नेपालको पर्यटन प्रवर्द्धन गर्दै डेनमार्कमा गणतन्त्र दिवस तथा सगरमाथा दिवस मनाइयो ।


प्रकाश ढकाल
कोपनहेगन,

नेपाली दुतावास डेनमार्कले गणतन्त्र दिवस तथा सगरमाथा दिवस मे २९ को अवसर पारेर डेनमार्कको राजधानी कोपनहेगनको व्यस्त स्थानमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली राजदूतावासको प्रमुख आयोजनामा नेपाल पर्यटन वोर्ड तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको सहयोग र सहकार्यमा पन्चेबाजा, लाखे नाच सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो । पन्चे बाजा घन्कदा व्यस्त सडकमा छेउमा विदेशी पर्यटक तथा स्थानीय डेनिस नागरीकहरुको घुइंचो लागेको थियो ।

ऊक्त कार्यत्रममा डेनमार्क स्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, सरकारी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरु र डेनमार्कमा बसोवास गर्ने नेपाली जनसमुदायको ठुलो उपस्थिति तथा सहभागिता रहेको थियो ।

कार्यक्रमको शुरुवातमा सहभागी सबैलाई स्वागत तथा सम्मान गर्दै डेनमार्कका लागि नेपाली राजदुत महामहिम श्री युवनाथ लम्सालले दुबै दिवसहरुको महत्व, आर्थिक विकासमा नेपालले दिएको प्राथमिकता, नेपालमा लगानी र पर्यटनको अवशर सम्बन्धमा प्रकाश पार्नुभएको थियो । दुतावासले हरेक वर्ष यस्तै कार्यक्रमको आयोजना गर्ने बताउंदै राजदुत लम्सालले सहभागी सबैलाई धन्यवाद समेत दिनु भएको थियो ।

कार्यक्रममा नियोग उपप्रमुख डोरनाथ आर्यालले यो पटक व्यवस्थापकीय पक्ष निकै सवल रहेकोले कार्यक्रम सफल भएको बताउनु भयो ।

आफ्नो देशको कार्यक्रम भएकोले सहभागी सबै नेपालीहरु आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका थिए भने विदेशीहरु तालमा ताल मिलाउंदै निकै रोचक पुर्वक कार्यक्रमको अवलोकन गरेका थिए ।

साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास डेनमार्कले गरेको थियो भने डेनमार्क स्थित विभिन्न संघ तथा संस्थाहरुले आफ्नो तर्फबाट सहयोग गरेका थिए ।

कार्यक्रममा नेपालका विभिन्न संस्कृति र भौगोलिक प्रतिनिनित्व हुने गरी पन्चे बाजा तथा लाखे, झागड, शेर्फा, तामाङ्ग, मारुनी, कुमारी, लोक नृत्यहरु सहितका कार्यक्रमहरु गरिएको थियो । यी नृत्यहरु तथा दृश्यहरुको निकै रुचीपुर्वक विदेशीहरुले चाख मानेर अवलोकन गरेका थिए ।

कार्यक्रम स्थलमा नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी सामाग्रीहरु निशुल्क वितरण गरिएको थियो जसमा विदेशीहरुले चाख पुर्वक नेपाल सम्बन्धी सोधपुछ गरेका थिए ।

कार्यत्रमस्थल विभिन्न पर्यटन प्रवर्द्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त पर्यटन सामाग्रीहरु वितरण गरिएको थियो । यो कार्यक्रमलाई नेपाल पर्यटन वोर्ड र डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्चरजनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह आदिले प्रत्यक्ष वा अप्रक्षय रुपमा सहयोग थिए भने तस्विर र भिडियो खिच्नको लागि गुरु प्रोडक्सन ले सहयोग गरेको थियो ।