प्रवासमा रहेका कांग्रेस कार्यकर्ताहरुको बहसमूलक भेला हो : कार्की


बार्सिलोना – नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा शुक्रबारदेखि सुरु हुँदैछ । कोपहेगनको भेस्टरपोर्टमा अवस्थित रिचमण्ड होटलमा तीन दिनसम्म चल्ने भेलामा विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरुले भाग लिँदैछन् ।

पार्टीको केद्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको हो । डेनमार्क भेलालाई नै केन्द्रित गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा कांग्रेस नेताहरुले छुट्टै छलफल गर्दै देउवा इत्तरका नेताहरुले भेला बहिष्कार गर्ने चर्चासमेत चल्यो ।

आखिर के हुँदै छ डेनमार्क भेलामा ? को–को नेताहरु सहभागी बन्दैछन् ? डेनमार्क भेलाको खास उद्देश्य के हो ? प्रस्तुत छ, यसैको सेरोफेरोमा नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीसँग गरेको कुराकानी –

कांग्रेसहरुको भेला डेनमार्कमा नै किन गर्नुभयो ?

नेपाली जनसम्पर्क समिति डेनमार्कले सन् २०१८ जनवरीमा एक बैठकबाट बिश्वस्तर वा युरोपस्तरको कार्यक्रम गर्ने निर्णय गर्दै पार्टीलाई पत्र पठायो । यसबारे युरोपका विभिन्न देशका जनसम्पर्क समितिहरुसँग छलफल र सहकार्य पनि ग¥र्यांै । जनसम्पर्क समितिहरुको भूमिकाबारे केन्द्रीयतहसम्म अझ राम्रो जानकारी होस् भनेर नै कार्यक्रम आयोजना गरिएको हो ।

यो कार्यक्रम कुनै पक्ष वा विपक्षले दिएको वा कुनै पक्ष सहभागी बन्ने वा नबन्ने भन्दा पनि समग्र नेपाली कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ ? प्रवासमा रहेका कांग्रेस कार्यकर्ताहरुको छलफल र बहसमूलक भेला हो ।

तर, डेनमार्क भेला हुँदै गर्दा कतिपय जनसम्पर्क समितिहरु बञ्चित छन् नि ? कसैलाई सहभागी गराउने, कसैलाई रोक्ने किन ?

कतिपय जनसम्पर्क समितिहरु बञ्चित छन् भन्ने सवालमा जनसम्पर्क समिति डेनमार्क र पार्टी नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठानसँग कुराकानी भएको हो । प्रतिष्ठानले चिठी पठाउन केन्द्रसँग लिष्ट माग्दा बेल्जियम, अष्ट्रेलिया, क्यानाडा र जापानमा विवाद देखिएका कारण पत्राचार नगरिएको हो । एउटा पक्ष बोलाउँदा अर्को रिसाउने, भेलामा बोलाउँदा एउटालाई मात्र आधिकारिता दिए जस्तो देखिने र त्यसले झन् विवाद आउने भएकाले यसो गरिएको हो । त्यस्ता समितिहरुको हकमा भने महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई व्यक्तिगतरुपमा निमन्त्रणा गरिएको छ । अन्यको हकमा समितिलाई नै पत्र काटेका छौं ।

तर, यो कार्यक्रमलगत्तै नेपाली कांग्रेसको जनसम्पर्क समिति विभाग गठन गरेर, विभाग संयोजक नै विवादित मुलुकहरुमा पुगेर सम्बन्धित सबैसँग छलफल गरी पार्टीको केन्द्रीय समितिमा रिपोर्ट प्रस्तुत गर्ने योजना छ । त्यहीँबाट नै अन्तिम टुङ्गो लगाउने तयारी थालिएको छ । जनसम्पर्क समिति डेनमार्कले त भेलाको संयोजन, व्यवस्थापन र सहजीकरण मात्रै गरेको हो ।
तपाईलाई भेला रोक्न वा स्थगनका लागि केन्द्रीयस्तरका नेताहरुबाट कुनै दबाव आयो कि ?

मैले त त्यस्तो दबाव झेल्नुपरेन । मलाई कसैले पनि कार्यक्रम रोक्न वा स्थगनका लागि भनेन । तर, कता–कता मिडियामा आउँदा कोही नेता जाने, कोही नजाने भन्दै नेताहरुवीचमा नै अन्योल भएको मैले देखें ।

तर, समग्ररुपमा भन्नुपर्दा यो नेपाली कांग्रेसको कार्यक्रम हो, नेपाली जनसम्पर्क समितिहरुको हितका लागि छलफल र बहस हुन्छ । यहाँ कुनै नेताको पक्ष वा विपक्ष भएर आउने वा नआउने भन्ने हुँदैन ।
तर, देउता इत्तर नेताहरु भेलामा नआउने भन्ने चर्चा त थियो नि ? कुन–कुन नेताहरु सहभागी बन्दैछन् ?

उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल कोपेनहेगन आइपुग्नुभएको छ । महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. रामशरण महत, अनुशासन समिति संयोजक भीष्मराज आङदम्बे, केन्द्रीय सदस्य धनराज गुरुङ, केन्द्रीय सदस्य गोविन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, महिला नेता प्रतिमा गौतम लगायतको भिसा र टिकट कन्फर्म भएको छ । उहाँहरुजून २० तारिख विहीबार बिहान ७ बजे कोपेनहेगन एयरपोर्टमा आउँदै हुनुहुन्छ । उहाँहरु सबै आउँदै हुनुहुन्छ । कोही पक्षका नेताहरु आउने÷नआउने भन्दा पनि सिङ्गो कांग्रेस पार्टीका नेताहरु सहभागी बन्दै हुनुहुन्छ ।
डेनमार्कजस्तो महंगो देश, त्यसमा पनि यतिधेरै नेता, कार्यकर्ताहरु तारे होटलमा बस्दै हुनुहुन्छ । तपाईहरुको खर्चको स्रोत के हो ?

२७ देखि ३० वटा देशका जनसम्पर्क समितिहरुका ९० देखि १२० जना प्रतिनिधिहरुको उपस्थिति हुने मेरो अनुमान छ । सहभागी प्रतिनिधिहरुले खाने, बस्ने र टिकटको खर्च आफंैले ब्यहोर्नुपर्ने केन्द्रले परिपत्र गरेको हुँदा व्यवस्थापनका लागि सहज भएको छ । तर, प्रतिनिधिहरुलाई मर्का नपरोस् भनेर हामीले एक सय युरोमा ५ छाक खाना, चिया, कफीको व्यवस्था गरेका छांै । जसका कारण प्रत्येक प्रतिनिधिको ३ देखि ४ सय युरोसम्म खानाबाट वचत हुन्छ । र, केन्द्रीय नेताहरुले पनि आ–आफ्नो टिकट र खर्च आफंै व्यहोर्नुहुन्छ । यस्तै, हामीले कार्यक्रम व्यवस्थापनको सहजताका विभिन्न २० वटा उपसमितिहरु बनाएर जिम्मेवारी दिएका छांै ।

भेलाको मुख्य उद्देश्य के हो ? के–कस्ता छलफल गर्दैहुनुहुन्छ ?

स्क्याडिनेभियन क्षेत्रमा रहेको समाजवादी राष्ट्र डेनमार्क जसले प्रजातान्त्रिक समाजवादको सफल प्रयोग कसरी गरेको छ । यहाँबाट हामीले के सिक्न सकिन्छ त ? पार्टीलाई अझ व्यावहारिकरुपमै प्रजातान्त्रिक समाजवादी पार्टीका रुपमा कसरी अगाडि बढाउन सकिएला ? आर्थिक, सामाजिक रुपमा विपन्न र पिछाडिएका जनताको जीवनस्तरलाई माथि उठाई देशलाई समृद्धिको दिशामा कसरी अगाडि बढाउन सकिन्छ ? यिनै विषयहरुमा वृहत छलफल गर्नेछांै ।

समाजवादी राष्ट्रहरुको डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् ? नेपालको, समृद्धिमा विदेशबाट कसरी योगदान दिन सकिन्छ ? यी विभिन्न विषयहरुमा फरक–फरक सेसनहरु बनाएर छलफल गर्दैछौं ।

साथै नेपाली जनसम्पर्क समितिहरुवीचको अन्तरसम्वन्ध र विदेशमा बस्ने नेपालीहरुले आफ्नो मताधिकारको प्रयोगका बारेमा राजनीतिक नेतृत्वसँग छलफल गर्नेछौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई अझ बलियो र सुदृढ कसरी बनाउन सकिन्छ भन्ने बारे पनि बहस गर्नेछौं । र, नेपाली कांग्रेसको महासमिति बैठकबाट पारित समावेशी विधानजस्ता महत्वपूर्ण विषयहरुमा पनि केन्द्रीय नेतृत्वहरुसँग जिज्ञासा राख्नेछौं ।

तपाई डेनमार्कमै बस्नुहुन्छ, स्क्याडिनेभियन राष्ट्रहरुको समाजवादबाट कांग्रेसले के सिक्न सक्ला ?

