रामेश्वर कृषि सहकारीको भ्रमण तनहँुसुरमा


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७, विरौटा रामेश्वर मार्गमा रहेको रामेश्वर कृषि सहकारीको कार्यसमितिले अध्ययन अवलोकन भ्रमण तनहुँको ऐतिहासिक स्थान तनहुँसुरमा सम्पन्न गरेको छ ।

सहकारीका अध्यक्ष लक्ष्मण पोखरेल, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष माधब आचार्य, सहसचिव भोजराज आचार्य, ऋण समिति संयोजक तारानाथ आचार्य लगायतको समुहले स्थानिय अगुवा कृषक के.बि. थापाले गरेका सुन्तला र एवोकाडो खेतीको अवलोकन गरेका थिए ।

कृषक तथा होम स्टे संचालक थापाले लोकल कुखुरा, वाख्रा पाल्नुका साथै ५ सय भन्दा वढि सुन्तलाका विरुवा, सय भन्दा वढि एवोकाडोका विरुवा लगाएको वताए । उनले लामो समयको अध्ययन र अनुसन्धान पछि विषादी रहित सुन्तला खेती गर्न थालेको वताउँदै आफ्ना सन्ततिलाइृ पनि कृषिमा लाग्न प्रेरणा दिदैं आएको वताए ।

रामेश्वर कृषि सहकारीका अध्यक्ष लक्ष्मण पोखरेलले भ्रमण अत्यन्तै फलदायी भएको र सहकारीका सदस्यहरुलाई एक पटक समुहमा भ्रमणको लागि ल्याउने वताए । साथै उनले कास्कीको दक्षिण भेगका निर्मल पोखरी, कृष्तिको भौगोलिक अवस्था र तनहुँसुरको भौगोलिक अवस्था उस्तै रहेको वताए ।

उक्त कृषिका साथै होमस्टेको वसाई, ऐतिहासिक शाह वंशीय दरबारका भग्नावशेषहरुको अवलोकन भ्रमणको सहजीकरण दरबारथोक एड्भरटाईजिङ एजेन्सीका संचालक कृष्ण रानाभाटले गरेका थिए ।