काँग्रेसको बिश्वभेला सफल भएकोमा डेनमार्कवासी अत्यन्तै खुशी छौं


वीरेन्द्रसिंह कार्की, सभापति, नेपाली जनसम्पर्क समिति डेनमार्क
सबैभन्दा मुख्य कुरा त मान्छे आफैमा पूर्ण हुँदैन । त्यस्तै संस्थाहरुले गरेका काममा पनि एकदमै राम्रो शत प्रतिशत सफल भयो भन्न मिल्दैन । कामहरु गर्दै जाँदा कमी कमजोरीहरु हुन्छन् । तर, त्यताको पाटोलाई हेर्ने भन्दा पनि सहभागीहरु सबैलाई कसरी एक्टिभ रुपमा प्रस्तुत गर्न सक्यौं त ? यो महत्वपूर्ण हो । हामीले त्यसलाई बढी फोकस गरेका थियौं ।

विश्वभरबाट पाल्नुभएका प्रतिनिधिहरुमध्ये तीन दिनको सेसनमा करिव १०३ जना प्रतिनिधिहरुले केन्द्रीय नेताहरु माझ आफ्नो धारणा राख्ने मौका पाउनुभयो । मात्र ४२ दिनको तयारीमा केन्द्रबाट आउने नेताहरुको भिसा प्रक्रियादेखि लिएर होटल, खाना व्यवस्थापन सबै पक्षको व्यवस्थापन गर्न सफल भयौं ।

डेनमार्कबासी नेपालीले गौरव गर्नैपर्छ, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले समेत विदेशी भूमिमा ग्लोबल सम्मेलन गर्न नसकेको परिप्रेक्ष्यमा नेपाली जनसम्पर्क समिति डेनमार्कले सहजरुपमा कार्यक्रमको संयोजन गर्न सफल भयो । केन्द्रीय नेताहरुले समेत यसको प्रशंसा गर्नुभएको छ । साथै, विभिन्न देशका प्रतिनिधिहरुले पनि उच्च प्रंशसा गर्नुभएकाले हामी अत्यन्तै खुशी छौं ।

नेपालबाट प्रशिक्षण दिन आउनुभएका नेताहरुले समेत स्क्याडिनेभियन क्षेत्रमा भएको समाजवादको मोडेलबारे बुझ्ने अवसर पाउनुभएको छ । डेनमार्कमा सोसल डेमोक्रेट पार्टी कसरी निर्माण भएको छ त ? यसले डेमोक्रेटिक सोसलिज्मलाई कसरी व्यवहारिक रुपमा प्रयोग गरेको छ त ? यी विषयहरु निकै रोचक थिए ।

डायस्पोरामा रहेका नेपालीहरुलाई कसरी राष्ट्रको समृद्विसँग जोड्न सकिन्छ भन्ने बारेमा पनि हामीले गहन छलफल गर्‍यौं । यो असाध्यै उपलब्धिमुलक रह्यो ।

विश्वमा १७/१८ शताब्दीतिर दुई किसिमका बैचारिक धारहरुको उदय भयो । एउटा धार जसले उदार लोकतन्त्रको पक्षपातीका रुपमा आफूलाई उभ्यायो । वेलायत, फ्रान्स, अमेरिका जसले पुँजिवादी धारलाई अंगाले । अर्कोतर्फ रुस, पूर्वी युरोप, जर्मन लगायतका देशहरुले कम्न्युष्ट विचार अँगाले । यी दुबै धारहरुले आफूलाई एक अर्काको विकल्पका रुपमा प्रस्तुत गरे ।

तर, विश्व राजनितिमा यी दुबै धारले मानव विकासको क्रमलाई निरन्तरता दिन सकेनन् । न त साम्यवादी विचारधारा बोकेर हिँडेका कम्युनिष्टहरु साम्यवादी चरित्रमै रहन सके, न त उदार लोकतन्त्रका पक्षपातीहरु उदार रुपमै रहन सके । यसर्थ कम्युनिष्ट विचारधाराबाट मात्रै मानव विकास क्रम अगाडि बढ्दैन भन्ने कुरा सोभियत संघको विघटन, पूर्वी युरोपको कम्युनिष्ट शासनको अन्त्य र पछिल्लो २÷३ दशकमा चीनको परिवर्तित उदारवादी अर्थनीतिबाट पनि प्रष्ट हुन्छ ।

