भवन बिबाद बारे घलेले भने,”पहिले विश्वास गर्‍यौं, अहिले शंका लाग्न थाल्यो”



सिड्नी। गैर आबासीय नेपाली संघ एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले बालुवाटारमा जग्गा किन्दा विश्वासका साथ काम गरेको भएपनि पछिल्लो विवादले भने शंका लाग्न थालेको बताएका छन्। ओसिनिया रिजनल सम्मेलन समापनको क्रममा आयोजित पत्रकार सम्मेलनमा घलेले बालुवाटारको जग्गा खरिद र भवन निर्माणको बारेमा पत्रकारका जिज्ञासाको जवाफ दिएका हुन्।

घलेले भने,” हामी पीडित भएको जस्तो लाग्छ । सबैभन्दा पिर मलाई परेको छ। सबै प्रक्रियाबाट ठीक भएको प्रमाणित भएपछि अन्तिममा साइन गर्ने गरिएको हो। आफूहरुले बालुवाटारमा जग्गा किन्दा पनि त्यही विश्वासका साथ काम गरेका हौ।” पछिल्लो विवादले भने शंका लाग्न थालेको बताउँदै उनले तर पनि सकारात्मक ढंगले अगाडि बढ्ने बताए ।

सरकारका सबै निकाय र वकिलहरुले ठीक छ भनेपछि जग्गा किनेको बताए ।अष्ट्रेलियामा अधिकांश केसहरुमा शतप्रतिशत हामी विश्वास गर्छौं,’ घलेले भने, ‘नेपालमा पनि त्यही नै हुन्छ भन्ने हामीलाई लागेको थियो । अझै पनि लाग्छ । नेपालमा हाम्रो पनि घर छ । अरु सम्पत्ति पनि छ । अब शंका लाग्न थाल्यो । तर पनि सकारात्मक कदम चाल्नुपर्यो ।’

एनआरएनए अध्यक्ष भवन भट्टले बालुवाटारमा जग्गा किन्ने र भवन बनाउने काम गलत ठहर गरिएमा सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरेर जग्गा किनिएको र भवन बनाइएको भन्दै अध्यक्ष भट्टले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष भवन भट्टले भने, ‘यदि सरकारले यो गलत ढंगबाट गयो भन्छ भने त्यसमा हाम्रो जति खर्च भएको छ त्यो सरकारले क्षतिपूर्ति दिनुपर्छ । बकाइदा राजश्व तिरेर, लालपूर्जा लिएर, नगरपालिकाको निर्माणको अनुमति लिएर र भवन सम्पन्नको सर्टिफिकेट लिइसकेको सम्पत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ ?’

कि त जग्गा बेच्ने व्यक्तिबाट क्षतिपूर्ति दिलाउनुपर्ने कि सरकार आफैंले क्षतिपूर्ति दिनुपर्ने भट्टको भनाइ छ । ‘क्याबिनेटबाट डिसिजन गराएरै लिएको चिज हो, फेरि आवश्यक पर्‍यो भने क्याबिनेटसम्म जान्छौं,’ उनले भने, ‘सरकारको जग्गा बेच्ने मान्छे गलत हो नि त । कि सरकारले उसलाई कारबाही गरेर उसबाट हामीलाई क्षतिपूर्ति दिलाउनुपर्‍यो । होइन, यो सरकारले लिन्छ, हामी नै यसको क्षतिपूर्ति तपाईंहरुलाई दिन्छौं भनेर भन्छ भने दिनुपर्‍यो । एउटा डिसिजन त सरकारले लिनुपर्ने हुन्छ ।’