात्र हैन, अचम्म लाग्यो । समुन्द्रमाथि ९० मिटर चौडा बाँध समुन्द्रको बीचबाट देशको एक भागबाट अर्को भागसम्म जोडिएको छ । यो कसरी सम्भव भयो होला ? त्यहाँ पुग्ने प्रत्येकको मनमा उठ्ने यो सामान्य प्रश्न हो ।

सन् १९२७ मा सुरु गरेर १९३२ मा निर्माण सम्पन्न बाँध उत्तरी नेदरल्याण्डको डेन ओवरबाट सुरु भएर फ्रिसल्याण्ड प्रान्तको ज्यूरिखको गाँउसम्म जोडिएको छ । यो देखेपछि लाग्यो, साँच्चिकै डचहरुले आफ्नै खुबीले आफ्नो देश जोगाएर राखेका रहेछन् । अझ आश्चर्यचकित त के छन् भने, उत्तरी सागरको एकापट्टी नुनिलो पानि र राजधानी एम्स्टर्डम तर्फको पानीको स्वाद अर्कै । अञ्जुली भरी पानि लिएर पिएँ । हो साँच्ची समुन्द्रको पानी त नुनिलो हुनुपर्ने । तर, त्यस्तो थिएन । सो क्षेत्रमा माछा पालान गरिएको छ ।

बाँधमाथि गाडीको गति बढ्दै गर्दा हामीले कुराकानीलाई पनि जारी राखौं ।

फणिन्द्रजी, नेदरल्याण्डसलाई पानीमुनिको देश भनेर पढिन्थ्यो, किन त्यसो भनिएको हो ?

नेदरल्याण्डसका धेरै भूगागहरुलाई पानि माथि ड्याम बनाएर, बाहिरबाट ढुंगा माटो ल्याएर शहर निर्माण गरिएको छ । एम्स्टर्डम शहर समुन्द्र सतहभन्दा पनि ६ फिट तल छ । त्यसैले पनि हामीले सुन्ने गरेको राजधानी एम्स्टर्डम समुन्द्रभन्दा पनि तल छ यहाँ माछा माथि र मान्छे तल हुन्छन् भनिन्छ त्यो साँचो हो ।

अहिले तपाई समुन्द्रमाथिको ३२ किलोमिटर बाँधमाथि गाडी गुडाइरहनुभएको छ । यो बाँध निर्माणका बारेमा केही थाहा छ ?

पहिले चाहिँ एम्सटर्डम नजिकै एउटा मात्र सानो बाँध बाधिएको रहेछ । त्यो बाँध फुटेर ३ पटकसम्म शहरमा पानि पसेको इतिहास छ । धेरै जनधनको क्षति पनि भएको छ । त्यस्ता घटनाहरु रोक्नकै लागि नै उत्तरी सागरमा यस्ता ठूला–ठूला बाँधहरु निर्माण गरिएका हुन् । देशको मुख्य द्वार नै भनौं यसलाई । टाकुरालाई जोडेर यति लामो बाँध बाँधिएको छ । यस्ता बाँधहरु एम्सटर्डम पुग्दासम्म चारवटा छन् । समुन्द्रको पानीको बहावलाई कम गर्दै यसबाट शहरलाई सुरक्षित पारिएको छ । हाम्रो दायाँपट्टि उत्तरी सागर छ । बायाँ पट्टि पानीलाई घेरेर लेलिस्टाट भन्ने ठूलो शहर निर्माण गरिएको छ ।

आफंैमा यो पर्यटकीय गन्तव्य पनि रहेछ । यहाँ रहेको स्मारकसहितको शालिकका बारेमा पनि बताइदिनुहोस् न !

यो बाँधको महत्वपूर्ण स्थान हो । र पर्यटकीय गन्तब्य पनि । बाँधको इतिहासबारे पनि यहाँ अध्ययन गर्न पाइन्छ । अगाडि पट्टिको शालिक इञ्जिनियर क्रोनेलिस लेलीको हो । उनकै परिकल्पना र डिजाइनमा हजारांै मजदुरहरुले दैनिक काम गरेर ५ बर्ष लगाएर बाँध निर्माण सम्पन्न भएको हो । उनैको नाममा लेलिस्टाड शहर पनि बनाइएको छ ।

प्रकृतिको उपहार जस्तै हाम्रो देश अझै सम्पन्न बनेन, तर डचहरुले पानीमै देश बनाए है ?

