भारतले युरोपको आकाश पाउने, नेपाललाई किन प्रतिबन्ध ?


वैशाख १ देखि ‘बुटिक एयरपोर्ट’

 


स्वीटजरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भन्दा नेपालको हवाइ सेवा राम्रो रहेको दाबी गरेका छन् । तर, भारतको भन्दा राम्रो हवाइ सेवा भएता पनि युरोपले नेपाली जहाजलाई अनुमति नदिनु दुःखद भएको प्रधानमन्त्रीको गुनासो छ ।

नेपालले फ्रान्सबाट दुईवटा एयरबस किनेको तर ती एयरबस फ्रान्समै उडाउन नपाइएको भन्दै प्रधानमन्त्री ओलीले फ्रान्सप्रति कटाक्ष गरे । आइकाओले नेपाली जहाजलाई उडान अनुमति नदिनु अचम्मलाग्दो भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

विहीबार साँझ स्वीटजरल्याण्डको जुरिचमा नेपाली समुदायसँगको जमघटमा प्रधानमन्त्री ओलीले हवाइ कनेक्टीभिटीको समस्याबारे कुरा गर्दै भने, ‘दुःखको कुरो अहिलेसम्म युरोपमा हाम्रा जहाजहरु प्रवेश गर्न पाउँदैनन् । आइकाओको प्रतिवेदनले भारतको हालत हाम्रोभन्दा कमजोर भनेको छ । तर, भारतले प्रवेश गर्न पाउँछ, हामीले पाउँदैनौं ।’


फ्रान्सबाट नेपालले किनेका दुईवटा एयरबसको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले कटाक्ष गर्दा कार्यक्रममा सहभागी नेपाली समुदायका प्रतिनिधिवीच हाँसो छाएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यसो भने-

‘हाम्रो मित्रराष्ट्र फ्रान्सले हामीलाई दुईवटा एयरबस बेचेको छ । काठमाडौंमा एयरबस बस्न सक्छ, उड्न सक्छ भनेर बेचेको छ । उसको एयरबस बस्न पनि सक्छ । उड्न पनि सक्छ । तर, हामी तिम्रो एयरपोर्टमा ल्याउँछौं नि त भन्दा दिँदैन । अचम्मको प्रतिवन्ध छ ।

उसले (फ्रान्सले) हाम्रोमा बस्न सक्ने भनेरै बेच्या छ हामीलाई । हाम्रोबाट उड्न पनि सक्छ, त्यो पनि मानेको छ । तर, फ्रान्सको एयरपोर्टमा ल्याउँछु भन्दा मिल्दैन भन्छ । हाम्रो एयरपोर्ट खत्तम हो कि ? हाम्रो स्काई खत्तम हो कि ? फ्रान्सको…? बुझ्न गाह्रो छ ।’

प्रधानमन्त्री ओलीले नेपाली जहाजहरुमाथि युरोपमा लागि रहेको प्रतिबन्धबारे छलफल गरिने बताए । उनले भने- ‘यी कुराहरुमा हामी छलफल गर्छौं । र, म यहाँहरुलाई भन्न चाहन्छु, अहिलेको नेपाल कुनै पनि विषयमा खुल्ला छलफल गर्न कसैसँग पनि हिच्किचाउँदैन । यो हिच्किचाउने जमाना होइन । सार्वभौमिक समानताको सिद्धान्तका आधारमा सबै राष्ट्रका हैसियतमा बराबर छन् भन्ने मान्यताका साथ नेपाल अगाडि बढ्छ र त्यो मान्यताका साथ दृढताका साथ अगाडि बढेर आफ्ना समस्याहरु समाधान गर्दै हामी अगाडि आएका छौं ।’

वैशाख १ देखि ‘बुटिक एयरपोर्ट’

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वशाख १ गतेदेखि काठमाडौं विमानस्थललाई बुटिक एयरपोर्ट बनाइने स्वीटजरल्याण्डबासी नेपालीहरुलाई जानकारी दिए ।

प्रधानमन्त्रीले भने, ‘म तपाईहरुलाई भन्न चाहन्छु । विक्रम सम्वत भनेको, नेपालीहरुले मानी आएको विक्रम सम्वत्, नयाँ वर्ष २०७६ सालको बैशाख १ गतेबाट हामी काठमाडौं विमानस्थललाई दुनियाँकै पहिलो बुटिक एयरपोर्टका रुपमा सुरुवात गर्दैछौं । घोषणा पनि गर्छौं र सुरुवात पनि गर्छौं ।’