युरोपेली समाजवादबारे धेरैकुरा सिक्यौ:- काँग्रेस प्रवक्ता शर्मा


 बार्सिलोना । डेनमार्कमा नेपाली कांग्रेसले आयोजना गरेको विश्वस्तरीय प्रशिक्षण भेला सकेर प्रायः नेताहरु नेपाल प्रस्थान गरिसकेका छन् । कोपनहेगन विमानस्थलबाट फर्कंदै गर्दा हामीले कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई सोध्यौं– डेनमार्क प्रशिक्षण भेलामा के कस्ता गतिविधि भए ?
जवाफमा शर्माले मूलतः यसमा तीनवटा विषयमा छलफल भएको बताए । पहिलो, विश्वव्यापी रुपमा फैलिएको नेपाली डायस्पोराले नेपालको समृद्विमा के भूमिका खेल्न सक्छ, डायस्पोराका चुनौती के छन् र त्यसमा सहकार्य कसरी हुन सक्छ भन्नेबारे छलफल भयो ।
त्यसैगरी ग्लोबल वार्मिङको प्रभाव र त्यसमा नेपालजस्तो अल्पविकसित राष्ट्रको भूमिका के हुन सक्छ भन्नेबारे छलफल भएको शर्माले संश्लेषण गरे । तेस्रो चाहिँ यहाँको ‘साइन्टिफिक प्यानल’बाट युरोपेली समाजवादको अनुभव, स्वास्थ्यमा डेनिस अनुभव, कृषिमा उनीहरुले कुन ढंगले प्रगति गरेका छन् भन्नेबारे आफूहरुले सिकेको उनले बताए ।
प्रवक्ता शर्माले भने, ‘हामी यहाँ सुनाउन मात्र आएनौं, बरु धेरै कुरा सुनेर, समग्रमा सिकेर फर्किंदै छौं ।’

प्रस्तुत छ, कांग्रेस प्रवक्ता शर्मासँगको कुराकानीको सम्पादित अंश :


तपाईले युरोपेली समाजवादको कुरो गर्नुभयो । स्क्याडिनेभियन क्षेत्रमा भएको समाजवादको मोडेलबारे कार्यक्रममा डेनमार्कका पूर्वसांसद तथा विज्ञहरुले सम्वोधन गरेको भन्ने पनि सुनियो । कांग्रेसले के सिक्न जरुरी रहेछ ?
उहाँहरुले समाजवादको आजको यात्रा तय गर्दैगर्दा निजी क्षेत्र र राज्यवीचको समन्वयको विषय, सहकारी र राज्यको समन्वयवीचको विषय, व्यक्तिको सम्प्रभुता र राज्यको प्रधानभूमिकाको विषय, यी सन्दर्भहरुमा समाजवादमा पुग्दैगर्दा उहाँहरुले स्वास्थ्य, शिक्षामा कसरी प्रगति गर्नुभयो ? भन्ने कुरा हाम्रा सन्दर्भमा निकै महत्वपूर्ण छन् ।
किनभने, हामीले एकातर्फ राज्यको दायित्व शिक्षा र स्वास्थ्य भन्छौं नै । सँगैमा पञ्चायती व्यवस्था जाँदैगर्दा केवल १२ अर्ब रुपैयाँ छाडेर गएको पञ्चायतको ढुकुटीको बलमा हामीले तत्कालै राज्यको संग्लग्रतामा मेडिकल कलेजहरु भन्दा उपस्वास्थ्य चौकी खोल्न सक्थ्यौं । त्यसैले नेपाली कांग्रेसले गाउँमा उपस्वास्थ्य चौकी पुर्‍याउने कुरालाई समाजवादको जिम्मेवारी अन्तर्गत सम्पादन गर्‍यो । तर, निजी क्षेत्रलाई के गर्‍यो भन्दाखेरि तिमी चाउचाउ कति उत्पादन गर्छौ ? कति स्टिल उत्पादन गर्छौ ? रक्सी कति उत्पादन गर्छौ ? तिमी मेडिकल कलेजमा आउ भनेर प्रोत्साहित पनि गर्‍यो । अहिले नेपालमा यही विषय एकखालको द्वन्दको विषय भएको छ ।

त्यसकारण हामीले समाजवादमा पुग्दै गर्दाखेरि शिक्षा र स्वास्थ्य समग्ररुपमा नागरिकको राज्यको जिम्मेवारी त हुनुपर्छ । तर, निजीक्षेत्रलाई पनि त्यसलाई सँगसँगै गाँसेर कसरी व्यवस्थापन गरेर जाने भन्ने विषय हाम्रो सन्दर्भमा उहाँहरुले विगतमा गरेको अनुभव उपयुक्त थियो ।


