३० हजार स्पेनिसहरु नेपाल पुर्याउने लक्ष्य:-कार्यबाहक राजदूत पौडेल



बार्सिलोना। नेपाली राजदूताबास म्याड्रिडका कार्यबाहक राजदूत हरिहरकान्त पौडेलले ३० हजार स्पेनिस पर्यटकहरुलाई नेपाल भित्राउने लक्ष्य रहेको बताएका छन्। उनले भिजिट नेपाल २०२० को बर्षमा ३० हजार स्पेनिसहरुलाई नेपाल पुर्याउने दूताबासको लक्ष्य रहेको बताएका हुन्।

कास्की समाज स्पेनले नयाँ बर्षको अबसरमा आईतबार बार्सिलोनामा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने,”सन् २०१९ मा २५ हजार र भिजिट नेपाल २०२० मा ३० हजार स्पेनिसहरु नेपाल पठाउने मोटामोटी लक्ष्य रहेको छ। त्यसमा चुक्यौ भने त्यहाँनेर मुल्याङ्कन हुन्छ।” पर्यटन प्रवद्वनका लागि सरोकारवलाहरुसँग छिट्टै बार्सिलोनामा कार्यक्रम हुने उनले बताए। एनआरएनए स्पेन र राजदूताबासको समन्वयमा कार्यक्रम हुने बताईएको छ।

स्पेनको सीप र प्रबिधि र लगानि भित्राउन समेत राजदूताबास गम्भिर रहेको उनले बताए। कार्यबाहक राजदूतको जिम्मेबारी  सम्हालेका पौडेलले भने,”स्पेनको हाईस्पिड रेलको टेक्नोलोजी बिश्वमै उत्कृष्ट मानिन्छ। अहिले नेपाललाई यसको आबश्यकता रहेको छ। यस्ता प्रबिधि भित्राउने बारे छलफल गर्न सक्छौ कि सक्दैनौ त्यसमा तपाईहरुले मुल्याङ्कन गर्नुहोला।”लगानी बिस्तारमा लागि राजदूताबासले हालै म्याड्रिडमा स्पेनिस ब्यापारीहरुसँग छलफल गरेको उनले स्मरण गराए।

स्पेनको केन्द्रिय परराष्ट्र सरकारी अधिकारीहरुलाई नै जानकारी दिएर स्पेनको क्षेत्रीय सरकार क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग भेटबार्ता भएको जानकारी दिए। पौडेल सहितको एक टोलीले सोमबार क्याटालोनियाका परराष्ट्र अधिकारीहरुसँग भेटबार्ता गरेको हो। ५-६ हजारको संख्यामा बार्सिलोनामा नेपालीहरुको बसाई रहेकाले समुदायको हितका बिषयमा परराष्ट्र अधिकारीहरुसँग छलफल भएको दूताबासले जनाएको छ।  

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राजदूताबासले एक बर्षको अवधिमा खासै प्रभावकारी काम गर्न नसकेको गुनासो पोखेका थिए। एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले दूताबासबाट सुरुवातमा संघसँग राम्रो सहकार्य नभएको बताए। तर हाल आएर दूताबास र संघ बीचको सहकार्यद्वारा थुप्रै कार्यक्रमहरु तय भएको समेत सो अवसरमा जानकारी दिए।

दूताबासमा भएका आर्थिक अनियमताको खबरबारे पनि कार्यबाहक राजदूत समक्ष कहिले जिज्ञासा राखेका थिए। यसबारे बोल्दै उनले भने,”सम्मानित सम्बन्धित निकायले अनुसन्धान गरिरहेको मैले पनि सुनेको छु।तर यस बिषयमा धेरै बोल्न मिल्दैन।” यस्तै नयाँ राजदूत नियुक्ति बारे पनि आँफूलाई जानकारी नभएको भन्दै त्यो नेपाल सरकारको क्षेत्राधिकार भित्र पर्ने उनले बताए।

यसैबीच राहदानी बनाउने क्रममा सुरुवातमा दूताबासबाट कमजोरी भएको उनले स्विकार गरे।”मलाई पनि चित्त बुझेको थिएन ,तर हिजोको अबस्थाको कुरा छाडौ। अब कुनै पनि नेपालीलाई राहदानी लगायत कागाजी प्रक्रियामा समस्या छैन।”

कन्सुलर सेवा बारे थप प्रष्ट पार्दै उनले भने,”मैले कार्यबाहक सम्हाले देखि नै पोष्टल सर्भिस सुरु गरिसकेको छु। शंका लागेको खण्डमा वा बुझ्नै पर्ने अबस्थामा मात्र  दूताबासमा बोलाउछौ। तर राहदानी,कागजात प्रमाणिकरण,ट्राभल डकुमेन्ट लगायतका कन्सुलर कामका लागि सयौ किलोमिटर टाढाबाट दूताबास धाउनु पर्दैन।”