मौजा मोहोरिया गाउँको वृत्तचित्र तथा चिनारी गीत लोकापर्ण


पोखरा । पोखरा महानगरपालिका वडा नं. २०, साविक मौजा गाविस वडा नं. १ मा रहेको पर्यटकीय तथा साँस्कृतिक महत्व बोकेको मोहोरिया गाउँको प्रचारप्रसार गर्न तयार पारिएको वृत्तचित्र तथा गाउँ चिनारी गित सोमबार विमोचन गरिएको छ ।


स्थानियहरुको आर्थिक सहयोगमा निर्माण गरिएको हाम्रो माहोरिया गाउँको वृत्तचित्र तथा म्युजिक भिडियोको वडा अध्यक्ष सिमबहादुर गुरुङले विमोचन गरेका हुन् ।


उनले वृत्तचित्र तथा गितले देश विदेशमा यहाँका साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार भई आफ्नो गाउँ छाडेर अन्यत्र गएका पनि फर्किने दावी गरे । साथै उनले भावी पुस्ताको लागि पनि गाउँको तत्कालिन अवस्था कस्तो थियो भन्ने कुरा जिवन्त राख्न महत्वपुर्ण भूमिका रहने पनि वताए ।


सो अवसरमा रोटरी क्लब अफ पोखरा न्युरोडका शुभाष सिग्देल, स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका उपाध्यक्ष कृष्ण रानाभाटले अत्यन्त उत्कृष्ट कार्य भएको वताउँदै म्युजिक भिडियो र गीतले गाउँको विकासमा दिर्घकालसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।


म्युजिक भिडियो तथा वृत्तचित्र निर्माणको जिम्मा लिएको भकारी इभेन्ट्स प्रालिका अध्यक्ष कृष्णकुमार गुरुङले मोहोरिया गाउँको बारेमा आफुहरुले सकेसम्म धेरै समेट्न खोजेको वताए ।


कार्यक्रममा समाजसेवी नन्दबहादुर गुरुङले गाउँको विकासमा युवाहरुको महत्वपुर्ण भूमिका हुने भएकोले हरेका कार्यमा युवाको सहभागिता हुनु पर्ने वताए ।


निर्माण समितिका सल्लाहकार सु. हुमबहादुर गुरुङ, मौजा होमस्टेका संयोजक उत्तम गुरुङ, प्रयत्नशिल युवा क्लबका अध्यक्ष मनिराज गुरुङलगाएतले आफ्नो गाउँको प्रचारप्रसारमा योगदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


सो अवसरमा २० हजार भन्दामाथी सहयोग गर्ने दाताहरुलाई प्रशंषा पत्र, खादा र अविरले सम्मान गरिएको थियो भने अन्य सबै दाताहरुलाई अविर र खादाद्धारा सम्मान गरिएको थियो ।


साथै भकारी इभेन्ट्सका अध्यक्ष कृष्णकुमार गुरुङ, छायाँङ्कार प्रकाश गुरुङ (काश), पुर्ण गुरुङ, सम्पादक नेत्र गुरुङ, कोरियोग्राफर पवित्रा गुरुङ, कलाकारहरुलाई सम्मान गरिएको थियो ।


वृत्तचित्र तथा म्युजिक भिडियो निर्माण समितिका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा आम्दानी खर्चको विवरण कोषाध्यक्ष खड्गमान गुरुङले र सचिव चित्रप्रसाद आचार्यले कार्यक्रम संचालन गरेका थिए ।