पेरिसस्थित नोट्र ड्याम गिर्जाघरमा आगालागी,अग्लो गजुर र छत भत्कियो



पेरिस। युनेस्कोको विश्व सम्पदामा सूचीकृत पेरिसस्थित विख्यात मध्ययुगीन नोट्र ड्याम गिर्जाघरमा सोमबार राती आगालागी भएको छ। पेरिसको शानको रुपमा परिचित गिर्जाघरमा आगालागी हुँदा त्यसको अग्लो गजुर र छत भत्किएको छ। ढुंगाबाट निर्मित ८५० वर्ष पुरानो उक्त गोथिक शैलीको भवनलाई पूर्ण रूपमा नष्ट हुनबाट भने अग्निनियन्त्रकहरूले जोगाएका छन्।

मध्यकालीन फ्रान्सको वैवभका रूपमा रहेको नोट्र ड्याम अर्थात् आवर लेडी अफ पेरिस लागेको आगो निभाउन ८ घण्टा लागेको थियो। उक्त क्याथोलिक क्याथेड्रलमा लागेको आगो निभाउन ४०० अग्निनियन्त्रकहरु परिचालित भएका थिए। आगो नियन्त्रण गर्ने क्रममा एक जना अग्निनियन्त्रक घाइते भएको बताइएको छ।

स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगो छिट्टै कथिड्रलको छानासम्म फैलियो। कथिड्रलको प्रसिद्ध सुरिलो गजुर भत्केर खस्नु अघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।

सन् ११६० मा काम सुरू गरेर १२६० मा  तयार भएको साढे ८ सय वर्ष पूरानो आफ्नो सम्पदा जलेको हजारौं पेरिसवासीले लामवद्ध बनेर हेरेका थिए। तीमध्ये धेरैका आँखामा आँशु थियो।

आगलागीको कारण भने थाहा हुन सकेको छैन। पेरिसस्थित सरकारी अभियोजनकर्ताको कार्यालयले हाल उक्त आगलागीलाई एक दुर्घटनाका रूपमा लिएर अनुसन्धान थालिएको बताएको छ। अधिकारीहरूले आगलगीको सम्बन्ध उक्त गिर्जाघरमा भैरहेको विस्तृत पुनर्निर्माणको कामसँग हुन सक्ने बताएका छन्।

राष्ट्रपति इमान्युल म्याक्रों देशवासीका नाममा गर्न लागेको सम्बोधन स्थगित गरेर घटनास्थल पुगेका थिए।उनले आफ्नो सरकारले नोट्र ड्यामको पुनर्निर्माणलाई अभियानको रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।

त्यसका लागि उनले फ्रान्सभित्र र बाहिर रहेकाहरूसँग फ्रान्सेलीहरूमा सहयोगको अपिल गरेका छन्। आगो पूर्ण रूपमा निभाइसकिँदा उक्त गिर्जाघरको पुनर्निर्माणका लागि संसारभरीबाट करोडौँ डलर दान दिइने प्रतिबद्धता प्राप्त भएका थिए।

गुसी लगायतका ब्रान्डको उत्पादक केरिङका प्रमुख कार्यकारी अधिकृतले ११३ मिलियन अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको समाचार संस्था एएफपीले जनाएको छ। नोट्र ड्याम जल्दा संसारभरका नेताहरूले फ्रान्सलाई समवेदना पठाएका छन्। – एजेन्सीको सहयोगमा