पोखरामा केन्दो खेलको प्रशिक्षण सुरु


पोखरा – नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिको आयोजनामा मंगलबारबाट पोखरामा केन्द्रो खेलको खेलाडी प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा ३० जना स्कुलमा अध्ययनरत विद्यार्थी सहभागी बनेका छन् । जापानी खेल केन्दोको बेग्लै महत्व रहेकोले यो खेलमा नयाँ खेलाडी उत्पादन गर्ने हेतुले प्रशिक्षण सुरु भएको हो । पोखरा लर्नस एकेडेमीको सभाहलमा आयोजित प्रशिक्षण ४ दिन सम्म चल्नेछ ।
तालिममा फस्ट अन्तराष्ट्रिय मेडलिष्ट अमित चौधरी र अन्तराष्ट्रिय मेडलिष्ट खेलाडी दिपेश डंगोलले सहजीकरण गर्ने नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिका अध्यक्ष विधान गौतमले जनाए । गण्डकी प्रदेशमा केन्दो खेलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गर्न आफुहरुले लक्ष्य रहेको अध्यक्ष गौतमले बताए । केन्दो खेलमा लाग्न खोज्ने खेलाडीले छोटो समयमानै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने मौका पाउने नेपाल ईआइदो एण्ड केन्दो संघ कास्की जिल्लाका अध्यक्ष महेश्वर रिमालले बताए । चार दिने तालिममा सहभागीलाई केन्दो सम्बन्धि वेसिक ज्ञान प्रदान गरी उनीहरुलाई खेल्न सक्ने बनाइने नेपाल ईआइदो एण्ड केन्दो संघका केन्द्रिय सचिव तथा केन्दो खेलका प्रमुख प्रशिक्षक अमित चौधरीले बताए । चौधरी केन्द्रोको थर्ड डन प्राप्त गर्ने पहिलो खेलाडी हुन् । नयाँ खेलको बारेमा जानकारी प्राप्त गरी अगाडी बढ्न पाउने भएपछि सहभागीहरु पनि उत्साहित छन् ।


जापानीज खेल केन्दो वि.स. २०५८ मा नेपालमा भित्रिएको हो । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिन्छ । मार्सल आर्ट सम्बन्धि यो खेल तर्फको आर्कषण नेपालमा पनि बढ्दै गएको नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिका सचिव राजाराम पौडेलले बताए । गतवर्ष थाइल्याण्ड तथा भियतनाममा भएको केन्दो खेल प्रतियोगीतामा नेपालले अन्तराष्ट्रिय पदक जितेको थियो ।