एनआरएनए युकेको महासचिव पदमा नारायण गाउँलेले उम्मेद्‍वारी दिने


महासचिव पदका उमेद्वार नारायण गाउँले तस्बिर:- नरेन्द्र बस्नेत

बार्सिलोना। एनआरएनए युकेको महासचिव पदमा नारायण गाउँलेले उम्मेद्‍वारी घोषणा गरेका छन्। मंगलबार १५ बूँदे व्यावहारिक प्रतिबद्धता ब्यक्त गर्दै उनले नवौ कार्यसमितिका लागि महासचिव पदमा उम्मेद्‍वारी दिने ईच्छा ब्यक्त गरेका हुन्। 

उम्मेद्‍वारीबारे व्यावहारिक प्रतिबद्धता सार्बजनिक गर्दै गाउँलेले भने,”वर्तमान सचिबको रूपमा मेरो कार्यकाल अझै दुई महिनाभन्दा बढ़ी बाँकी रहेको र निर्वाचन कमिटी पनि नबनिसकेकाले तामझाम र घोषणासभा गरेर उम्मेदवारी दिनु जरूरी नठानेर बोलेको थिइनँ । सचिबपछि महासचिबको खुट्किलो स्वाभाविक हो भन्ने ठानेको छु ।”


आँफूभन्दा धेरै असल, विज्ञ, सक्षम, योग्य र अनुभवीहरू उमेद्वारहरु मैदान र मैदानबाहिर रहेको बारे पनि गाउँलेले स्पष्ट पारेका छन्। “उक्त पदका निम्ति म सर्वश्रेष्ठ, सबैभन्दा योग्य या सबैभन्दा अनुभवी हुँ भन्ने मेरो दाबी छैन ।तर उक्त पदमा उहाँहरूको सबै विज्ञता खर्च गर्नु नपर्ने र मेरो योग्यताले पनि आवश्यक काम चल्ने भएकाले म उम्मेदवार बन्ने निर्णयमा पुगेको हुँ ” उनले भने। 
उनि स्पष्ट बक्ता,लेखक,साहित्यकार तथा टिप्पणीकारको रुपमा पनि परिचित छन्। 

यस्ता छन् गाउँलेका व्यावहारिक प्रतिबद्धताहरु:-
१- म गोर्खाको समस्या समाधान गर्छु, नेपालमा ठूलो लगानी लैजान्छु या एनआरएनएलाई समूल रूपान्तरण गरेर नयाँ संस्था बनाउँछु भन्ने भाषण गर्नेछैन । मैले यी विषयमा यथासम्भव संस्थागत पहल र ऐक्यबद्धताको भने प्रण गर्दछु ।

२-वडाध्यक्षदेखि प्रदेश सांसद्सम्म जो सुकै आए पनि अन्तर्क्रियाका नाममा गोष्ठी राखिहाल्ने र नागरिकताको माग गर्दै भाषण गरिहाल्ने काम हुने छैन । सम्बन्धित र आधिकारिक च्यानलमार्फ़त् मात्रै प्रमुख मुद्दाहरूको लबिङ्ग होस् भन्ने मेरो धारणा छ ।

३-संस्थामा तीन जना सचिबहरूको व्यवस्था छ । म विनियमावली नै बनाएर हरेक सचिबलाई कार्यक्रमदेखि बैठक सञ्चालनसम्मका क्रियाकलापमा यथोचित सहभागिताको व्यवस्था गर्नेछु । 

४-अन्य देशले सदस्यता वितरणदेखि निर्वाचनसम्म अनलाइनमार्फ़त् सहज रूपमैं सम्पन्न गरेका छन् । हामीले गत कार्यकालमैं साठी प्रतिशतभन्दा बढ़ी सदस्य अनलाइनमार्फ़त् बनाएका थियौं र अर्को कार्यकालमा पूर्ण रूपमा अनलाइन गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । तर अहिले त्यसभन्दा पछि फर्केर कागजका फार्महरू वितरण गर्ने अवस्थामा छौं । सदस्यता नवीकरण गर्नसमेत सबै कागजपत्र पुनः माग्ने काम रोकिनुपर्छ । म यसका निम्ति क्षमा माग्दछु र महासचिबका रूपमा मैले यसलाई बदल्न सक्छु भन्ने सङ्कल्प व्यक्त गर्दछु ।