हो, डचहरुले पनि हामीले आफ्नो पौरखले बनाएको देश भनेर गर्व गर्ने गर्छन् । हामी प्राकृतिक देश नेपालबाट आएर यहाँ हेर्दा, आहा नेपाललाई त प्रकृतिले बरदान दिएको रहेछ नि भन्ने महसुस हुन्छ । कस्तो सुन्दरता दिएको छ हाम्रो देशलाई ! तर अझै सम्पन्न बनाउन सकेका छैनौं ।

तर, यहाँ बिश्वलाई नै आश्चर्यचकित पार्दै पानीमा नै देश सृजना गरिएको छ । त्यसैले डचहरुले आफ्नो पौरख र गौरवको देश ठान्छन् । म बाँधमा जतिचोटि आउने गर्छु । रामायणको कथा सम्झन्छु । सीतालाई लिन लंका पुग्दा समुद्र पार गर्दै भगवान रामले जुन मेहनत गरे, हो नेदरल्याण्ड पनि त्यस्तै मेहनतले पानीलाई छेकेर बनाइएको देश हो । गन्तव्यमा पुग्न कसैले रोक्दैन । ईच्छाशक्ति भयो भने जे पनि सम्भव छ । डचहरुले त्यही प्रमाणित गरिदिएका छन् ।

यो देशका अन्य रोचक तथ्यहरु के छन् ?

प्राचीन कोलनी कालदेखि नै समुन्द्री खोज अनुसन्धानमा अग्रणी मानिने डचहरु वर्तमान आधुनिक प्रविधि, उद्योग र विकासमा पनि अग्रस्थानमा नै छन् । विश्वकै लामो बन्दरगाहा मध्येको रोटरड्याम सञ्चालन गरेको छ । माइक्रोस्कोप होस् वा टेलिस्कोप होस् वा संसारकै चर्चित कम्पनी फिलिप्स, जसले अडियो टेप, भिडियो टेप, सीडीसम्मको खोज गर्‍यो भने नाम नेदरल्यान्डकै आउने गर्छ । अझ सन् १८७३ देखिको हेनीक्यान बियरको उत्पादनले त संसारकै ध्यान तानेको छ ।

एक स्वतन्त्र र स्वच्छ शहर, जहाँ हरेकखालका मानवीय स्वतन्त्रतालाई कानुनी मान्यताले व्यवस्थित गरेको छ । व्यवस्थित रेड लाइट एरिया । रमाइलोभित्र मानवीय कमजोरी र पीडाहरु त पक्कै होलान् तर एक राज्यले गर्नुपर्ने अधिकतम प्रयास भएको देख्न सकिन्छ ।

अब हाम्रै कुरा गरौं न । नेदरल्याण्डमा कहिलेदेखि नेपालीहरु बस्न सुरु गरेका हुन् ?

नेपाली मूलका मानिसहरु समुन्द्रमुनिको यो भूभागमा आएर स्थायी बसोबास गर्न थालेको ५ दशकभन्दा पनि बढी भएको रेकर्ड छ । सन् १९६४ देखि नै स्थायी रुपमा बसोबास गर्दै आएका एक नेपाली हाल नेदरल्यान्ड्समा नै हुनुहुन्छ । ७० र ८० को दशकमा निकै न्यून संख्यामा भारतीय ब्यापारीहरुको साथमा काम गर्ने शिलशिलामा नेपाली बस्ती राजधानी आसपासमा सुरु भएको देखिन्छ । ९० को दशकको अन्त्यसम्म यो संख्या ३ सयको हाराहारीमा पुगेको र नेपालमा भएको द्वन्दकालको आसपासमा नेपालीको संख्या बढेर करिब २ हजार ५ सय को हाराहारीमा पुगेको अनुमान छ ।

झन्डै १५ बर्ष देखि नै नेदरल्यान्ड्समा बस्दै आएका छन् गोरखाका फणिन्द्र पन्त ।

यसमध्ये तथ्यांक विभागमा दर्ता भए अनुसार १ हजार ५ सय ९६ जना पहिलो पुस्ता र ३ सय ८१ दोश्रो पुस्ताका नेपालीहरु छन । बाँकी करिब ३ सयको संख्यामा नेपालीहरु बिना दर्ता, दर्ता प्रक्रिया चलिरहेका वा डच परिवारसँग हुर्केका अवस्थामा छन् । पछिल्ला बर्षहरुमा परिवार मिलन प्रक्रिया तथा नेपालबाट आफन्तहरु भेटघाटमा आउने हुनाले नेपाली बस्ती निकै बाक्लिँदै गएको छ, यो क्रम अबको १० बर्षमा, दोश्रो पुस्ताको बैबाहिक प्रक्रिया हुँदासम्म तीन गुणा बढ्ने सम्भावना छ ।

 

नेपालीहरुको पेशा तथा अध्ययन बारेमा के छ ?

