पश्चिमा शक्तिको संयुक्त विज्ञप्ति प्रति प्रधानमन्त्रीको आपत्ति


स्वीटजरल्याण्ड । काठमाडौंमा रहेका पश्चिमा कूटनीतिज्ञहरुले राष्ट्रसंघसित मिलेर संयुक्त विज्ञप्ति जारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । राजदूतहरुको संयुक्त वक्तव्यलाई उनले ‘गुटबन्दी’ र ‘गठजोड’ को संज्ञा दिँदै त्यसो नगर्न भनेका छन् ।

जेनेभास्थित नेपाली दूताबासले जुरिच शहरको एक होटलमा आयोजना गरेको रिसेप्सन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कुनै पनि गुटबन्दी र गठजोड नगर्न राजदूतहरुलाई भनेका हुन् ।

दूताबासद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले शान्ति प्रक्रियालाई पूरा गर्‍यौं । तर, शान्ति प्रक्रिया पूरा गरेको सन्दर्भमा केही एम्बेसडरहरु, केही एम्बेसी अनावश्यकरुपमा, किन हो हतारिएको ? अचम्म लाग्छ ।

विहीबार काठमाडौंबाट जारी संयुक्त वक्तव्यप्रति आपत्ति जनायँदै प्रधानमन्त्रीले भने, ‘संयुक्त वक्तव्य ! यसप्रकारको गठजोड गर्नु, यस प्रकारको गुटबन्दी गर्नु कुनै जरुरी छैन कुनै पनि एम्बेसीहरुलाई । कुनै पनि देशलाई । किन गर्नुपर्‍यो ?’

प्रधानमन्त्रीले पश्चिमी देशहरुलाई प्रश्न गरे, ‘द्वन्द्व व्यवस्थापन गर्नु राम्रो होइन र ? द्वन्द्व थियो, मारामार थियो, हामीले व्यवस्थापन गर्‍यौं । लडाइँ सिद्धियो । अब त्यसका घाऊहरु अलिकति होलान्, त्यसलाई हामी समाधान गर्छौं ।’

संयुक्त राष्ट्रसंघको नाम नलिइकन प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यो द्वन्द्व व्यवस्थापक होला कि के हो, वीचवीचमा अनेक कुराहरु आउने, त्यस्तो कुराहरु चाहिँ नहुनु राम्रो ।’

प्रधानमन्त्री ओलीले शान्तिको पक्षमा लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘शान्तिको पक्षमा सबैले लाग्नुपर्छ । शान्तिको पक्ष भएर काम गर्नुपर्छ । हिंसाका बेला भएका घाउ खतहरु कोट्याउने हैन, त्यसमा मल्हम लगाउने दिशामा सबैले काम गर्नुपर्छ । हामीले हाम्रा मित्रहरुसँग त्यसैप्रकारको हार्दिकता र सहयोगको अपेक्षा गर्दछौं ।’

नेपालप्रति ‘आइडियोजिकल बायसनेस’ देखाइएको गुनासो

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियालाई ऐतिहासिक कामको संज्ञा दिँदै अन्तरराष्ट्रिय समुदायले यसप्रति ‘आइडियोलोजिक बायसनेस’ (वैचारिक पूर्वाग्रह) देखाएको गुनासोसमेत गरे । कम्युनिष्ट आइडियोलोजीबाट भएको हुनाले यसप्रति पश्चिमाहरुले पूर्वाग्रह राखेको प्रधानमन्त्रीको संकेत थियो ।

‘म विदेशी मित्रहरुलाई पनि भन्न चाहन्छु, केही केही ट्रेन्डहरु, आइडियोलोजिकल बायसनेस आदिबाट पनि प्रकट हुने, अभिव्यक्त हुने गरेका छन्’ प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक परिवर्तनका सन्दर्भ कोट्याउँदै भने, ‘जसको नेतृत्वमा भएको छ, यदि आइडियोलोजिकल बायसनेस नहुने हो भने असाधारण कुरा हामीले प्राप्त गरेका छौं । सफलता प्राप्त गरेका छौं ।’

हामी अलिकति सानो देश भएको हुनाले यस्तो भएको भन्दै प्रधानमन्त्री ओलीले यदि पूर्वाग्रही नहुने हो भने दुनियाँले नेपालबाट सिक्न सक्ने बताए । उनले भने, ‘नेपालले ठूलो उपलब्धि हासिल गरेको छ । ठूलो परिवर्तन ल्याएको छ । सकारात्मक बाटोमा अगाडि बढेको छ ।’

विगतमा नेपाल शरणार्थी समस्याबाट पीडित भएको र त्यो पनि मोटोमोटी समाधान भइसकेको प्रधानमन्त्री ओलीले बताए ।

राजदूताबासको कार्यक्रममा बोल्दै उनले भने, ‘हामी शरणार्थी समस्याबाट पीडित भयौं । शरणार्थी समस्या हामीले समाधान गर्‍यौं । मोटामोटी समस्या समाधान भयो । सवा लाख शरणार्थीहरु थिए । अहिले ५/६ हजार शरणार्थीको अलिकति समस्याको अवशेष छ, त्यसलाई हामी अन्ततः समाधान गर्न गइराखेका छौं ।’

त्यसैगरी सशस्त्र द्वन्द्व पनि हामी आफैंले समाधान गरेको प्रधानमन्त्री ओलीले बताए । ‘हामीकहाँ सशस्त्र द्वन्द्व थियो, हिंसा थियो । त्यसलाई हामीले समाधान गर्‍यौं । त्यसको पनि व्यवस्थापन गर्‍यौं । हतियारको व्यवस्थापन गर्‍यौं । लडाकूको व्यवस्थापन गर्‍यौं,’ प्रधानमन्त्रीले भने, ‘त्योभन्दा अगाडि हिंसात्मक नीतिको व्यवस्था गर्‍यौं । हिंसाको नीति परित्याग, हतियारको परित्याग र लडाकूहरुको समायोजन सबै गर्‍यौं ।’

डावोस बैठकमा भाग लिन स्वीटजरल्याण्ड पुगेका बेला प्रधानमन्त्रीको स्वागतमा दूताबासले आयोजना गरेको कार्यक्रममा लामो मन्तव्य दिएका प्रधानमन्त्री ओलीले भ्रममा नपर्न र अल्मलिएकाहरुलाई सम्झाउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म तपाईहरुलाई, खास गरेर नेपाली राष्ट्रलाई भन्न चाहन्छु, कुनै अलमलमा दाजुभाइ, दिदीबहिनीहरु नपर्नोस् । यसैगरी आम नेपाली दाजुभाइ दिदीबहिनीहरुले सम्झाउनुपर्छ ।’

प्रधानमन्त्रीको स्वागतमा आयोजना गरिएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतको सहभागिता थियो । कार्यक्रममा दूताबासका कर्मचारी, गैरआवासीय नेपालीहरु र केही स्वीटजरल्याण्डका नागरिकसमेत सहभागी थिए ।

प्रधानमन्त्रीको स्वागतमा राजदूत दीपक धितालले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए । यस क्रममा धितालले प्रधानमन्त्रीको डावोस भ्रमणबाट नेपालको ‘प्रेस्टिज’ बढेको बताए ।