५-सदस्य बन्नेबित्तिकै तपाईंका दुःखका दिन गए, भाग्यको मूल फुट्यो, लटरम्म फूल फुले भन्ने होइन, तर नेपाल र नेपालीका निम्ति विश्वव्यापी नेपाली सञ्जालसँग जोड़िएकोमा गौरव लाग्ने गरी एनआरएनए युकेका गतिविधिहरू सञ्चालन गर्ने प्रयत्न हुनेछ । समाजसेवा एक्लै पनि गर्न सकिन्छ तर सामूहिक र साङ्गठनिक रूपमा गर्दा त्यसको आकारमात्रै होइन प्रभाव पनि ठूलो हुन्छ भन्ने विश्वास जगाउनु मेरो दायित्व हुनेछ । 

६-च्यारिटी कार्यक्रमहरू फेशनजस्तो बन्दै गई रहेका छन् । वर्षमा एउटामात्रै तर सार्थक र सबल च्यारिटी कार्यक्रम गर्ने कोसिस गर्नेछु । 

७-निर्वाचित भएर आउने अध्यक्ष र सिङ्गो कार्यसमितिको भावना, मर्म र योजनासँग समाहित भएर सामूहिक लक्ष्यप्राप्तिका निम्ति लागिपर्नेछु ।

८-बेलायतमा दर्जनौं नेपाली संघसंस्थाहरू छन् । कतिपय संस्थाले इमानदारीपूर्वक भन्नुपर्दा हामीले भन्दा बढ़ी काम गरिरहेका छन् । समुदायको सर्वाङ्गीण हित र कल्याणका निम्ति तिनको ठूलो योगदान छ । तीसँग सहकार्य, छलफल र अन्तर्क्रियाका निम्ति खास पहल हुन सकेको छैन । काउन्सिल मिटिंगको नाममा कार्यकालको एकदिन कार्यक्रम गरेर ती सबैलाई बोलाउने तर आफैले भाषण गरेर दिन बिताउने गरेका छौं । बाँकी आधा दिन खादा र मालामा बित्ने गरेको छ । म यस्तो अन्तर्क्रिया र छलफल एक दिनमात्र नभएर नियमित रूपमा चलिरहोस् र त्यस्ता बैठकमा एनआरएनएका पदाधिकारीले होइन, अन्य संस्थाले समय र आसन पाउन् भन्नेमा सक्दो पहल गर्नेछु ।

९-हाम्रा कार्यक्रमहरू विषयवस्तुभन्दा स्वागतसम्मान र खादामालामा बढ़ी अल्झिने गरेका छन् । गरिएका अन्तर्क्रिया र छलफलहरू पनि संस्थागत मेमोरीमा रहने गरेका छैनन् । हामीले गर्ने कार्यक्रमको ओभरहेड खर्च ज्यादै धेरै हुने गरेको छ । म संस्थाका कार्यक्रमहरूलाई कम खर्चिलो, सरल र परिणाममुखी बनाउने र त्यसको व्यवस्थित अभिलेखीकरण गर्ने प्रयास गर्नेछु ।

