एनआईसी एशिया बैंकको नयाँशाखा पोखराको पस्र्याङ्गमा


कृष्ण रानाभाट/पोखरा । एनआईसी एशिया बैंक लि.को पोखरा–५, पस्र्याङ्गस्थित पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.ले सोमबार उद्घाटन गर्नु भएको छ ।

गत भाद्र २ गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन गर्दै मेयर जि.सीले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो उपस्थिति सबल बनाउदै जानुपर्ने वताउँनु भएको थियो ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता तथा पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले वडा भित्र बैंकिङ कारोवार वढ्नु यहाँका जनतालाई वित्तिय कारोवार गर्न सहज हुने वताउनु भयो ।

स्थानिय व्यवसायी शिवप्रसाद पराजुलीले बैंकले जनतालाई सर्वसुलभ सेवा प्रदान गरेमा बैंकलाई नै राम्रो हुने वताउनु भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर दुई सय ७७ शाखा कार्यालयहरु, दुई सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले जानकारी दिनु भयो ।

बैंकको वासलातको आकार २ सय १५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब एक सय ७१ अर्ब तथा कर्जा एक सय ४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेकोे छ ।

बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना रहेको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले वताउनु भयो ।

प्रदेश प्रमुख दिपेन्द्र शर्मामा अध्यक्षताभा भएको कार्यक्रममा स्वागत प्रस्याङ शाखा प्रमुख सुभास सुवेदीले र कार्यक्रम संचालन सहायक प्रदेश प्रमुख स्वेता शेरचनले गर्नु भएको थियो ।