गुस्तावले ऊ जमानामा आईफिल बनाए, तर हाम्रो धरहरा अझै उठेन ..


नेदरल्याण्डसको राजधानी एम्स्टर्डम । त्यो पानीमुनिको सहरबाट यात्रा सोझियो फ्रान्सतिर । पश्चिम युरोपमा अवस्थित फ्रान्स क्षेत्रफलको हिसावले युरोप महाद्वीपको सबभन्दा ठूलो मुलुक । फ्रान्स नेपालको धेरै पुराना मित्र मुलुक पनि हो । यी दुई मुलुकबीचको सम्बन्धको इतिहास सन् १७९० देखि नै सुरु भएको मानिन्छ ।

पृथ्वीनारायण शाहको समयमा केही फ्रान्सेली सैनिक कोलकाता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएका अभिलेखहरु भेटिन्छन् । सन् १८५० मा श्री ३ जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा फ्रान्स छुटाएनन् । त्यसपछि नेपाली सैनिक संगठनमा सुधार र काठमाडौंमा नेओक्लाशिकल शैलीका भवनहरु बन्न थाले, युरोपकै सिकोमा ।

सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा पनि नेपाल परिचित हुन पुग्यो । सन् १९५८, १९६० र १९६६ मा मा राजा महेन्द्रले फ्रान्स भ्रमण गरे । यी भ्रमणहरूकै फलस्वरूप १९६७ को अप्रिलमा काठमाडौंमा फ्रान्सको आवासीय राजदूतावास र जूनमा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना भयो ।

यो पनि पढ्नुहोस:पानी मुनिको देश नेदरल्याण्डको यात्रा अनुभूति !

त्यसपछि, १९८१ मा फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले नेपाल भ्रमण गरे भने सन् १९८१, १९८९ र १९९४ मा राजा वीरेन्द्र फ्रान्स आए । यसरी करिब २५० बर्ष पुरानो ऐतिहासिक सम्बन्ध र करिब ६ दशकको औपचारिक कूटनीतिक सम्बन्धले नेपाल–फ्रान्स दौत्य सम्बन्धलाई बिषेश बनाएको छ ।

सेनको शोभा

 

६ बर्षअघि पहिलोपटक पेरिस आउँदा मैले यो सहरलाई राम्ररी नियाल्न पाएको थिइनँ । यसपटक पहिलेको धोको पनि मेट्नु थियो । त्यसक्रममा सेन नदीले बढाएको पेरिसको शोभाले खुबै लोभ्यायो । नदीलाई सफा र सुन्दर राखे शहरको रुप नै फेरिँदो रहेछ ।

पेरिस बहुसांस्कृतिक शहर हो । यहाँ थुप्रै ऐतिहासिक भवन, प्रशिद्ध स्मारक र कला सग्रहालयहरू छन् । यी सम्पदा र सेन नदीले पेरिसलाई हाम्रो काठमाडौंसँग मिल्दोजुल्दो बनाएको छ । फरकचाँहि यता पेरिस व्यवस्थापन र उता काठमाडौं अब्यवस्थाको नमूना बनेको छ ।

पेरिस भन्नेबित्तिकै सबैको दिमागमा आइफिल टावर आउँछ । पेरिस र आईफिल पर्यायवाची बनेका छन् । सहरको जुनसुकै कुनाबाट हेर्दा पनि आईफिल टावर देखिन्छ । यो सब हेरिरहँदा नेपाली मनमा आफ्नो काठमाडौंको प्रमुख ल्याण्डमार्क धराहरा आउँछ नै, जुन साढे तीन वर्षदेखि मटियामेट अवस्थामा छ ।

गत अक्टोवर पहिलो साता आइफिल टावर पुग्दा, मैले भूकम्पले भत्काएको धरहराबारे सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा लेखेको पत्र सम्झिएँ । मैले लेखेको थिएँ–

सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो धरहरा भत्केको आज ३ बर्ष ५ महिना ५ दिन भयो, तर अझै उठ्न सकेन । तस्वीरमा देखिएको यो आइफिल टावर गुस्ताव आइफिलले आजभन्दा १२९ बर्ष पहिले निर्माण गरेका रहेछन् । ३२४ मीटर अग्लो यो टावर ३ सय मजदुरले २ बर्ष २ महिना ५ दिनमा बनाइसकेका रहेछन् । त्यो पनि ऊ जमानामा । त्यो कसरी सम्भव भयो होला, प्रधानमन्त्री ज्यू ?