पेशाको हिसाबले करिब ९० प्रतिशत नेपालीहरु विभिन्न रेस्टुरेन्टहरुमा काम गर्ने तथा व्यवसाय गर्ने गर्छन् । पछिल्ला बर्षहरुमा नेपाली, इन्डियन, सुरिनामी, ग्रिल तथा सुसी रेष्टुरेन्टहरुमा नेपालीहरुको पारिवारिक वा सामुहिक लगानी सञ्चालन हुन थालेका छन् । नेदरल्यान्डसका विभिन्न शहरहरुमा नेपालीहरुको सञ्चालनमा विभिन्न मिनी सुपर मार्केटहरु, कपडा पसल तथा सोभिनियर पसलहरु सुरु भएका छन् । हाल नेपाली व्यवसायीहरुले ३० वटाभन्दा रेस्टुरेन्ट खोलिसकेका छन् ।

विगत केही बर्षदेखि नै केही नेपाली पर्यटन क्षेत्रमा पनि संलग्न छन् । यो छोटो समयमा भएको व्यवसायिक प्रगति हेर्ने हो भने आउँदा दिनमा नेपालको प्रर्यटन प्रवद्र्धनमा टेवा पुग्ने संकेत देखिएको छ । व्यवसायिक परिवारले नेदरल्यान्डसको पूरा नेपालीमा ५० प्रतिशत हिस्सा लिइसकेको छ भने बाँकी ५० प्रतिशत नेपालीहरु विद्यार्थी भिसामा, अन्य भिसामा, प्राविधिक पेसामा तथा केही सरकारी तथा गैरसरकारी कम्पनीहरुमा कार्यरत छन् ।

नेपालबाट अध्ययन गर्न आएका विद्यार्थीहरु खासगरी बिजनेस कलेजहरु पढ्न आउने गरेका छन् र केही विद्यार्थी प्रत्येक बर्षजसो नेदरल्यान्ड्स सरकार तथा युरोपियन युनियनको ग्रान्टअन्तर्गत उच्च प्राविधिक शिक्षा तथा जलश्रोत विषय अध्ययन गर्न आउने गरेका छन् । नेदरल्यान्ड्समै हुर्किरहेको दोस्रो पुस्ता भने साविकमै पठनपाठन, खेलकुद, कला तथा बहुआयमिक देखिन्छन् ।

के छ यहाँ नेपालीहरुको समस्या ?

जुनसुकै पेसाका वा व्यवसायका नेपालीहरुमा पनि साझा समस्या भनेको नेदरल्यान्ड्सको डच भाषा नै हो । तुलनात्मकरुपमा मुस्किल मानिने यो भाषा, सम्पूर्ण सरकारी कामकाज तथा बोली व्यवहारमा अत्यन्तै जरूरी बन्दछ । पहिलो पुस्तामा भाषाकै कारणले पछाडि परेको र आफ्नो स्तर अनुसारको काम नपाएकोमा चिन्ता गरेको प्रशस्तै भेटिन्छ ।

 

नेपालबाट निजी खर्चमा पढ्न आएका विद्यार्थीहरुले कानुनीरुपमा काम गर्न, काम दिने कम्पनीमार्फत सुरुमा सरकारी अनुमति माग्नुपर्ने झञ्झट रहेको छ । यस्तै हप्ताको जम्मा १० घण्टा मात्र काम गर्न अनुमति पाइने हुनाले पढाइ, बसाई, बीमा आदि खर्च पनि काम गरेर जम्मामा गर्न मुस्किल देखिन्छ ।

नेपालबाट आर्थिक सहयोग नलिई, आफ्नै कमाइले पढ्न खोज्दा, बीचमै पढाइछोड्नु पर्ने बाध्यता छ । वा विकल्पको रुपमा विवाह गर्ने, शरण माग्ने वा कार्ड बनाउँन सजिलो ठानिएका मुलूकहरु पोर्चुगल वा स्पेनतिर बसाइँ सर्नुपर्ने बाध्यता देखिएको छ ।