साथै उदार लोकतन्त्रका हिमायती बेलायत युरोपियन युनियनबाट बाहिरिनु, अमेरिकी बोर्डरमा कडाइ गर्दै लानु, शरणार्थीहरु माथि कडाइ गरिनु जस्ता व्यवहारहरुले उदार लोकतन्त्रको चरित्रलाई कदापि पनि समर्थ गरेको जस्तो देखिँदैन ।

 विश्वमा हाल मुख्य गरी तीन किसिमका बैचारिक धारहरु पुँजीवाद, समाजवाद र कम्युनिष्ष्ट विचारधाराका माध्मयबाट बैचारिक एवं नीतिगत रुपमा राज्य व्यवस्था सञ्चालनमा छन् । अमेरिका, बेलायतजस्ता राष्ट्रले पुँजीवादी धारको नेतृत्व गरेका छन् भने चीनले कम्युनिष्ट धारको नेतृत्व गरेको छ ।

स्क्याडिनेभियन राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, नर्वे र स्वीडेनले समाजवादी धारको नेतृत्व गरेका छन् । समाजवादी विचारधाराले समानता र स्वतन्त्रता एउटै रथका दुईपांग्रा हुन् । यसलाई एक अर्काको विकल्पको रुपमा लिन हुँदैन, समानता र स्वतन्त्रतालाई मिलाएर राज्यको सामाजिक चरित्रलाई निर्माण गर्नु पर्दछ भन्ने मान्यता राख्दछ ।

समाजबादले व्यक्ति, समाज र राज्यले जान सक्ने अधिकार क्षेत्रको स्पष्ट व्याख्या गर्नु पर्दछ भन्ने मान्यता राख्दछ । समाजबादले व्यक्तिको हक अधिकार र व्यक्तिगत स्वतन्त्रतालाई राज्यले रक्षा गर्दै शिक्षा, स्वास्थ, पूर्वाधार बिकास, सामाजिक सुरक्षा, राज्यको सुरक्षा र महत्वपुर्ण लगानि जस्ता महत्वपुर्ण क्षेत्रहरु पूर्ण रुपमा राज्यको नियन्त्रणमा हुनु पर्दछ भन्ने मान्यता राख्छ । अब यी तीन विचाधारालाई अँगाल्ने राष्ट्रहरुको समानता अबस्था, स्वतन्त्रता, लोकतन्त्र, गरिब र धनीवीचको दुरी, भष्ट्राचारको अवस्था, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण कुराहरुको अवस्थालाई विश्लेषण गरेर त्यसका आधारमा कुन विचाधारको माध्यमबाट मानव बिकासलाई जीवन्तता दिन सकिन्छ भन्ने प्रष्ट हुन्छ ।

साथै यी स्क्याण्डनेभियन क्षेत्रका समाजवादी राष्ट्रहरुमा भ्रष्टचार करिब शुन्य अबस्थामा हुनु, गरिब र धनि बिचमा खासै त्यस्तो अन्तर नहुनु, अन्य देशको तुलनामा यहाँका जनताहरु बिश्वकै खुसी र सुखी मान्छेको रुपमा मानव बिकास सुचांकमा सुचीकृत रहनुले पनि समाजवादी विचारधाराले व्यक्तिको स्वतन्त्रता र समानतालाई सन्तुलित रुपमा मिलाएर लान सक्छ भन्ने कुरा समाजवादलाई आफ्नो आदर्श मान्ने नेपाली कांग्रेस गहिरिएर बुझ्न जरुरी छ । यीनै विषयमा प्रशिक्षण भेलामा छलफल भए। र सिङ्गो काँग्रेस पार्टी र कार्यकर्ताहरुले डेनमार्क भेला मार्फत बुझ्ने र सिक्ने मौका समेत पाए। 

(नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीसँग कुराकानीमा आधारित )

तपाईको प्रतिक्रिया