हामी त अहिले २१ औ शताब्दीमा छौं । भूकम्पले ढालेको साढे ३ बर्ष बितिसक्दा पनि धरहरा उठेन । हाम्रो सपना छ, बर्षमा २० लाख पर्यटक भित्राउने । पेरिसको स्याम्प डी मार्समा रहेको यो आइफिल टावर चढ्न बर्षमा ७० लाखसम्म पर्यटकहरु आउँछन् .. हाम्रो नयाँ धरहरा कहिले उठाउने ? यसरी नै बिदेशीका पाइला कहिले टेकाउने ?

 

पेरिसमा आइफिल टावर बनाउँदा ठूलो विवाद पनि भएको रहेछ । मात्र २० बर्षको लागि भनेर बनाइएको टावर अझै ज्युँका त्युँ छ । टावरले बैज्ञानिक र प्राविधिक रुपमा आफ्नो उपयोगिता संसारमा पुष्टि गरिरहेको छ । निर्माणकालीन सम्झौता अनुसार त यो टावर सन् १९०९ मै भत्काउनु पथ्र्यो, तर अहिले पनि पेरिसको शान बनिरहेको छ ।

प्रधानमन्त्री ज्यू, तपाईलाई धरहरा पुनः निर्माण गर्न के ले रोक्यो ? गफै मात्र गरेर देश बन्दैन प्रधानमन्त्री ज्यू .. ।

फ्रान्समा नेपालीहरु

३८ बर्ष अघि फ्रान्स आएका हरिहर अर्यालको अनुभव हो यो–

‘गोरखामा सडक, बिजुली केही थिएन । गाउँमा टुकी बालेर पढियो, हुर्कियो । काठमाडौंमै आएर पहिलोपटक मोटर देख्न पाइयो । सन् १९८० को मार्चमा फ्रान्सको एयरपोर्ट देख्दा झनै अचम्म लाग्यो । चार लेनका सडक, सिसै सिसाका घर, सडकमा झिलिमिली बत्तीले दिन वा रात छुट्टाउनै गाह्रो । गोरखामा सम्पर्क गर्न आकाशवाणी (वायरलेस) थियो, यता बोल्ने अनि उता चुप लागेर खबर टिप्ने । फेरि उता बोल्ने यता चुप लागेर सुन्नु पर्थ्यो । सूचना आदान–प्रदान यसरी नै हुन्थो । यताबाट हामीले बोलेको कुरा नेपालमा अपरेटरले टिपेपछि सञ्चो बिसञ्चोको खबर बा–आमाकहाँ पुग्थ्यो ।’

फ्रान्समा बसोबास गर्ने पुराना नेपालीमध्येका एक उनीसँग मैले यहाँका नेपाली समुदायको अवस्था बुझेको थिएँ । फ्रान्समा सन् १९६० को दशकमा ४–५ जना नेपाली रहेको भन्ने सुनेको उनले बताए ।

अर्यालका अनुसार, १९८०/८१ ताका यो संख्या १५० हाराहारीमा पुग्यो । अहिले त यहाँ करिब ४ हजार नेपाली छन् ।

 

सन् १९६० को दशकदेखि नेपाल जाने पर्वतारोही र पर्यटकहरूले पनि फ्रान्समा नेपालीहरु भित्र्याए । कति फ्रेन्च नागरिकसँग वैवाहिक सम्बन्ध गाँसेर पनि आए । १९८० देखि त नेपाली विद्यार्थीहरू पनि फ्रान्स आउन थालेको अर्यालले सुनाए ।

