सडक दुर्घटनामा परी पोर्चुगलमा एक नेपालीको मृत्यु


भगवान गिरी, लिस्बन। पोर्चुगलमा भएको एक सवारी दुर्घटनामा नेपालीको ज्यान गएको छ । मुसीकोट नगरपालिका–६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको पोर्चुगलको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमाशुक्रबार सवारी दुर्घटनामा परी ज्यान गएको हो ।

मिल्फन्तोस लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा पर साइकलमा सवार शर्मा रिजाललाई शुक्रबार स्थानीय समयानुसार राति ९:३० बजेतिर तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए । लिस्बनमै रहेका उनका दाजु अमृतले दिएको जानकारी अनुसार, गम्भीर घाइते रमेशकुमारको सोही राति उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

शर्मा एक वर्षअघि मात्रै पोर्चुगल आएको दाजु अमृतले जानकारी दिए ।उनको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।एनआरएनए पोर्चुगलका अध्यक्ष कुवेर काकीृले दाहसंस्कारका लागि आवश्यक कानूनी प्रक्रिया सुरु गरिएको बताए ।रोजगारी तथा अध्ययनका लागि नेपालीहरु पोर्चुगल जाने गरेका छन् । सन् २०१९ को पाँच महिनाकै अवधिमा यहाँ रहेका ४ नेपालीले ज्यान गुमाएका छन् ।