यस्तै कृषिको सन्दर्भमा, चाहे इजरायलको अनुभव होस् वा डेनमार्कको । उत्पादनको शैली र प्रविधिबारे हामीले सिक्न जरुरी छ । डेनमार्कले आफूले उपभोक्ताका लागि आवश्यकता भन्दा तीन गुणा बढी उत्पादन गरेर बाहिर पठाउन पनि सक्छ । त्योखालको प्रविधि के हो त ? भन्नेबारेमा साइन्टिफिक प्यानलमार्फत सिक्ने, सुन्ने र बुझ्ने अवसर पायौ ।

विदेशमा रहेका नेपाली विज्ञहरुको अनुभव ‘साइन्टिफिक प्यानल’ मार्फत सुनेको त बताउनुभयो । तर, अब उनीहरुलाई नेपालसँग जोड्न तपाईको पार्टीले कस्तो भूमिका खेल्छ त ?

वास्तवमा तपाईले यो महत्वपूर्ण विषय उठाउनुभयो । विश्वस्तरीय प्रशिक्षण अन्तरक्रिया हुँदै गर्दा हामीले दिएको मूलनारा ‘नेपालका लागि एक बनांै विश्वभरिका नेपाली’ भन्ने थियो । म आफूले यही विषयवस्तुमा कार्यपत्र नै प्रस्तुत गरेको थिएँ । नेपालको समृद्विमा डास्पोराको भूमिका के हुन सक्छ ? चुनौती के हुन् भन्ने विषयमा कार्यपत्र केन्द्रित थियो ।

त्यसमा गाँस्दै गर्दा ब्रेन ड्रेन हिजो भयो अब ब्रेन गेनको कुरा पनि हामीले उठाएका छौं । त्यो भनेको भौतिकरुपमा नै सबै फर्कनुपर्छ भन्ने पनि होइन । तर, नेपालका लागि बाँच्नुपर्छ भन्ने मनोविज्ञानको विषय हो ।

संसारको वल्लो छेउमा रहेर पनि नेपालको सन्दर्भमा बौद्धिक लगानी गर्न सक्छौं । नेपालमा पुँजीगत लगानी मात्रैभन्दा डायस्पोराको अपमान हुन्छ । डायस्पोरासँग पैसा छ, बैंक नै हो भन्ने ढंगले राज्यले सोच्नुहुँदैन । डायस्पोरासँग सीप पनि छ, ज्ञान पनि छ र बौद्विकता छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका वैज्ञानिकहरु, डाक्टरहरु, नीति निर्माताहरु हुनुहुन्छ । उहाँहरुसँग नेपालको समृद्विका लागि कुशल मष्तिष्क छ भन्ने राज्यले सोच्नुपर्छ ।

देशले निम्तो कार्ड पठाउला, अनि मात्रै मेरो बौद्विक लगानी गरौंला भनेर यहाँहरुले पनि सोच्नुहुँदैन । संसारको वल्लो कुनामा रहेर पनि नेपालमा बौद्धिक तथा भौतिक लगानी गर्नुपर्छ भन्ने कोणबाट हामीले यो विषयवस्तुलाई विश्वव्यापी छलफल गरेका हौं । एउटा प्रतिपक्षी दलले सम्भवतः प्रतिपक्षमा रहेर पनि संसारभरका नेपालीहरुलाई गाँसांै भन्ने मनोविज्ञान लिएर जाने विषय अति नै महत्वपूर्ण छ भन्ने लाग्छ ।

डायस्पोराको बौद्विकतालाई जोड्न अहिलेको सरकारले खेलेको भूमिकाबारे चाहिँ तपाई के टिप्पणी गर्नुहुन्छ ?

