को हुन् स्वीट्जरल्याण्डका लागि नयाँ नेपाली राजदूत भट्टराई ?


फोटो: राजदूत भट्टराई (देब्रेबाट चौथो)

जेनेभा। स्वीट्जरल्याण्डका  लागि नवनियुक्त नेपाली राजदूत मणिप्रसाद भट्टराई छिट्टै जेनेभा आईपुग्ने दूतावास स्रोतले जनाएको छ।

गत डिसेम्बर महिनामा नेपाल सरकारले तीन जना राजदूतलाई फिर्ता बोलाउनु का साथै परराष्ट्र मन्त्रालयका पांचजना सहसचिवहरुलाई पांच विभिन्न मुलुकहरुका लागि राजदूत नियुक्त गरेको थियो। जसअनुसार सहसचिव भट्टराई स्वीट्जरल्याण्ड तथा जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका लागि पनि राजदूत नियुक्त भयका हुन्। त्यस्तै सहसचिवहरु गणेशप्रसाद भट्टराई थाईल्याण्डका लागि, भृगु ढुंगाना क्यानडा, दीपक अधिकारी फ्रान्स र दुर्गाप्रसाद भण्डारी कुवेतका लागि राजदूत नियुक्त गरिएका छन्।

स्वीट्जरल्याण्डका लागि नवनियुक्त  राजदूत भट्टराईले सन् १९८८ देखि  नेपाल सरकारमा सेवा शुरु गरेका हुन्। उनले २०१० देखि २०१४ सम्म न्यूयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा मिनिस्टर काउन्सिलरको जिम्मेवारी सम्हालेका थिए। न्यूयोर्कबाट फर्किए पछि उनले परराष्ट्र मन्त्रालयमै सहसचिवको रूपमा काम गरेका थिए।

झन्डै एक दशक राष्ट्रिय योजना आयोगमा काम गरेका भट्टराई नवौं तथा दशौँ योजना तर्जुमामा पनि सहभागी थिए। थोरै बोल्ने, मिलनसार र मेहनती कूटनीतिज्ञको रूपमा चिनिने भट्टराईलाई राष्ट्र संघको जटिल कामकाजी प्रक्रियाबारे जानकार अधिकृतको रुपमा पनि हेरिन्छ । अल्पविकसित मुलुकहरुको लागि राष्ट्रसंघद्वारा सन् २०११ मा पारित ‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ घोषणा प्रक्रियामा समेत सहभागी रहेका भट्टराई जेनेभामा स्वीट्जरल्याण्डसंग द्वीपक्षीय सम्वन्ध सुद्रीढ गर्न र नेपालको आर्थिक विकासका लागि स्रोतहरु जुटाउन बढी सक्रिय रहनुपर्ने देखिन्छ ।