सन् २००० देखि फ्रेन्च कल्चर सेन्टरले दिएको छात्रवृत्तिमा मास्टर्स र पीएचडी गर्नेहरू पनि भित्रिए । त्यस्तै आफ्नै खर्चमा पढ्न आउने, अन्य भिसामा आउने र बेलायत छाडेर आएका विद्यार्थीहरूले पनि फ्रान्समा नेपालीको संख्या बढायो ।

अर्यालका अनुसार, फ्रान्समा तेस्रो पुस्ताको नेपालीको जन्म भइसकेको छ । पहिलो पुस्ताका धेरै नेपालीले नेपाली नागरिकता कायम राखेका छन् । दोस्रो पुस्ताकाहरुले भने फ्रेन्च नागरिकता लिने गरेका छन् ।

८–१० बर्ष यता फ्रान्सको सेना (फ्रेन्च फरेन लिजनमा) नेपाली युवाको मुख्य आकर्षण बनेको छ । लिजनमा ५ बर्ष पूरा भएपछि स्थायी बसोबास वा फ्रेञ्च नागरिकता लिन सक्ने प्रावधान छ ।

धेरैजसो नेपालीले गर्ने काम चाही बालबच्चा, वृद्ववृद्वाको हेरचाह तथा रेष्टुराँ र घरायसी सरसफाई नै हो । सरकारी अड्डा वा संस्थानहरुमा काम गर्ने नेपाली ज्यादै न्युन छन् । कतिले आफ्नै कम्पनी चलाएका छन् । कतिले नेपाली हस्तकला, पोशाकको पसल, ब्युटी पार्लर, रेष्टुरेन्टहरु सञ्चालन गरेका छन् ।

चोरको बिगबिगी

आजभोलि युरोप घुम्ने नेपालीको संख्या बढ्दो छ । तिनमा पनि युरोपकै एक मुलुकबाट अर्कोमा पुग्ने नेपालीको संख्या बढी छ । यात्राको क्रममा चोरी र ठगीका घटना बढेका छन् । कतिको ब्याग वा झोला चोरी हुँदा राहदानीसमेत हराएर नेपाली राजदूताबासमा पुगेका खबरहरु सुनिन्छन् ।

मेट्रोमा एकजना नेपाली राजदूतकै वालेट चोरी भएर कुटनीतिक परिचयपत्र नै हराएको कुरा पनि सुनियो ।

युरोप भन्नेवित्तिकै हामी सुरक्षित ठान्छौं । तर, आप्रबासीको संख्यासँगै असुरक्षा पनि बढेको छ । युरोपका सबैजसो मुलुकमा मेट्रोको राम्रो सुविधा छ । मेट्रोमा मोबाइल, पर्स, वालेट वा झोला चोरी हुने खतरा हुन्छ । खचाखच मेट्रोमा टाँसिन आउने युवतीहरु खल्तीको पर्स वा मोवाइल उडाउनेवित्तिकै ओर्लिएर बेपत्ता हुन्छन् ।

 

युवकहरुले त हातबाट मोवाईल थुतेर भागेका घटना पनि छन् । बार्सिलोना (स्पेन)का मेट्रो स्टेशनहरुमा यस्ता घट्ना धेरै भएका छन् । मेट्रोहरुमा ठग्ने समूहहरु पनि सकृय छन् । लगेज लिएर मेट्रोमा छिर्नेवित्तिकै यो नौलो मान्छे हो भन्ने बुझेर उनीहरु ‘सहयोग गर्न’ आइपुग्छन् । उनीहरुले टिकट र मेट्रो जोनबारे यति राम्ररी जानकारी दिन थाल्छन् कि मेट्रो सर्भिसकै मान्छे हुन् भन्नै पर्छ ।