औपैर भिसामा आउँदा आएको परिवार अपेक्षाकृत नहुन सक्ने स्थिति हुन्छ । भिसा बदल्नका लागि खर्चिलो भए पनि विवाह वा विद्यार्थीका रुपमा कलेज भर्ना हुन भने सकिन्छ । यसका लागि कम्तिमा नेपालमा सम्बन्धित बिषयमा प्लस टु पास हुन जरूरी छ । अन्य विभिन्न बाहाना बनाई नेदरल्यान्डस आएर यहाँ बस्न शरण लिँदा वास्तविक पीडित बाहेक अन्यलाई (नक्कली वा बाहानाबाजी) मुस्किल हुने देखिन्छ । शरण नै लिन आएको हो भने अत्यन्तै विश्वासिलो आधार चाहिन्छ ।

नेदरल्यान्ड्स लगायत युरोपमा बढ्दो नेपालीहरुको संख्या देशलाई चुनौती र मौका दुबै हो । नेपाल छोड्ने क्रम बढ्नु, भ्रमपूर्ण आकर्षणमा पारेर दशांै लाख खर्च गरेर यता छिर्नु आफैंमा चुनौतीपूर्ण छ । अर्कोतर्फ आफ्नो क्षमताभन्दा तल्लो स्तरको काम गर्नुपर्ने, सुरुका दिनहरुमा पुरै अनिश्चित हुनुपर्ने, फरक भौगोलिक र मौसमका कारण पनि डिप्रेसनको शिकार हुनुबाट बच्नु नेपालीका लागि अर्को ठूलो चुनौती देखिन्छ ।

तर नेपालमै कुक,प्राबिधिक (आइटी), डिजाइन, पर्यटन, पर्सनल केयेर ( ब्युटी ) आदि सिप भएकाहरुको लागि तथा व्यापार गर्नेहरुको लागि बैधानिक रुपमा रहने आधार सहित आएमा, सही गन्तब्य हुन सक्छ। तर यति भनीरहँदा पनि भाषा भने आफ्नै ठाउँमा कठिनाई नै छ । यो अनुसाशित सामाजिक व्यवस्था भएको मुलुक भएकाले, छोटो समयमा नै धनि बन्ने चाहना गर्नेलाई उपयुक्त देखिँदैन । नेदरल्यान्ड्स व्यक्तिगत स्वतन्त्रता तथा सामाजिक सुरक्षा ब्यबस्थित भएको मुलुक पनि हो ।

तपाई संसारमै सबैभन्दा बढी साइकल चढिने देशमा हुनुहुन्छ ? किन यहाँ बढी साइकलको प्रयोग गरिन्छ ?

 

हो, यहाँजता पनि साइकल नै साइकल देखिन्छन् । डचहरु साइकल चढ्नमा गर्व पनि गर्छन् । यिनीहरु आफू स्वस्थ र स्फूर्त रहन पनि साइकलको प्रयोग गर्छन् । अर्कोतर्फ बचत गर्ने सोचाइ पनि छ । सरकारले बाटोहरुमा प्रशस्तै साइकल लेनहरु बनाइदिएको छ, जसले गर्दा गन्तव्यमा छिटो पुग्नका साथै यात्रा सहज पनि हुन्छ ।ट्राफिक नियममा पनि अन्य सवारी साधनहरुभन्दा साइकललाई नै बढी प्राथमिकतामा राखिएको छ । जसले साइकल चढ्न प्रोत्साहन गरेको छ । निशुल्क पार्किङ्, खरिदका लागि सुबिधा, तेलको बचत लगायत विविध कारणले गर्दा पनि निकै बचत हुन्छ ।

अर्कोतर्फ, यहाँका उच्चपदस्थ अधिकारीहरु समेत आफै साइकल चढेर कार्यालयमा पुग्छन् । जसले सर्वसाधारणलाई साइकल चढ्न प्रोत्साहन मिलेको छ । तर, हाम्रो समाजमा साइकल चढ्नेलाई गरिव सोच्छांै । गाडी चढ्नेहरु धनी, ठूलाबडा हुन् भन्ने संकुचित सोच छ । देखावटी र तडकभडक ठूलो छ । यहाँ प्रायःको घरमा साइकल र गाडी दुबै हुन्छन् । आफ्नो आवश्यकताअनुसार प्रयोग गर्छन् । यात्रामा सहज, सरल र शरीरलाई पनि स्वस्थ राख्ने हुँदा उनीहरुको पहिलो रोजाई भने साइकल नै हुन्छ । एउटा साइकलयात्री मिलिनियर पनि हुन सक्छ । साईकलसँग कसैको हैसियतको तुलना हुँदैन ।

तपाईको प्रतिक्रिया