प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री फिलिपेबीच भेटवार्ता


पेरिस – प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। दुई समकक्षीबीच बिहिबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटबार्ता भएको हो।

नेपाल र फ्रान्सका बीचको कुटनीतिक सम्बन्ध औपचारिक ढंगले स्थापना भएको ७० बर्ष पूरा भएको सन्दर्भमा फ्रान्सको भ्रमण गरेका प्रधानमन्त्री ओलीले दुईदेशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बिषयमा छलफल गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले बिहिबार दिउँसो पेरिस स्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। ओलीले हेर्न लायक मुलूक रहेको भन्दै नेपाल भ्रमण गर्न फ्रान्सेली नागरिकहरुलाई अनुरोध गरे।

उनले बुधबार फ्रान्सेली ब्यबसायीहरुसँग पनि भेटघाट गरेका थिए। राजनीतिक स्थायित्वका साथै कानुनी जटिलताको अन्त्य भएको भन्दै नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले ब्यबसायीहरुलाई आग्रह गरेका हुन्।