“कपुरी क” स्पेनमा प्रदर्शन,दर्शकको मन जित्यो



बार्सिलोना। विदेशबाट गाउँ फर्किएको “नाति” अर्थात् नारायण तिवारी। आफना हराएका बाउ खोज्न गाउँ फर्किन्छन्। सानैमा आमालाई गुमाएर अनाथालय हुँदै बिदेशिएको परदेशीको कथाले चलचित्र हेर्ने धेरैको मन भाबुक बनाउछ। नाति अर्थात् नारायण तिवारी चलचित्रका मुख्य पात्र पनि हुन्। स्पेन निबासी कलाकार प्रकाश तिवारी चलचित्र “कपुरी क” मा सोहि पात्र नातिकै भूमिकामा देखिएका छन्।

आजभोली गाउँमा लोग्ने मान्छे देख्न नै मुश्किल। कोहि साउदी कोहि कतार। कोहि भने युरोप र अमेरिका तिरै पलायन छन्। विदेशको पैसा छोराछोरीहरु सबै बोर्डिङ् स्कुल पढ्न बजार झरिसके। गाउँकै प्राथमिक स्कुलमा “कपुरी क” पढ्ने बिद्यार्थी नै छैनन्। यस्तै नेपाली समाजको तितो यथार्थलाई चलचित्रको कथाबस्तु बनाईएको छ। चलचित्र सन्देशमुलक भए पनि कमेडीको साथमा मनोरञ्जनपूर्ण रहेको छ।

गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र नेपालमा प्रदर्शन पुर्ब नै स्पेनबाट प्रदर्शन गरिएको हो। थुप्रै चेतनामुलक टेली चलचित्रहरु निर्देशन गरेर आफ्नो छुट्टै छवी बनाएका कलाकार तथा निर्देशक सबिन बास्तोला ‘गिरधारी’ ले चलचित्रको निर्देशन गरेका छन्।

झन्डै एक दशक देखी स्पेनलाई कर्मथलो बनाएका कलाकार प्रकाश तिबारीद्वारा अभिनित चलचित्र ‘कपुरी क’ सोमबार बार्सिलोनामा प्रदर्शन गरियो। “बिदेशका तिता मिठा अनुभवहरु यही भोगे। पर्दामा मलाई देख्दा स्पेनबासीहरुले हौसला र प्रोत्साहन दिए। प्रबासबाट पनि कलाकारिता क्षेत्रमा अघि बढ्न प्रेरेणा मिलेको छ।” तिवारीले भने। यसै चलचित्र मार्फत डेब्यु गरेका उनले यसअघि विभिन्न टेलीचलचित्रमा अभिनय, सह निर्देशन तथा लेखन गर्दै आएका थिए।

चलचित्रमा चिनिएका स्टार कलाकारहरु छैनन् तर  राम्रो कथा बस्तुसँगै नयाँ कलाकारहरुको जोडदार अभिनय देख्न सकिन्छ। चलचित्रमा सिजल उप्रेती ,बसन्ती भाट ,चेतबहादुर सिंह “राजा”,सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल साथमा सबिन बास्तोलाको बिशेष भुमिका रहेको छ ।

चलचित्रमा समाबेश गरिएको “तिरिमिरी तिरिमिरी आँखै तिरिमिरी” बोलको गीत उत्कृष्ट बनेको छ। एकनारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा विमलराज क्षेत्री र मेलिना राईको स्वर रहेको छ। खेम थापा मगरको छायांकन र सन्त कुमार थापा मगरको कोरियोग्राफी रहेको छ।

स्पेन अलवा युरोपका बिभिन्न शहरहरुमा चलचित्र प्रदर्शंन गर्ने तयारी थालिएको कलाकार तिवारीले जानकारी दिए।