कास्की समाज स्पेनद्वारा सूशी बनाउने तालिम सम्पन्न


बार्सिलोना।  कास्की समाज स्पेनले जापानिज खाना ( सूशी) बनाउने तालिम सम्पन्न गरेको छ। युरोपमा जापानीक खाना  सूशीको माग बढिरहेका बेला समाजले ११ दिने सूशी बनाउने तालिम सम्पन्न गरेको हो। हातमा सीप भए रोजगारीको अबसर मिल्ने भन्दै सिपमुलक तालिमको आयोजना गरिएको समाजले जनाएको छ।

तालिम पछि आँफूहरुमा आत्मबल बढेको भन्दै प्रशिक्षार्थीहरुले जापानिज खाना बारे ज्ञान हासिल गर्ने मौका दिएको भन्दै आयोजकप्रति कृतज्ञता ब्यक्त गरेका छन्। बुधबार बार्सिलोनामा समापन कार्यक्रम राख्दै, समाजले स्पेनिस भाषामा लेखिएको प्रमाणपत्र समेत बितरण गर्यो।प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए आईसीसी सदस्य मुक्त बहादुर गुरुङले समाजले गर्दै आएको सामाजिक कामको खुलेर प्रंशसा गरे। समाजका अध्यक्ष केदारनाथ ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

१३ जना प्रशिक्षार्थीहरु सहभागी तालिमको संयोजन समाजका सचिव शुरेश भण्डारीले गरेका थिए। हालै गैर आवासीय नेपाली संघ एनआरएनए स्पेनले पनि सूशी बनाउने तालिम सम्पन्न गरेको थियो। नेपालीहरुको संख्या दिनप्रतिदिन बढ़दै गएको बेला संघ संस्थाहरुले यस्ता तालिमहरु पटक-पटक आयोजना गरे पनि उपलब्धि मुलुक हुने देखिन्छन्।