गुप्तेश्वर गुफामा हरेक सोमबार नियमित आरती


पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर महादेव गुफामा हरेक सोमबार आरती सेवा सञ्चालन गरिएको छ ।

विश्वशान्तिको कामनासहित पारिवारिक सुख, शान्ति, पितृउद्वारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवामा तीन गुरुद्वारा शुद्ध गाईको घ्यू, कपुर, ज्योतिलगायतका पूजाका सामग्रीको माध्यमबाट गरिने आरती विशेष गरी भगवान् शिव, विष्णु तथा देवी दुर्गा मन्त्र वाचनद्वारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

गत अक्षय तृतीयाको अवसर पारेर शुरु गरिएको आरतीको पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले शुभारम्भ गरेका थिए । विसं २०५१ देखि पर्यटकको लागि खुला गरिएको गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्य पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार टिकट बिक्रीबाट वार्षिक तीन करोडभन्दा बढी आम्दानी गर्दै आएको गुफाले आरती सञ्चालनसँगै धार्मिक पर्यटकको संख्यामा वृद्धि हुने विश्वास लिइएको छ ।

विश्व प्रशिद्ध पशुपतिनाथ, भारतको काशीमा लामो समयदेखि निरन्तर आरती सेवा सञ्चालन भए पनि पछिल्लो समय भने जनकपुरको जानकी मन्दिर जनकपुरधाम, तनहुँको देवघाट, पोखराको ताल बाराहीघाट, सदा शिव हरिहर मन्दिर हुँदै गुप्तेश्वर गुफामा शुरु गरिएको छ ।