हेर्नुहोस् भिडियो स्टोरी :-बलिउडको शुटिङस्थल स्वीटजरल्याण्डको इन्टरल्याकेन !



वसन्त रानाभाट,जुरिच।

स्वीट्जरल्याण्डको प्रमुख पर्यटकीय गन्तब्य शहर हो इन्टरल्याकेन। पहाडहरुको बीचमा अवस्थित शहर राजधानी बर्नबाट ५६ किलोमिटर टाढा पर्दछ। ब्रिनेज र थुन दुई तालहरुको बीचमा अवस्थित भएकाले पनि यसलाई इन्टरल्याकेन भनिएको हो। साहसिक खेलहरुका लागि प्रसिद्ध यो ठाउँ सुन्दरताले भरिपूर्ण छ।

हिउँले रंगिएका उच्च पहाडहरु र पहाडभन्दा माथि पर्वतहरू सुसज्जित छन्। साहसिक पर्यटनको लागि यो गज्जबको क्रिडास्थल हो । पर्वतारोहण,पदयात्रा,जल बिहार, बन्जी, क्यान्योइङ, जङ्गल यात्रा, हाइकिङ, साइकल यात्रा, पाराग्लाइड, अल्ट्रालाइटजस्ता खेलको मज्जामा पर्यटकहरु झुम्ने गर्छन्।

४.४ वर्ग किलोमिटरको क्षेत्रफल र झन्डै ६ हजार जनसंख्या रहेको उक्त शहरमा वर्षेनी २६ लाख आन्तरिक तथा वाह्य पर्यटकहरु भित्रने गरेका छन्। पूर्वाधारको विकास भयो भने उल्लेख्य मात्रामा पर्यटकहरु भित्रन्छन् भन्ने एक ज्वलन्त उदाहरण पनि हो।

इन्टरल्याकेन पुग्ने पर्यटकहरुमध्ये झन्डै ९ प्रतिशत भारतीयहरु रहेका छन्। सन् २००० यता यहाँ पुग्ने भारतीय पर्यटकहरुको संख्या ह्वात्तै बढ्यो। सन् १९९५ मा बलिउड निर्देशक यश चोपडाले यसै ठाउँमा “दिलवाले दुल्हनियाँ ले जाएंगे” बलिउड चलचित्र छायाङ्कन गरे। चलचित्र सफल त बन्यो नै, अझ यहाँका दृश्यहरु दर्शकको मानसपटक ताजा बनेर रहिरहे। त्यसैले पनि बलिउडप्रेमी दर्शकहरु यही ठाउँमा पुगेर चलचित्रमा कैद गरिएका दृश्यसँगै रमाउने गरेको पाईन्छ।

निर्माता तथा निर्देशक चोपडाले आफ्ना अन्य थुप्रै चलचित्रहरु स्वीट्जरल्याण्डको इन्टरल्याकेनमा नै छायाङ्कन गरे। त्यसैले पनि सन् २०११ मा यहाँको प्रदेश (क्यान्टोन) ले ‘एम्बासडर अफ इन्टरल्याकेन’ को मानार्थ उपाधिले उनलाई सम्मान गर्यो। सन् २०१२ मा उनको निधनपछि पनि क्रुसाल गाड्रेंनमा उनको एउटा प्रतिमा स्थापना गरिएको छ। चलचित्रको माध्यमबाट सो क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान पुगेको भन्दै उनलाई यसरी सम्मान गरिएको हो।

यो अलावा ढाई अक्षर प्रेम के, जुदाई, हीरो लगायत दर्जनौ बलिउड चलचित्रहरु पनि इन्टरल्याकेनमा छायाङ्कन भएका छन्।

नेपालले के सिक्ने ?

पर्यटन विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार नै पूर्वाधारको विकास हो। हवाइमार्ग, रेल मार्ग वा स्थलमार्ग पर्यटकहरु आउनका लागि सहज हुनुपर्दछ। रेल तथा स्थलमार्गको संजाल प्रमुख शहरहरुसँग जोडिनु पर्दछ। पयर्टकहरु आइसकेपछि पनि घुम्ने स्थलहरु, आवास तथा खानपिनका लागि होटल तथा रेष्टुरेन्टहरु,अपार्टमेन्टहरुको राम्रो ब्यबस्था हुन जरुरी छ। पर्यटकलाई आकर्षित गर्ने साहसिक खेलहरु सुरक्षित हुन जरुरी छ।

वास्तवमा सबैभन्दा पहिले पूर्वाधार विकासमा नै जोड दिन जरूरी छ भन्ने आधारहरु इन्टरल्याकेनको पर्यटन बिकासबाट सिक्न सक्छौ। विलासी होटलहरु नै बनाईहाल्नु पर्छ भन्ने पनि होइन। तर आजभोलि होम स्टेको अवधाराणाहरु पनि आएका छन्। बरु तिनलाई छिटो छरितो कसरी विकास गर्न सकिन्छ त ?

नेपाल पर्यटन बोर्डले दिएको तथ्याङ्क अनुसार गत बर्ष करिव १० लाख पर्यटकहरुले नेपालको भ्रमण गरेका छन्। एक जना पर्यटकले औसत १२ दिन नेपाल बिताएका छन् भने दैनिक ५३ डलर खर्च गरेको तथ्याङ्कमा उल्लेख छ। अहिले हामी बढी काठमाडौ उपत्यका,पोखरा, चितवन लगायतका प्रमुख गन्तब्यमा मात्र बढी केन्द्रित छौ। ती क्षेत्रहरुलाइ पनि गुरुयोजना बनाएर अझ व्यबस्थित बनाउन सकिन्छ। पर्यटकहरुको बसाई अलि लम्बाउने वातावरण तय गर्न सकिन्छ।

अर्को तर्फ मुख्य चुनौती भनेको नयाँ पर्यटकीय गन्तव्यको पहिचान पनि हो। मध्यपश्चिममा, सुदुर पश्चिममा पर्वतारोहण लगायत अन्य पूर्वाधारहरुको विकास हुन सकेको छैन। बढी चिनिएका ठाउँमा मात्र हैन नयाँ सम्भावित गन्तब्यहरुमा पनि जोड दिन सक्नुपर्छ।

स्वीट्जरल्याण्डको इन्टरल्याकेन जहाँ बलिउड चलचित्रको छायाङ्कन पछि उल्लेख भारतीय पर्यटकहरु बढेको पाईयो। भारतसँगै जोडिएको हाम्रो देशमा कैयौं त्यस्ता सुन्दर ठाउँहरु छन् तर बलिउडको खासै ध्यान केन्द्रित भएको  छैन।

चलचित्रको माध्यमबाट पनि पर्यटन विकासमा टेवा पुग्ने यहाँको प्रयर्टन बिकासबाट सिक्न सक्छौ। यसको लागि पूर्वाधारको विकास सहित सोहि अनुसारको गन्तब्यस्थल बनाउन जरुरी छ। नेपाली चलचित्रको बजार पनि दिनप्रतिदिन बढ्दै गएको छ। मनाङ्, मुस्ताङ्गमा चलचित्रहरु छायाङ्कन हुन थालेपछि त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरु बढेको तथ्याङ्कलाई हामीले भुल्नु हुँदैन।

(  इन्टरल्याकेनको अबलोकन पछि यहाँको पर्यटन बिकासबाट हामीले के सिक्न सक्छौ त ? पत्रकार भगिरथ योगीसँगको कुराकानी पनि हेरौ।