रास्कोट अस्पतालका लागि स्पेनबाट २ लाख २२ हजार सहयोग



बार्सिलोना।  तमु समाज बार्सिलोनाले दुर्गम जिल्ला कालिकोटमा निर्माण हुन लागेको रास्कोट सामुदायिक अस्पतालका लागि २ लाख २२ हजार ५ सय ५६ रुपैयाँ सहयोग गरेको छ। नेपाली चलचित्र ‘बोबी को प्रदर्शन गर्दै समाजले उक्त रकम सहयोग गरेको हो। हालै बार्सिलोनामा चलचित्र प्रर्दशन गर्दै चर्चित संचारकर्मी रबि लामीछानेको पहलमा बन्न लागेको रास्कोट सामुदायिक अस्पतालका लागि सहयोग हस्तान्तरण गरिएको समाजले जनाएको छ।

“रबि लामिछाने फाउन्डेसन” मार्फत झन्डै ३ करोड रुपैयाँको लागतमा १५ शैयाको अस्पताल निर्माण हुने भए पछि देश विदेशबाट सहयोग संकलन भईरहेको छ। समाजका अध्यक्ष गौतम गुरुङले दुर्गम क्षेत्रमा निर्माण हुन लागेको अस्पतालका लागि समाजले सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे। उनले भने,” टिकट बिक्रिबाट उठेको रकममा केहि रकम थप गरेर अस्पताल निर्माणका लागि फाउन्डेसनलाई रकम बुझाएका छौ। चलचित्र देखाउन सिनेमा हल सहितको सम्पूर्ण खर्च समाजले व्यहोर्ने गरी एउटा सामाजिक काममा ईटा थप्ने प्रयास गरेका हौ।”

समाजले रकम संकलन अभियान सहित केहि साता अघि रियल लाइफको प्रेम कथामा आधारित चलचित्र ‘बोबी’ बार्सिलोनामा प्रदर्शन गरेको थियो। मिलन चाम्सको निर्देशनमा तयार भएको यो चलचित्रमा नर्बेमा बस्दै आएका इन्जिनियर उमेश थापा र होटल म्यानेजरको रुपमा कार्यरत उनकी धर्मपत्नी कविता गुरुङको मुख्य भूमिका छ ।

चलचित्रमा उमेश र कविताकै रियल लाइफको प्रेम कथालाई उतारिएको छ। नर्वे र नेपालमा छायांकन गरिएको यो चलचित्रलाई युरोपका नेपालीहरुले अझ चासोपुर्बक हेरेको पाईन्छ।

फिल्ममा विजय लामा, रुवी राना शाह (मिस नेपाल), रवी गिरी, सुरवीर पण्डित, पुर्णिमा लामा, बादल भट्ट, रश्मि भट्ट, देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय छ ।