जानकारी पाएपछि जब तपाई टिकट काट्न तयार पर्नुहुन्छ, उनीहरुले ‘फ्रेन्स कार्ड छ ?’ भनेर सोध्छन् । हुँदै नहुने कार्ड तपाईले छैन भनिसक्दा नसक्दै उनीहरुले ‘मेरो कार्ड प्रयोग गरिदिन्छु, तपाई पैसा दिनुहोला’ भन्दै हुन्छ वा हुन्न भन्न नपाई टिकट प्रिन्ट गरेर हातमा थमाइहाल्छन् । तपाई पनि कृतज्ञ बन्दै खुरुक्क पैसा थमाइदिनुहुन्छ, ठगिएको पत्तै नपाई ।

त्यो टिकटले मेट्रो मेसिन मज्जाले खुल्छ, गन्तब्यमा पनि पुगिन्छ । तर, जब अर्को मेट्रोको मेसिनमा टिकट घुसाउनु हुन्छ, ढोका खुल्दैन । एक हप्ताको ट्राभल कार्डका लागि खर्च भने भइसकेको छ ।

पेरिसको आईफिल टावर वरपर पनि प्रहरीको आखाँ छल्दै ठगका झुण्डहरु सकृय हुन्छन् । उनीहरु प्रहरीको आखाँ छल्दै तीनवटा कपलाई यता–उता चलाउँदै, त्यसभित्र बल कहाँ छ भनेर सोधिरहेका, कसैले ठ्याक्कै मिलाएर पैसा जितेको नाटक पनि गरिरहेका हुन्छन् । तर, ‘ट्रिकी कप्स एण्ड बल’ भनिने त्यो खेलमा तपाईले गरेको अनुमान कहिल्यै मिल्दैन, पैसा मात्र जान्छ ।

सिक्नु पर्ने :-

फ्रान्सको राज्यक्रान्ति इतिहास बेग्लै र अभुतपूर्व छ,त्यतातिर नजाउ। यसैसँग जोडिएका घटना र ईतिहासलाई अहिले पनि बुझ्ने गरी खुल्ला किताव बनाएर राखिएको छ। जुन हामीले सिक्न जरूरी छ। हामी कहाँ गणतन्त्र आए पनि न त्यसको महत्व नै झल्काईएको छ। राजतन्त्र ढल्यो भनेर त्यसको पनि ईतिहास मेटाउने प्रयास मात्र हुन्छ।

गणतन्त्र ल्याउदा लाखौ जनताहरु सडकमा उत्रेको थिए,त्यस्तो परिचय देखाउने स्मारक सरकारले कहाँ बनाएको छ ? वा राजतन्त्रको ईतिहास बुझ्ने गरी त्यस्तो कुनै अभिलेख नै ! हामी कहाँ बन्द हड्ताल र बिरोधको नाममा पुराना भएका संरचना,शालिक समेत भत्काईएको छ। जसले ईतिहासको संरक्षण हैन मेटाउन मलजल गरेको छ।  

तर पेरिसलाई अवलोकन गर्दा लुई १६ औँ राजाको मृत्युदण्ड सम्मको राजतन्त्रको ईतिहास होस् वा गणतन्त्रको भव्य स्मारक नजिकबाट गज्जवले हेर्ने मात्र हैन अबलोकन समेत गर्न सकिन्छ। यस्ता ऐतिहासिक सम्पदाहरू संरक्षण गर्न सरकारले पनि कुनै कसर बाँकी राखेको छैन।

मेरो आफ्नो व्यक्तिगत अनुभवमा फ्रान्सेली नागरिक अतिनै सहयोगी र मायालु स्वभावका लाग्यो। जतिसुकै हतारमा हिडेका जस्ता देखिए पनि पर्यटकलाई गर्ने सहयोग साह्रै प्रंशसनिय छ । अलमलमा परे जस्तो देखेपछि आँफै बोलाई सहयोग गर्ने उनीहरुको बानी हामी सबैले सिक्न लायक छ।

तपाईको प्रतिक्रिया