यसमा म बिल्कुलै सन्तुष्ट छैन । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले अघिल्लो महिनामात्र बेलायतमा बोल्दै गर्दा उहाँले के भन्नु भयो भने, अब सबै नेपाल फर्कनुहोस् । आदर्शको दृष्टिकोणले त सुन्दा मजै आउला । तर, व्यवहारको दृष्टिकोणले फर्कौं भन्दै गर्दा सरकारले पहिले नेपालभित्रै रहेकाहरुलाई व्यवस्थापन गर्न सक्नुपर्छ ।
नेपालबाट बाहिरिनु ‘पुस फ्याक्टर’ हो । र, बाहिर भएकालाई तान्नु ‘पुल फ्याक्टर’ हो । नेपालको अधिकार, नेपालको हिंसा, नेपालको बेरोजगारी यी नघटाउँदासम्म बाहिर जानेक्रम नै रोकिँदैन । बाहिरिने क्रम रोकिए पो बाहिर रहेका नेपालीहरुलाई आऊ भन्दा पनि सहज हुन्छ । अहिले नै ५० लाखको संख्यामा रहेका नेपालीहरु नेपाल आए भने के गर्लान् ?

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता कार्यक्रमहरु ल्याइरहेको छ त ?

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कहीँ एउटा गाई धपाउन चार जना प्रयोग भएका छन् । कोही बेल्चा हातमा बोकेर मकै गोड्ने काममा प्रयोग भएका छन् । नाला सफा गर्ने काममा प्रयोग भएका छन् । बाहिर रहेको ठूलो संख्या नेपाल फर्कियो भने के काममा प्रयोग हुन्छ ? त्यसैमा प्रयोग हुन्छ ।
यसो भन्दै गर्दा बाहिर भएका जनशक्ति नेपाल फर्कन आकर्षित हुँदैनन् । त्यसैले हाम्रो अपिल के हो भने नेपालभित्र मेचीदेखि महाकालीको सीमानामा फैलिएको एउटा नेपाल छ । जोसँग भूगोल पनि छ, भावना पनि छ । नेपालदेखि बाहिर अर्को नेपाल छ ।
त्यो भनेको जोसँग भूगोल छैन, तर भावनाको नेपाल छ । यी दुईवटै नेपाललाई गाँस्नु, दुरी घटाउनु र सँगसँगै लिएर जाने सामार्थ्य वा शासकीय योग्यता नेपालको समृद्विको प्रधान आधार हो । यो विषयमा लाग्नुपर्थ्यो तर सरकार त्यो दिशामा गएको छैन ।
त्यसो भन्दै गर्दा कांग्रेस पनि त विगतमा थुप्रैपटक सरकारमा थियो नि ? उसले चाहिँ किन गर्न सकेन यी काम ?
हो कांग्रेस सरकारमा रहेको कालखण्डमा मुलुकमा हिंसा थियो होला, अस्थिरता थियो होला । मुलुकमा शान्ति स्थापना गर्नु थियो । संविधान निर्माणमा जुट्नुपर्‍यो । चुनाव गर्नु थियो होला । अब त त्यो च्याप्टर सक्कियो । अहिले त अर्कै राजनीतिक परिस्थितिमा आएका छौं । अब त बाहिर र भित्रको नेपाललाई सँगसँगै गाँसेर समृद्विको दिशामा अगाडि बढ्नु सक्नुपर्छ । कम्तिमा त्यो संकेत त दिन सक्नुपर्‍यो नि ।

फेरि, डेनमार्क प्रशिक्षण भेलाकै कुरा गरौं । पार्टीमा कम्युनिस्टलाई समेत भित्र्याउनुपर्ने बेलामा हामीलाई नै बाहिर बनाइयो भन्ने केही प्रतिनिधिहरुको असन्तुष्टि सुनियो नि ?


साथीहरुको फरक मतलाई म सम्मान गर्छु । तर, कसैलाई तिमी सभापति हौ आऊ, तिमी सभापति होइनौ नआऊ, भनेका छैनौं । प्रष्ट के भनेका थियौं भने कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी सबै प्रतिनिधिहरुका लागि भनेर पत्राचार गरेका थियौं । कुनै ठाउँमा जनसम्पर्क समितिहरुको विवाद थियो होला, त्यो आफ्नै ठाउँमा छ । तर, केही व्यवहारिक कारणले आउनुभएन होला, कसैको केही गुनासो रह्यो होला । तर, प्रशिक्षण भेलामा ठूलो संख्यामा साथीहरुको उपस्थिति रह्यो, यो आफैंमा महत्वपूर्ण छ ।