विश्वमा १७/१८ शताब्दीतिर दुई किसिमका बैचारिक धारहरुको उदय भयो । एउटा धार जसले उदार लोकतन्त्रको पक्षपातीका रुपमा आफूलाई उभ्यायो । वेलायत, फ्रान्स, अमेरिका जसले पुँजिवादी धारलाई अंगाले । अर्कोतर्फ रुस, पूर्वी युरोप, जर्मन लगायतका देशहरुले कम्न्युष्ट विचार अँगाले । यी दुबै धारहरुले आफूलाई एक अर्काको विकल्पका रुपमा प्रस्तुत गरे ।

तर, विश्व राजनितिमा यी दुबै धारले मानव विकासको क्रमलाई निरन्तरता दिन सकेनन् । न त साम्यवादी विचारधारा बोकेर हिँडेका कम्युनिष्टहरु साम्यवादी चरित्रमै रहन सके, न त उदार लोकतन्त्रका पक्षपातीहरु उदार रुपमै रहन सके । यसर्थ कम्युनिष्ट विचारधाराबाट मात्रै मानव विकास क्रम अगाडि बढ्दैन भन्ने कुरा सोभियत संघको विघटन, पूर्वी युरोपको कम्युनिष्ट शासनको अन्त्य र पछिल्लो २÷३ दशकमा चीनको परिवर्तित उदारवादी अर्थनीतिबाट पनि प्रष्ट हुन्छ ।

साथै उदार लोकतन्त्रका हिमायती बेलायत युरोपियन युनियनबाट बाहिरिनु, अमेरिकी बोर्डरमा कडाइ गर्दै लानु, शरणार्थीहरु माथि कडाइ गरिनु जस्ता व्यवहारहरुले उदार लोकतन्त्रको चरित्रलाई कदापि पनि समर्थ गरेको जस्तो देखिँदैन । विश्वमा हाल मुख्य गरी तीन किसिमका बैचारिक धारहरु पुँजीवाद, समाजवाद र कम्युनिष्ष्ट विचारधाराका माध्मयबाट बैचारिक एवं नीतिगत रुपमा राज्य व्यवस्था सञ्चालनमा छन् । अमेरिका, बेलायतजस्ता राष्ट्रले पुँजीवादी धारको नेतृत्व गरेका छन् भने चीनले कम्युनिष्ट धारको नेतृत्व गरेको छ ।

स्क्याडिनेभियन राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, नर्वे र स्वीडेनले समाजवादी धारको नेतृत्व गरेका छन् । समाजवादी विचारधाराले समानता र स्वतन्त्रता एउटै रथका दुईपांग्रा हुन् । यसलाई एक अर्काको विकल्पको रुपमा लिन हुँदैन, समानता र स्वतन्त्रतालाई मिलाएर राज्यको सामाजिक चरित्रलाई निर्माण गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।

समाजबादले व्यक्ति, समाज र राज्यले जान सक्ने अधिकार क्षेत्रको स्पष्ट व्याख्या गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । समाजबादले व्यक्तिको हक अधिकार र व्यक्तिगत स्वतन्त्रतालाई राज्यले रक्षा गर्दै शिक्षा, स्वास्थ, पूर्वाधार बिकास, सामाजिक सुरक्षा, राज्यको सुरक्षा र महत्वपुर्ण लगानि जस्ता महत्वपुर्ण क्षेत्रहरु पूर्ण रुपमा राज्यको नियन्त्रणमा हुनु पर्दछ भन्ने मान्यता राख्छ । अब यी तीन विचाधारालाई अँगाल्ने राष्ट्रहरुको समानता अबस्था, स्वतन्त्रता, लोकतन्त्र, गरिब र धनीवीचको दुरी, भष्ट्राचारको अवस्था, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण कुराहरुको अवस्थालाई विश्लेषण गरेर त्यसका आधारमा कुन विचाधारको माध्यमबाट मानव बिकासलाई जीवन्तता दिन सकिन्छ भन्ने प्रष्ट हुन्छ ।

साथै यी स्क्याण्डनेभियन क्षेत्रका समाजवादी राष्ट्रहरुमा भ्रष्टचार करिब शुन्य अबस्थामा हुनु, गरिब र धनि बिचमा खासै त्यस्तो अन्तर नहुनु, अन्य देशको तुलनामा यहाँका जनताहरु बिश्वकै खुसी र सुखी मान्छेको रुपमा मानव बिकास सुचांकमा सुचीकृत रहनुले पनि समाजवादी विचारधाराले व्यक्तिको स्वतन्त्रता र समानतालाई सन्तुलित रुपमा मिलाएर लान सक्छ भन्ने कुरा समाजवादलाई आफ्नो आदर्श मान्ने नेपाली कांग्रेसले गहिरिएर बुझ्न जरुरी छ । यीनै विषयमा यस कार्यक्रममा गहन छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया