डावोस् बैठकबाट नेपाललाई के फाइदा ?


काठमाडौं । संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले डावोस बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताले नेपालको इज्जत बढ्ने बताएका छन् ।

हाल स्वीटजरल्याण्डको डावोसमा रहेका राजदूत धितालले अनलाइनखरका युरोप संयोजक बसन्त रानाभाटसँग संक्षिप्त कुरा गर्दै भने, ‘यहाँ धेरै मिटिङहरु हुँदारहेछन् । करिब ४ सयवटा विभिन्न सेसनहरु हुन्छन् । हामी यहाँ पूराका पूरा दिन इन्गेज भइरहेका छौं ।’

प्रधानमन्त्रीले केपी शर्मा ओलीले बैठकमा प्रत्यक्षरुपमा सहभागी हुँदा नेपालको ‘प्रेस्टिज’ बढ्ने र नेपालको ‘इन्ट्रेस्ट’ के हो भन्ने अन्तरराष्ट्रिय जगतलाई जानकारी हुने धितालले बताए ।

‘यो एकदमै ठूलो इभेन्ट हो । वर्ल्ड इकोनोमी फोरममा अहिले विश्वमा देखिएका चुनौती र सम्भाव्यताहरुबारे समसामयिक एजेण्डामाथि छलफल हुन्छ’ धितालले अनलाइनखबरसँग भने, ‘चौथो औद्योगिक क्रान्तिलाई समावेशीरुपमा कसरी अगाडि बढाउने भन्ने छलफल हुन्छ ।’
‘यसमा धेरै व्यक्तित्वहरुको भेटघाट हुने मौका हो,’ धितालले अगाडि भने, ‘अन्तर्राष्ट्रिय व्यापारको विषयमा र त्यसको भविश्यका बारेमा हामीजस्तो मुलुकको चासो के हुनुपर्छ भन्ने बारेमा प्रधानमन्त्रीले बोल्नुभएको छ ।’

अन्तर्राष्ट्रिय जगतमा चौथो औद्योगिक क्रान्ति, जसलाई ग्लोबलाइजेसन-४ भनिन्छ, को विषयमा डावोस बैठकमा वृहत छलफलहरु भइरहेको धितालले जानकारी दिए ।

चौथो औद्योगिक क्रान्तिलाई ग्लोबल आर्किटेक्चरका रुपमा कसरी आकार दिन सकिन्छ भन्ने यस बैठकको मुख्य ‘थिम’ रहेको उनले अनलाइनखबरलाई बताए ।

डावोस बैठकमा भाग लिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली एवं प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, डा. राजन भट्टराई लगायतको टोली अहिले स्वीटजरल्याण्डमा छ ।

स्वीटजरल्याण्डस्थित नेपाली दूताबासका उपनियोग प्रमुख तीर्थराज वाग्लेका अनुसार डावोस बैठक सकिने दिन शुक्रबार बिहानै स्वीटजरल्याण्डको अर्को शहर जुरिचमा प्रधानमन्त्री ओलीसँग छलफल तथा भेटघाट कार्यक्रम राखिएको छ ।

सो भेटघाटमा स्वीटजरल्याण्डस्थित नेपाली समुदाय, नेपाली प्राविधिक तथा विज्ञहरुको सहभागिता रहने छ । दूताबासका अर्का एक अधिकारीका अनुसार त्यो औपचारिक छलफलै कार्यक्रम त होइन, यसो भेटघाटमा छलफल गर्न लागिएको हो ।

त्यहाँ युनिभर्सिटीमा इनोभेसन र इन्टरपेनियरसीपसँग सम्बन्धित विषयहरुमा विश्वविद्यालयले गरेका सत्प्रयासहरुको अवलोकन भ्रमणको पनि कार्यक्रम रहेको दूताबासले जनाएको छ ।

डावोस बैठक र चौथो औद्योगिक क्रान्ति

वर्ल्ड इकोनोमिक फोरमको ४९ औं बैठक अहिले स्वीटजरल्यान्डको डाभोस शहरमा भइरहेको छ । सोमबारबाट सुरु भएको बैठक शुक्रबार सकिँदैछ । यसैलाई डाभोस-२०१९ भनेर चिनिन्छ । डाभोस शहर स्वीट्जरल्यान्डको पूर्वी इलाकामा पर्छ ।

डावोस बैठकमा विश्वका महत्वपूर्ण नेताहरुका साथै बहुराष्ट्रिय कम्पनीहरुका सीइओ र माथिल्लो दर्जाका सेलिबि्रटीहरुको उपस्थिति रहेको छ ।

विश्वव्यापी अर्थतन्त्र तथा अन्य समसामयिक मुद्दाहरुमा छलफल हुने यो मिटिङ पहिलोपटक सन् १९७१ मा आयोजना भएको थियो । त्यतिबेला यसलाई ‘युरोपियन म्यानेजमेन्ट फोरम’ नाम दिइएको थियो । सन् १९८७ मा यसको नाम परिवर्तन गरिएको हो ।

चौथो औद्योगिक क्रान्तिको विशेषता के होला ? विद्वानहरुले ‘साइबर-फिजिकल सिस्टम’ चौथो औद्योगिक क्रान्तिको मुख्य विशेषता हुन सक्ने औंल्याएका छन्

जेनेभा युनिभर्सिटीका जर्मन प्रोफेसर क्लाउस स्च्वाबले डाभोस फोरमको सुरुवात गरेका हुन् ।

हाल यो फोरमका लागि एक हजार सदस्य कम्पनीहरुले आर्थिक योगदान गर्छन् । कार्यक्रममा सहभागी हुन व्यापारिक प्रतिष्ठानले प्रतिव्यक्ति ४० हजार डलर बुझाउनुपर्छ । पत्रकार, राजनीतिज्ञ र अर्थशास्त्रीहरुलाई भने आयोजकले नै निम्ता गर्छन् । उनीहरुले आफ्नो खर्च गर्नुपर्दैन ।

यो वर्षको वर्ल्ड  इकोनोमिक फोरम २२ जनवरीबाट २५ जनवरीसम्म चल्नेछ । यसको मुख्य नारा रहेको छ- ‘ग्लोबलाइजेसन ४.० : चौथो औद्योगिक क्रान्तिको युगमा नयाँ नक्शांकन ।

संसार यतिबेला चौथो औद्योगिक क्रान्तिको संघारमा छ भन्ने क्लाउस स्च्वाबको परिकल्पना छ । र, चौथो औद्योगिक क्रान्तिको आकार कस्तो हुन्छ भन्ने आइडियाको निरुपण गर्नु अहिलेको बैठकको मुख्य ध्येय रहेको बताइएको छ ।

प्रथम औद्योगिक क्रान्ति सन् १७८४ लाई मानिन्छ । वाष्प इञ्जिन, मेकानिकल उत्पादन एवं मेसिनसरी सामाग्रीहरुको विकासलाई पहिलो औदौगिक क्रान्तिको आधार मानिन्छ ।

त्यसैगरी सन् १८७० पछिको समयलाई दोस्रो औद्योगिक क्रान्ति मान्ने गरिएको छ । दोस्रो औद्योगिक क्रान्तिको युगमा बिजुलीको आविश्कार महत्वपूर्ण बनेर आयो । इलेक्ट्रिसिटीका साथै ठूलो पैमानामा वस्तु उत्पादन र श्रमको विभाजन दोस्रो औद्योगिक क्रान्तिको विशेषता हो ।

सन् १९६९ यताको विश्वलाई तेस्रो औद्योगिक क्रान्ति मान्ने गरिएको छ । यस युगको विशेषता स्वचालित मेसिनबाट उत्पादन एवं आइटीको विकासलाई लिने गरिएको छ ।

तर, अब चौथो औद्योगिक क्रान्तिको विशेषता के होला ? विद्वानहरुले ‘साइबर-फिजिकल सिस्टम’ चौथो औद्योगिक क्रान्तिको मुख्य विशेषता हुन सक्ने औंल्याएका छन् । र, यही चौथो औद्यागिक क्रान्तिको आकारको खोजीका लागि डावोस बैठकमा विश्वमा बिजनेसम्यान, राजनीतिज्ञ र वौद्धिकहरु भेला भएका हुन् ।

यसै सन्दर्भमा हामीले राजदूत धिताललाई सोध्यौं –

विश्व आर्थिक मञ्चको यो ४९ औं बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिताले नेपाललाई के उपलब्धी हुन्छ ?

