बिश्वभरका काँग्रेस कार्यकर्ताहरुको भेला डेनमार्कमा,शीर्ष नेताहरु आउदै


प्रकाश ढकाल,कोपहेगन

नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ। अागामी जुन २१ तारिख देखि २३ सम्म बिश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु कोपनहेगन आउने भएका हुन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा प्रशिक्षण दिने कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको हो।

नेपाली कांग्रेसका महाधिवेशन तथा महासमितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि तथा महासमिति सदस्यहरू लगायत जनसम्पर्क समितिका अग्रणी कार्यकर्ताहरुलाई काँग्रेसका केन्द्रिय नेताहरुले प्रशिक्षण दिने भएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस उपसभापति तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनका संयोजक विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला, प्रवक्ता विश्व प्रकाश शर्मा,गगन थापा,मिनेन्द्र रिजाल, भिष्मराज आङदाम्वे, धनराज गुरुङ, पुरूषोत्तम दाहाल लगायत केन्द्रिय नेताहरुको उपस्थिती रहने समितिले जनाएको छ।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीले विदेशमा रहेका नेपालीहरुले कुटनितिक नियोग मार्फत मताधिकारको सुनिश्चिताका लागि दबाब सृजना गर्न भेलामा बृहत छलफल हुने बताए। उनले भने,” जनसम्पर्क समितिसँग अावद्व बिभिन्न बिषयमा विज्ञता हासिल गरेका युवाविज्ञहरु छन्। देशको नितिनिर्माणमा उनीहरुको प्रभावकारी रहन्छ। यस बिषयमा पनि व्यापक छलफल गर्नेछौ।” यसैगरी नेपाली काँग्रसको समावेशी नयाँ विधानको बारेमा कार्यक्रर्तालाई जानकारी गराउने कार्कीले बताए।

कार्यक्रमलाई सफल वनाउन नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापतिको संयोजकत्वमा नेपाली पुर्व सभापतिहरु  नबिन पौडेल, नवराज अाचार्य(नविन), रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुबेदी वर्तमान महामन्त्री यादव बस्नेत र दिपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको छ। यस्तै अन्य २० उपसमितिहरु बनेका छन्।

जुनको तेस्रो साता अर्थात् जुन २१, २२ र २३ तारीख डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना हुने तीन दिने प्रशिक्षण कार्यक्रम कोपेनहेगनको भेष्टरपोर्टमा रहेको रिचमण्ड होटलको सभागृहमा कार्यक्रमको हल व्यवस्थापन गर्नुका साथै विश्वभरबाट अाउने डेलिगेट्सहरुका सहजताका लागि त्यही होटलमानै वस्ने ब्यवस्था गरिएको हल तथा होटल व्यावस्थापन उपसमिति संयोजक रमेश काफ्लेले बताए। समरको समयमा कोपेनहेगनमा पर्यटकको चाप हुने हुँदा यथासक्य चाँडो कार्यक्रममा सहभागिता जनाउने डेलिगेट्सहरुलाई हल तथा होटल व्यावस्थापन उपसमिति सँग समन्वय गरी होटल बुक गर्न अनुरोध गरेका छन।

कार्यक्रम हुने होटल

प्रशिक्षण कार्यक्रम कोपेनहेगनको भेष्टरपोर्टमा रहेको रिचमण्ड होटलको सभागृहमा हुने भएको छ। संसारभरबाट ३० भन्दा बढि मुलुकहरुबाट काँग्रेस कार्यकर्ताहरु कोपेनहेगन पुग्ने अपेक्षा गरिएको छ।