राष्ट्रिय भूमि अधिकार मञ्चको पाँचौं राष्ट्रिय सम्मेलन पोखरामा


पोखरा । ‘भूमि अधिकार आन्दोलनलाई सार्थक, सवल र उन्नत बनाऔं, राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौं राष्ट्रिय सम्मेलन सफल पारौं’ भन्ने नाराका साथ राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाँचौं राष्ट्रिय सम्मेलन फागुन २७ गतेदेखि तिन दिन पोखरामा हुने भएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा वोल्दै मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले सात प्रदेशका ५९ जिल्लाका करिब १० हजार प्रतिनिधि तथा भूमि अधिकारसंग सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाका पर्यवेक्षक तथा अतिथिहरु उपस्थित हुने वताए ।

भूमि अधिकारबाट बञ्चित किसानहरुलाई सचेत र संगठित गर्दै भूमिका सवालमा सुकुम्बासी, भूमिहिन, मोही, हरवाचरवा, कमैया, कम्लरी, गुठी, विर्ता, गाउँब्लक, चुरेवासी, बाढीपिडित, भुकम्प पिडित, सानाकिसान, महिला किसानहरुको पक्षमा भूमिअधिकार प्राप्तीको लागि निरन्तर आन्दोलन मञ्चले व्यवस्था परिवर्तन भयो तर भूमिहीनको समस्या जस्ताको तस्तै रहेकोले छिटो भन्दा छिटो अधिकार सम्पन्न आयोग गठन गरी सुकुम्वासी समस्या लगाएतका अन्य समस्या समाधान गर्नु पर्ने मञ्चको मुख्य माग रहेको गण्डकी प्रदेश अध्यक्ष सुनिता विकले वताइन् ।

सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गर्नुहुने कार्यक्रम रहेको छ भने नेपाली काँग्रेसका नेता एवम् पुर्व अर्थमन्त्री रामशरण महत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय पद्माकुमारी अर्याल, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ, भूमि व्यवस्था तथा कृषि, सहकारी मन्त्री माननीय लेखबहादुर थापा, नेकपाका सचेतक शान्ता चौधरी, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्री, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसि लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले वताएको छ ।

फागुन २७ गते विहान १० वजे वैदामको गाईघाट, केदारेश्वर मन्दिर पार्कमा भेला भई सहिद चोक, रत्नचोक र सृजना चोक हुँदै ¥याली सहित सभागृह हलमा सम्मेलन उद्घाटन हुने छ भने फागुन २८ गते प्रतिनिधि तथा पर्यवेक्षकको लागि वर्तमान परिवेशमा भुमि अधिकार सामाजिक आन्दोलन र सङ्गठन विकास बारे प्रशिक्षण सत्र र २९ गते अन्तिम दिन लोकतान्त्रिक पद्धति अनुरुप आगामि ३ वर्षको लागि नयाँ केन्द्रिय कार्य समितिको लागि निर्वाचन हुने छ ।

सो अवसरमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, महासचिव सरस्वती सुब्बा, गण्डकी प्रदेश महासचिव आशबहादुर गुरुङ, कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङलगायतले पत्रकारले सोधेका प्रश्नको जवाफ दिएका थिए ।