एनआरएनए उपाध्यक्ष आचार्य चीनमा



गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले चीनको भ्रमण गरेर एनआरएन चीनको  नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिएका छन्।

गत डिसेम्बर ८ र ९ तारिखमा हङकङमा गैर आवासीय नेपाली संघ एशिया प्यास‌िफिकको छैठौं क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलनमा भाग लिन पुगेका आचार्य सम्मेलन पछि चीनको ग्वाङजाउ पुगेका थिए।

हङकङका सफल व्यवसायी तथा जगन्नाथ ज्ञवाली पनि आचार्यसंगै चीन गएका थिए।

ग्वाङजाउमा आयोजित एक कार्यक्रममा आचार्यले गैरआवासीय नेपाली संघ चीनको नवगठित तदर्थ समितिका अध्यक्ष सुदेश कुमार झा लगायत पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिए। उनले एनआरएनए आइसिसीको मापदण्ड अनुसार समयमै वार्षिक साधारण सभा गराउन सुझाव पनि दिए।

एनआरएनएको च्यारिटी टास्कफोर्सका संयोजक रहेका आचार्यले गैरआवासीय नेपाली संघ चीनका पदाधिकारी तथा सदस्यहरुलाई नेपालमा आआफ्नो ठाउँमा कल्याणकारी काम गर्न आग्रह गरे। उनले चीनमा बसोबास गर्ने सबैजसो नेपालीहरुले केही न केही व्यवसाय गरिरहेको थाहा पाउँदा आफु अत्यन्त खुसी भएको पनि बताए। 

सो अवसरमा तदर्थ समितिका अध्यक्ष झाले उपाध्यक्ष आचार्यलाई ग्वाङजाउमा स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्दै चीनमा विभिन्न पेशा र व्यवसायमा संलग्न सबै गैर आवासीय नेपालीहरुलाई समेटन आफुहरु लागीपरेको बताएका थिए।