बार्सिलोनामा सडक दुर्घटना :-अल्पआयूमै अस्ताए पुजन


बार्सिलोना। स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका पुजन कोईरालाको शनिबार राति दुर्घटनामा परी अल्पआयूमै ज्यान गएको हो।

साईकलमा सवार कोईरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन्। 

होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिडेका उनि बार्सिलोना स्थित ग्रानभिया र बाल्मेस जक्सनमा दुर्घटनामा परेका थिए। ५ दिन अघि मात्र उनले साईकलबाट डिलीवरी गर्ने नयाँ काम सुरु गरेको बताईन्छ। 

कोईरालाको परिबारमा आमा र दुई दिदिबहिनीहरुमात्र रहेका छन्। यसअघि पितालाई गुमाईसकेका उनि परिबारका एक्ला छोरा थिए।दुई बर्षअघि अध्ययनका लागि जर्मनी आएका भएपनि, स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिना यता उनि स्पेनमै थिए। 

उनिसँगै बस्दै आएका प्रदिप पौडेल अकल्पनीय घटनाले आँफू दुखि भएको बताउँछन्। उनले सम्झना गर्दै भने,”अस्ति भर्खर जस्तो लाग्छ भाईलाई मैले नै स्टेशन लिन गएको तर आज टाढिए घटनाले निकै मर्माहत बनाएको छ। 

एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिबारलाई जानकारी दिईसकेको बताएका छन्। उनले भने,” शव ब्यबस्थापन र कानुनि प्रक्रियाकालागि दूताबास र कन्सुलरमार्फत प्रक्रिया अघि बढिसकेको छ,अर्कोतर्फ परिबारकालागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेका छौ।” 

एनआरएनए स्पेनको आकस्मिक बैठकमा सहभागीहरु

घटनापछि बार्सिलोनासिटी काउन्सिलले पनि दुख ब्यक्त गर्दै मृतकका परिबारप्रति समवेदना प्रकट गरेको छ।