जेठ ९ गते देखि ‘तिर्खा’ मञ्चन हुने, १६ वर्ष माथीकोले मात्र हेर्न पाइने


राजाराम पौडेल, पोखरा- पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गतेबाट मञ्चन हुने भएको छ । आयोजक पोखरा थिएटरले शनिबार पोखरामा पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार नाटक जेठ २५ गतेसम्म निरन्तर मञ्चन हुनेछ । पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुने यो नाटकको यतिबेला रिहर्सल भइरहेको थिएटरले जनाएको छ ।

नाटक ‘तिर्खा’ सन १९२४ मा न्यू ईंगल्याण्डको ग्रामिण परिवेशलाई लिएर लेखिएको दुःखान्त नाटक हो । मातृत्वको अभावले सृजना गर्ने मनोवैज्ञानिक असर, हरेक पात्रहरुको चाहना, त्यो प्राप्तिका लागि गरिने आशक्ति र त्यसले व्यक्ति र समाजमा पार्ने प्रभावलाई नाटकमा देखाउने प्रयास गरिएको छ । झण्डै एक शताब्दी अघि लेखिएपनि यो वर्तमान अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको यस नाटकका निर्देशक चे शंकरले जनाए । यो नाटकको परिकल्पना समेत चे शंकरले गर्दैछन् । राजधानी काठमाडौंमा रहेर नाटकमा जमेका चे शंकरले पोखरेली कलाकारलाई लिएर नाटक गरेका हुन् । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका उनले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।

नाटकमा पोखरेली कलाकारहरु शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ ।

नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । उनले लङ डेज जर्नी इन टु नाइट, वियोन्ड द युनिभर्स, अ विल्डरनेस, आना क्रिष्टी आदी नाटक लेखेका छन् ।
नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेरलाई पनि देखाइने जनाइएको छ । नाटकको विषयवस्तु र प्रस्तुतीले १६ वर्ष मुनिका बालबालिकामा नकारात्मक असर पर्छ कि भनेर उनीहरुलाई नाटक हेर्न प्रतिबन्ध लगाइएको निर्देशक चे शंकरले जनाए ।


पोखरा थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कलाकार प्रकाश घिमिरे, निर्देशक चे शंकर, थिएटरका प्रमुम संरक्षक शंकरप्रसाद कोइराला, चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोलेका थिए ।


शनिबारनै १५ दिने अभिनय कार्यशालामा सहभागी बाबुनानीहरुको नाटक समेत मञ्चन भयो । नाटक पश्चात सहभागी बालबालीकालाई वरष्ठ कलाकार प्रकाश घिमिरेको हातबाट प्रमाणपत्र वितरण समेत गरियो ।

तस्विर ः राजाराम पौडेल