बारा र पर्साका पिडितका लागि स्विट्जरल्याण्डबाट ३ लाख ६० हजार रुपैयाँ सहयोग 


जुरिच। बारा र पर्साका हावाहुरी पिडितका लागि स्विट्जरल्याण्डमा ३ लाख ६० हजार रुपैयाँ (३२८८ स्विस फ्रान्क) सहयोग संकलन भएको छ। गैर आबासीय नेपाली संघ(एनआरएनए) ले सुरु गरेको सहयोग अभियानमा राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले पनि साथ दिदै उक्त रकम संकलन गरेको हो। संकलित रकम केन्द्रमा पठाईसकेको संघले जनाएको छ।

संघले एक भाईबर ग्रुप (हाम्रो स्विस चौतारी) मार्फत स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरुबाट उक्त रकम संकलन गरेको हो। बार र पर्सामा हावाहुरी आए पछि पीडितहरुका सहयोगको लागि संघका अध्यक्ष भूमीराज गुरुङले एक भाईबर ग्रुप “हाम्रो स्विस चौतारी” मार्फत स्वीस निवासी नेपालीहरुलाई सहयोगको अपिल गरेका थिए। स्विट्जरल्याण्डमा बसोबास गर्ने मनकारी नेपालीहरुले यसअघि पनि बिभिन्न कामका लागि सहयोग गर्दै आएका छन्।

दुई साता अघि भीषण हावाहुरीबाट बारा र पर्सामा ठुलो धनजनको क्षति पुगेको थियो। बारा र पर्सा जिल्लामा आएको प्राकृतिक प्रकोपबाट भएकोक्षतिप्रति गैरआवासीय नेपाली संघ गहिरो दुःख प्रकट गर्दै तत्काल राहत बितरण समेत गरेको थियो। संघको आह्ववानमा अहिले पनि बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा रकम संकलन कार्य जारी रहेको छ।