अहिले बहुसाझेदार सहभागीहरुबाट विश्वकै भविश्य, यसका अवसरहरु के छन्, चुनौती के छन् र त्यसलाई हामीले सबैको सहभागितामा कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नलाई यो एउटा अति महत्वपूर्ण थलो भएको छ । यसमा नेपालजस्तो मुलुक योभन्दा अगाडि यो लेभलमा सहभागी भएको थिएन । यहाँ आएर बोल्दाखेरि नेपालले आफू समावेशी भएर विश्वको धारणालाई पनि प्रभाव पार्न सक्ने मौका हो । त्यसैले यसलाई हामीले भरपुर उपयोग गर्नुपर्छ ।

यसपटक प्रधानमन्त्रीले नै भाग लिनुको कारण के हो ?

तपाईले यसको प्रकृति हेर्नुभयो भने यो राजनीतिज्ञ, व्यवसायी, नागरिक समाज अथवा सांस्कृतिक, प्राज्ञिक, वौद्धिक एवं विज्ञान र प्रविधि क्षेत्रका उच्चस्तरीय नेतृत्वहरु जम्मा भएर छलफल गर्ने थलो हो । यसमा बहुसाझेदार लिडरहरु, सहभागी छन्, जसले साझा स्वार्थका आधारमा भविश्यलाई आकार दिन सक्छन् । यो त्यस्तो खालको महत्वपूर्ण फोरम हो । यो अति नै महत्वपूर्ण फोरम हो ।

डावोस स्टायल भनेको त्यहाँ विभिन्न लेभलका उच्चस्तरका नेताहरु हुनुहुन्छ । राष्ट्र प्रमुख, सरकार प्रमुखहरु, मन्त्रीहरु, बिजनेश लिडर्सहरु हुनुहुन्छ । यसमा भाग लिने क्रममा विभिन्न व्यक्तित्वहरुसँग, धेरैजनासँग प्रधानमन्त्रीको भेट हुन्छ । यसको भरपुर उपयोग भएकै छ । राष्ट्रपतिहरु, प्रधानमन्त्रीहरुसँग भेटघाट गर्नुभएको छ । दुईवटा मिडियालाई अन्तरवार्ता दिनुभएको छ ।

अन्त्यमाविश्व आर्थिक मञ्चको आलोचना

डावोस बैठकलाई निकै महत्व दिएर नेपालले पनि सहभागिता जनाएको छ । राजदूत धितालले भनेजस्तै प्रधानमन्त्री नै उपस्थिति हुनुले यो बैठकलाई नेपाल सरकारले निकै नै महत्वका साथ हेरेको स्पष्ट हुन्छ ।

तर, यो विश्व आर्थिक मञ्चका बारेमा विश्व समुदायमा आलोचना समेत हुने गरेको छ । हुन त यो बैठकमा नेपालको सहभागिताले केही न केही फाइदा त अवश्यै होला, तर सरकारले दाबी गरेजस्तै यसलाई नेपालको हितमा कति प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ चुनौतीपूर्ण नै देखिन्छ ।

विश्व आर्थिक मञ्चको यस फोरमलाई विश्वमा मौलाउँदो अभिजात वर्गको सामाजिक संस्थाका रुपमा समेत कतिपयले हेर्ने गरेका छन् । विश्वव्यापीकरणमा संलग्न बैंकर्स, उद्योगपति, व्यापारी, कुलीन वर्ग, टेक्नोक्र्याट एवं राजनेताहरुको माफियातन्त्रका रुपमा यसले काम गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ ।

‘जर्नल अफ कन्ज्युमर रिसर्च’ मा प्रकाशित एक अध्ययनमा विश्व आर्थिक मञ्चको समाजशास्त्रीय प्रभावको जाँच गरिएको छ । त्यसमा निश्कर्ष निकालिएको छ कि यो फोरमले विश्वमा फैलिइरहेको गरीबी, ग्लोबल वार्मिङ र संक्रामक रोगहरुको समस्या समाधान गर्न सक्दैन, उसले केवल यी मुद्दाहरुलाई नकार गर्छ र वास्तवमा एउटा नयाँ बजारको निर्माण गर्छ ।

-अनलाईनखबर