शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग


पोखरा । गणतन्त्र दिवसको अवसर पारेर कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउराली स्थित श्री बहादुरे माध्यमिक विद्यालयका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक सहयोग गरिएको छ ।

गुड नेवर्स इन्टरनेशलन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालको आयोजना तथा श्री बहादुरे माध्यमिक विद्यालयको सहकार्यमा विद्यालयमा अध्ययनरत अति विपन्न ४१ प्रायोजित बालबालिकाहरुका लागि शैक्षिक सामग्री र विद्यालय पोशाक सहयोग गरिएको छ ।

कार्यक्रममा नौलो घुम्ती नेपालका प्रथम उपाध्यक्ष योगराज पौडेलले नौलो घुम्ती नेपालको परिचय सँगै गर्दै आइरहेका क्रियाकलापहरुका बारेमा जानकारी दिदैँ यस शैक्षिक सामग्री सहयोगले बालबालिकाहरुको शैक्षिक गुणस्तरमा थप टेवापुग्ने र यस्ता सहयोगका कार्यक्रमहरु नियमित रुपले हुने वताए ।

गुड नेवर्स इन्टरनेशनल नेपालका कास्की जिल्ला संयोजक टुपेन्द्र खुलालले बालबालिकाहरुले आजको दिनमा मिहिनेत गरी भविष्यमा एक असल नागरिक बनी देशको सेवामा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै नौलो घुम्ती नेपालका महासचिव बद्रीविनोद खनालले बालबालिकाहरुलाई पनि शिक्षाको महत्वका बारेमा जानकारी दिदै विद्यार्थी संख्या वृद्धिका लागि सामुदायिक विद्यालयहरुले पनि निजी विद्यालयहरु जस्तै गुणस्तरीय शिक्षा दिनमा जोड दिनुपर्ने बताए र यसका लागि संस्था सदैव तयार रहेको बताए ।

कार्यक्रमको समापनका क्रममा विद्यालयका प्रधानाध्यपक रामप्रसाद पौडेलले विद्यालयमा वार्षिक रुपले गर्दै आइरहेको शैक्षिक सामग्री सहयोग बाहेक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि यस संस्थाले पुस्तकालय, सूचना तथा संचार प्रविधि मैत्री आईटिसी शिक्षा व्यवस्थापनका लागि स्मार्ट क्लास रुम परियोजना, प्रारम्भिक बालविकास केन्द्रका लागि शैक्षिक सामग्री तथा तालिम जस्ता सहयोगले विद्यालयको दैनिकी पठन पाठनमा निकै नै सहज भएको जानकारी दिए ।