एनआरएनले पनि नेपाल बाहिर यति धेरै देशहरुको उपस्थितिमा अहिलेसम्म सम्मेलन गरेको छैन । अन्य राजनीतिक दलहरुले पनि यस्ता गतिविधि गरेका छैनन् । तर, हामी यसमा सफल भएका छौं । हामीले पार्टीका विषयहरु मात्रै पनि उठाएनौं । ग्वोबल वार्मिङ्गको विषयमा गम्भीर ढंगले छलफलहरु भए ।
नेपालको समृद्विका लागि डायस्पोराको भूमिका बारे बहस भए । के त्यो कांग्रेसका लागि मात्र हो र ? एउटा प्रतिपक्षमा रहेको दलले यो भूमिकाको खोजी गर्दैछ भने यस्तो विषयमा छलफल हुँदा कसैले मैले निम्तो पाइनँ भन्ने कुरा बिल्कुल होइन । सबैलाई निम्ता गरिएको थियो, त्यसैले धेरै साथीहरुले सहभागिता जनाउनुभयो ।

तर, खाडी मुलुकहरुबाट त युरोपको डेनमार्क जस्तो महंगो देशमा प्रतिनिधिहरु आउन सकेनन् नि ? भिसा प्रक्रिया लगायतका विषयले पनि सहभागी बन्नबाट वञ्चित भए । यस्तो कार्यक्रम नेपालमा नै गर्नुभएको भए सबै समेटिने थिए कि ?
निश्चय नै तपाईंले सही भन्नुभयो । हो, खाडी मुलुकका साथीहरुले आउने कुराको सन्दर्भमा भिसा लगायतका प्रक्रियामा समस्या देखियो । त्यसकारण पनि सहभागी बन्न सक्नुभएन । यसलाई हामीले समीक्षा गरेका छौं । तर, के भने नेपालमा पनि गर्न सकिन्थ्यो वा खाडी मुलुकमा गर्न सकिन्थ्यो या युरोप अमेरिका गर्न सकिन्थ्यो । त्यहाँ किन भएन ? यहाँ किन भयो भन्नेखालको कोणबाट हेर्ने हो भने हामी कहिल्यै पनि अग्रगतितर्फ जान सक्तैनौं । हामीले डेनमार्क किन रोज्यौ त ? केवल भूगोलको कुरा मात्र थिएन, भावनाको कुरा पनि थियो ।

नेपाली कांग्रेसले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादको एउटा ज्वलन्त उदाहरण स्क्याडिनेभियन मुलुकहरु हुन् । जसमध्ये डेनमार्क मानव विकासको सकारात्मक दृष्टिले पनि अग्रपंक्तिमा छ । नेपाली कांग्रेसले बोकेको विचार, सिद्वान्त, दृष्टिकोण आर्दशहरुको सन्दर्भमा डेनमार्क उपयुक्त मुलुक हुन्छ भन्ने हामीले सोच्यौं । त्यसमा पनि डेनमार्कका अध्यक्ष वीरेन्द्रसिंह कार्की लगायतका साथीहरुले अग्रसरता देखाउनुभयो ।

के सुरुवात भयो भन्ने कोणबाट हेर्ने हो भने कार्यक्रम निकै महत्वपूर्ण रह्यो । लामो यात्रा पहिलो पाइलाबाट सुरुवात भएको छ । कार्यक्रम निकै उपलब्धिमूलक छ । ऐतिहासिक रह्यो ।

र अन्त्यमा, एक दर्जन केन्द्रीय नेताहरुसहित २ सयबढी प्रतिनिधिहरु कोपहेगनको रिचमण्ड होटलमा ३÷४ दिनसम्म बस्नुभयो । ठुलै खर्च भएको सजिलै अनुमान गर्न सकिन्छ । यसको स्रोत चाहिँ के हो ?

नेपाली कांग्रेस पार्टीले कार्यक्रम आयोजना गर्दैगर्दा सहभागी हुने साथीहरुलाई आ–आफ्नो खर्चमा आउन सुचित गरेको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको, केन्द्रीय समितिको, नेपाल सरकारको, कुनै पनि संस्थाको, अन्तराष्ट्रिय डोनर एजेन्सी कसैको पनि रकम यसमा प्रयोग भएको छैन ।

र, अर्को कुरा खर्च कति भयो भन्ने कोणबाट भन्दा पनि परिणाम के प्राप्त भयो, छलफल के भयो ? भन्ने कोणबाट हेरिदिनुपर्‍यो । व्यक्तिगत खर्चमा साथीहरु आउनुभयो, व्यक्तिगत खर्चमै फर्कनुभयो । उहाँहरु सबै सम्मानयोग्य हुनुहुन्छ, जसले यत्तिको चासो राख्नुभयो । पार्टीले निम्त्याउँदै गर्दा आफ्नै खर्चमा उभिएर आउने क्षमता राख्नुभयो ।