एनआरएनए स्विट्जरल्याण्डको वार्षिक साधारणसभा सम्पन्न


जुरिच। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आईतबार राजधानी बेर्नमा संघका केन्द्रिय नेताहरुको उपस्थितिमा साधरणसभा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितातले एनआरएन अभियान एउटा छाता संगठनको रुपमा चिनिएकोमा प्रंशसा गरे। उनले भने,” विदेशमा यति अप्ठारो परिस्थिति छ,यस्ता चुनौतीका माँझ पनि संघले आंफुलाई स्थापित गर्न सकेकोमा बधाई दिन चाहन्छु। तर संघलाई अझै सुदृढ र संगठित बनाएर लग्नुहोस्।”

गैर आबासीय नेपाली संघले नेपाली पहिचानलाई महत्वको साथ अगाडी बढाएकोमा राजदूत धितालले प्रशंसा गरे। जुन मुलुकमा बसे पनि त्यहाँबाट प्राप्त हुने अबसरलाई मौकाको रुपमा लिनु उनले जोड दिए। राजदूत धितालले भने,” नेपालमा  यहाँ सिकेको ज्ञान र प्रबिधिलाई भित्राउनु अहिलेको चासोको बिषय हो। नेपालीहरुले धेरै ज्ञान र प्रबिधि बुझिसकेका छन् तिनीहरुलाई संगठित गर्दै संघ मार्फत अब मुलुकका लागि पनि केहि गर्नु पर्ने बेला आएको हो भन्ने लाग्छ।”

यसैबिच संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले नेपालमा हालै सम्पन्न भएको बिज्ञ सम्मेलनको बारेमा जानकारी दिए। बिभिन्न बिषयमा शिप र दक्षता हाशिल गरेका नेपाली डायस्पोराका विशेषज्ञलाई सम्मेलन मार्फत एकै ठाउँमा ल्याउन सफल भएको दावी उपाध्यक्ष पन्तले गरे। उनले एनआरएन भवन,शंकमूल पार्कको निर्माण सम्पन्न तथा लाप्रक नमुना बस्तीको पछिल्लो अबस्था बारे पनि स्विसबासि नेपाली समुदायलाई जानकारी गराए। युरोप संयोजक शिव कुमार बरुवालले युरोप क्षेत्रमा रहेका गैर आबासीय नेपालीहरुको गतिबिधिहरुले संघलाई झन् बलियो बनाएको भन्दै राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको प्रंशसा गरे।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष भूमिराज गुरुङले संघको बार्षिक प्रगतीबिबरण सहित संघको आगामी कार्ययोजना प्रस्तुत गरेका थिए। महिला फोरम संयोजक शुभ एल्भर लामाले स्विट्जरल्याण्डका गतिबिधिहरु सहित केन्द्रमा महिला फोरमले गरेका कामहरुको बारेमा पनि प्रष्ट पारिन्।संघको बार्षिक आयव्यय प्रमोद भट्टले प्रस्तुत गरेका थिए।

कार्यक्रममा आईसीसी सदस्य राम महतो,जनसम्पर्क समितिका अध्यक्ष श्याम सापकोटा,प्रबासी नेपाली मञ्चका अध्यक्ष सञ्जय मुड्भरी,बेर्न समाजका अध्यक्ष बिष्णु थापा,ईनास स्विट्जरल्याण्डका अध्यक्ष धनसिंह ठकुरी लगायत संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।