१०-हामीसँग नेपाल हाउस बनाउने योजना मुल्तबीमा छ । अलिकति च्यारिटी रकम पनि उठेको छ । गत कार्यकालमा उठेको त्यो रकम छुट्टै खाता बनाएर राखिएको छ । म सकेसम्म नेपाल हाउस प्रोजेक्टको कार्यान्वयनका निम्ति मबाट हुनसक्ने साङ्गठनिक पहल गर्नेछु । यदि आगामी कार्यकालमा पनि त्यो बन्ने या शिलान्यास हुनसक्ने अवस्था नआए जहाँबाट त्यो रकम उठाइएको थियो उहाँहरूलाई क्षमायाचनासहित फिर्ता गर्न पहल गर्नेछु । जे प्रयोजनका निम्ति सहयोग सङ्कलन गरिन्छ, त्यो निश्चित समयमा सोही उद्देश्यमा खर्च गर्नुपर्छ या फिर्ता गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । सबै दाताहरूलाई जोडेर एउटा अन्तर्क्रिया कार्यक्रम राखिनेछ ।

११-एनसिसी र आइसिसीका मुद्दाहरू, योजनाहरू र अभियान मेरो पनि अभियान हुनेछ । मेरा अग्रजहरूले निर्माण गरेको सकारात्मक बाटो र योजनाहरू मेरा मार्गनिर्देशक हुनेछन् । विशेषत: प्रवासमा नेपाली भाषासाहित्य र संस्कृतिको संरक्षण नै मूल चुनौती रहेकाले त्यस क्षेत्रमा एनआरएनएलाई थप जिम्मेदार र संलग्न बनाउन मेरो पहल हुनेछ । मेरै कार्यकालमा ‘बहुभाषिक नेपाली साहित्य-संस्कृति गोष्ठी’ गर्ने र बेलायतमा छरिएर रहेका विभिन्न साहित्यिक र सांस्कृतिक संस्थालाई एउटा मञ्चमा ल्याएर उप्लब्धिमूलक काम गर्ने प्रयास हुनेछ । नेपाली बहुल क्षेत्रका विद्यालयमा नेपाली भाषाको पठनपाठनदेखि अत्यावश्यक सरकारी सूचनाहरू नेपाली भाषामा समेत प्रदान गर्ने कार्यलाई अझ सघन बनाउन जरूरी छ । यो क्षेत्रमा ठूलो योगदान दिनुभएका सबैलाई धन्यवाद छ ।

१२-म एनआरएनए अभियानमा सामेल हुन र यसलाई आफ्नो आदर्श अनुसार चल्ने बनाउन सबैमा आग्रह गर्दछु । मैले मात्रै गर्ने होइन, हामी सबैले गर्ने हो । म हली बन्न तयार भएको मात्रै हो । उब्जनीमाथिको हक हाम्रो समूहिक भएकाले दायित्व पनि सामूहिक नै हो । खासगरी यो संस्था र बेलायतकै स्थानीय समाज र संघसंस्थाबीच अन्तर्सम्बन्ध विकासका निम्ति सबैको सामूहिक सहयोग आवश्यक हुन्छ ।

१३-म के गर्नेछु भन्ने क़ुरा समय, परिस्थिति र आवश्यकताले पनि निर्धारण गर्नेछन् तर म कुनै पनि परिस्थितिमा संस्थाका मूल्य र आदर्शविपरीत हुने गरी कुनै पनि गतिविधि गर्नेछैन ।

१४-म मेरा प्रतिष्पर्धी मित्रहरूप्रति सदैव आदरभाव राख्नेछु । यो प्रतिष्पर्धा कुनै शक्ति या सम्पत्तिका निम्ति नभएर सेवाको निम्ति भएकाले यसमा सबै आदरको पात्र हुनुहुन्छ । म निर्वाचित भइन भने निर्वाचित भएर आउने मित्रलाई मेरो पूर्ण सहयोग र समर्थन हुनेछ ।


१५-म इ-पम्पलेट र एक दुई परिचयपत्रबाहेक तूल, ब्यानर, मालाहरू छापेर आक्रामक प्रचार प्रसार गर्नेछैन । म वातावरणप्रति पनि सचेत छु । तर, सोसल मिडियामा आबद्ध साथीहरूलाई केही दिन यो प्लेटफार्ममा हुने प्रचारसामग्रीलाई सही दिनुहुन हार्दिक निवेदन गर्दछु ।