फिर्केको मापदण्ड ३ मिटर कायम गर्न महानगरपालिकाको ध्यानाकर्षण


पोखरा । फिर्के संरक्षण तथा मापदण्ड सरोकार समितिद्धारा फिर्के खोलाको मापदण्ड खोलाको मध्यभागबाट तिन÷तिन मिटर कायम गर्न आईतबार महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।


समितिका संयोजक नारायण विक्रम शाही र सहसंयोजक कृष्ण पराजुली (ढाका मोहन) द्धारा हस्ताक्षरित उक्त ध्यानाकर्षण पत्रमा लामो समयदेखि स्थानिय निकायमा जनप्रतिनिधिहरु नहँुदा फिर्केको व्यवस्थापन हुन सकेको थिएन । जन प्रतिनिधि आएपछि यसको न्यायसंगत व्यवस्थापन हुनेमा आशावादी थियौं तर हाल विभिन्न सञ्चार माध्यमबाट फिर्केको मापदण्ड १० मिटर बनाउन लागिएको जानकारी आएकोले स्थानिय वासिन्दामा अन्यौल सृजना भएको वताईएको छ ।


साथै पत्रमा जनप्रतिनिधिहरुबाट कहिले व्यक्ति, समुदाय, संघसंस्था, धार्मिक, साँस्कृतिक, समाज, शैक्षिक संस्थाका घरजग्गामा जथाभावी चिन्ह लगाउने, कहिले अस्पष्ट मापदण्ड तोक्ने कार्यले सरोकारवालाहरुको सम्पत्ति माथि दाग लगाउने कार्य भएको समेत लेखिएको छ।


महानगरपालिकालाई बुझाइएको सो पत्रमा लेखिएको छ, गणतन्त्रात्मक शासन पद्धतिमा जनताको सम्पत्तिको अधिकार, मानव अधिकार, जस्ता विषय, नैसर्गिक अधिकार भित्र पर्छन कि पर्दैनन् ? यस विषयले राष्ट्रिय एवम् अन्तराष्ट्रिय न्यायलयमा प्रवेश पाउँछ कि पाउँदैन ? जस्ता प्रश्न गर्दै निर्णय गर्दा सरोकारवालाहरुको सहभागिता र सहमति आवश्यकता पर्छ कि पर्दैन ? भन्दै फिर्के खोलाको मध्य भागलाई केन्द्र बनाई दायाँ–बायाँ ३/३ मिटर मापदण्ड कायम गर्न भनिएको छ ।