अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणमा


लन्डन – बेलायतको तीन दिने राजकीय भ्रमणका सिलसिलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लन्डन आइपुग्नु भएको छ ।
लन्डन ओर्लानासाथ राष्ट्रपति ट्रम्पले लन्डनका मेयर सदिक खान विरुद्ध घृणामिश्रित आलोचना गर्दै ट्वीट समेत गर्नुभएको छ । बिरोधका बीच राष्ट्रपति ट्रम्पलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।
राष्ट्रपति ट्रम्प बेलायतकी महारानी एलिजाबेथ द्वितीयले आयोजना गर्नुहुने राजकीय रात्रिभोजमा सहभागी हुनु हुनेछ ।
राष्ट्रपति ट्रम्पले गर्नुभएको ट्वीटमा अमेरिकाको महत्वपूर्ण साझेदार मुलुक बेलायतको भ्रमण गर्दा आफूलाई लन्डनका मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको बताउनुभएको छ ।
यी दुबै नेताबीच बेलाबखत एकअर्काका नीतिमाथि ट्वीटर मार्फत सार्वजनिक रुपमै आरोप प्रत्यारोप हुने गरेको छ ।
ट्रम्पले भन्नुभएको छ, “खानले लन्डनका बारेमा चिन्ता लिए पुग्छ, मेरा बारेमा होइन ।” खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गर्नुभएको थियो ।
राष्ट्रपति ट्रम्पको भ्रमणका क्रममा सोमबार र मंगलबार लन्डनमा दुईवटा विशाल प्रदर्शनका तयार भएका छन् ।