अक्षरयात्राको १६४औं श्रृँखला हलो क्रान्तिका अभियन्ताको घरमा


पोखरा ।‘जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा’ मूल मन्त्र बनाइ नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार संचालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १६४औं श्रृँखला शनिबार हलो क्रान्तिका अभियन्ता समाजसेवी पण्डित स्व. मुक्तिराम तिमिल्सिनाको बाटुलेचौर अवस्थित निवासमा सम्पन्न भयो । बि.सं. १९७१ आषाढमा जन्मेका पण्डितले २००१ सालमा हलो जोतेर परम्परा तोडेका थिए ।

२००४ सालमा विन्ध्यवासिनी मा.वि., के.आइ.सिंह पुल, महेन्द्रगुफा, एयरपोर्ट, पृ.ना. क्याम्पस लगायत स्थापनामा अग्रणी उनी राजनैतिक, शैक्षिक र सामाजिक जागरणका समेत अभियन्ता थिए । को अछूत?, मातृत्व र धर्मपुत्र, गफ, हिन्दु संस्कृति र आधुनिकता लगायतका कृतिको सृजना गर्नुको साथै संस्कृत ग्रन्थको नेपालीमा अनुवाद पनि गरेका थिए ।उनको देहान्त २०४६ चैत्र १९ गते भएको थियो ।

प्रकट पगेनी, दिलीप दोषी, संजिब पौडेल, प्रकाश ज्ञवाली, प्रान्जल, ईशा शाह, गीता तिवारी, बिष्णु वास्तोला, के.आर.ढकाल, लक्ष्मी देवकोटा, संदीप अधिकारी, गणेश शर्मा, ज्वलन्त प्रेमी, सूरज उपाध्याय र हरीबहादुर थापाले तत्स्थानमा रचित सृजना वाचन गरेका थिए ।

नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र स्थानीय व्यवस्थापक मुक्तिराम तिमिल्सिना प्रतिष्ठानका अध्यक्ष मोहन थापाको संयुक्त अध्यक्षतामासम्पन्न उक्त कार्यक्रमको संचालन गजल सन्ध्याका सचिव वसन्त विनोदले गरेका थिए ।