भ्रमणबर्ष २०२० मा ३५ हजार स्पेनिश पठाउँने लक्ष्य :-म्याड्रिड राजदूताबास


बसन्त रानाभाट,बार्सिलोना 

नेपाल सरकारले स्थापना गरेको पछिल्लो कुटनीतिक नियोग नेपाली राजदूताबास म्याड्रिडले लगानी तथा पर्यटन प्रवद्वनको काममा सक्रिय रहेर काम गरेको दाबी गरेको छ। हाल दूताबासमा कार्यबाहक राजदूतको जिम्मेबारी सम्हालेका हरिहर कान्त पौडेलले कुराकानी गर्दै यस्तो दाबी गरेका हुन्। 

यसअघि कुटनितिक बिज्ञता नभएकालाई सरकारले राजदूत बनाएर पठाएपछि दूताबासले गति लिन नसकेको भन्दै दूताबासको आलोचना हुँदै आएको थियो। स्पेनका लागि प्रथम राजदूत बनेर आएका भरत बहादुर रायमाझीलाई सरकारले ५ महिनाअघि नै फिर्ता बोलायो। हाल प्रस्तावित राजदूतको रुपमा  दाबा फुटी शेर्पा रहेकी छन्। सोमबार मात्रै संसदीय सुनुवाई समितिले शेर्पाको नाम समेत अनुमोदन गरिसकेको छ। 

हाल दूताबासमा कार्यबाहक राजदूतको जिम्मेबारी सम्हालेका हरिहर कान्त पौडेल

तर यतिबेला दूताबासमा कार्यबाहक राजदूतको जिम्मेबारी प्रथम सचिव पौडेलले नै सम्हादै आएका छन्। आगामी साता दूताबासले सम्भावित लगानीकर्तालाई नेपाल जान प्रोत्साहन गर्ने भन्दै म्याड्रिडमा लगानी सम्मेलनको आयोजना गर्दै छ। अर्को तर्फ सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० मा स्पेनबाट मात्रै ३५ हजार पर्यटकहरु भित्राउने गरी अभियान चलाएको दूताबासको दाबी छ। यसैको पेरिफेरीमा रहेर कार्यबाहक राजदूत पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :-

नेपालमा लगानी सम्मलेन सम्पन्न भईसक्यो तर दूताबासले अहिले आएर “नेपाल  सेफ प्लेस आफ ईनभेष्टमेन्ट” भन्दै सम्मेलन गर्दै हुनुहुन्छ ? अलि ढिला भएन र ?

नेपालमा लगानी पर्वद्वन गर्ने  र सम्भावित लगानीकर्तालाई नेपाल जान प्रोत्साहन गर्ने दूतावासका नियमित कार्यक्रमहरु हुन् । यो आर्थिक कुटनीतिको एक पाटो पनि हो । हामीले लगानी सम्मेलनको पुर्वसन्ध्यामा मार्च ५ तारिख पनि म्याड्रिड च्याम्बर अफ कमर्शसँगको सहकार्यमा “बिजनेस एण्ड ईनभेष्टमेन्ट अपरच्युनिटी ईन नेपाल” नामक सेमिनार सम्पन्न गरेका थियौ। स्पेनका ४० भन्दा वढि उद्योगी /लगानीकर्ताहरुसंग अर्न्तक्रिया गर्यौ। यस्तो कार्यक्रम सरकारीस्तरबाट पहिलोपटक गरिएको हो ।कार्यक्रममा यहाँको उधोग, वाणिज्य तथा पर्यटन मन्त्रालयका प्रतिनिधिको समेत उपस्थित रह्यो। तत्पश्चात १८ जना लगानीकर्ताको नाममा मा. अर्थमन्त्रीज्यूबाट निमन्त्रणा पत्र प्राप्त भएकोमा उनीहरु अत्यन्त उत्साहित थिए । इतिहासमै पहिलोपटक ७ जना स्पेनिश लगानीकर्ताहरुले समिटमा नेपाल पुगेर भाग लिए। नेपालको लगानी प्रर्वद्दन गर्ने र सम्भावित लगानीकर्तालाई नेपाल जान प्रोत्साहन गर्ने यस्ता कार्यक्रम दूतावासबाट नियमित रुपमा भई नै रहन्छन्। 

आगामी साता म्याड्रिडमा हुने सम्मेलनमा कति लगानीकर्ताले भाग लिदै छन् ? व्यावसायिक सम्भावना र अवसरका कस्ता विषयहरुमा छलफल हुँदैछन् ? 

स्पेनका टप २० देखि २५ लगानीकर्ता कम्पनीको उपस्थिति रहने अपेक्षा गरेका छौ। विशेष गरी हाईड्रो सेक्टर, कृषी क्षेत्र, यातायात तथा भौतिक पूर्वाधार निर्माण क्षेत्रमा काम गरिरहेका स्पेनिश कम्पनीहरुलाई निमन्त्रणा गरेका छौ। यिनै क्षेत्रगत बिषयहरुलाई केन्द्रित बनाएर नेपालमा लगानी गर्न आह्ववान गर्नेछौ।         

लगानी वोर्ड नेपालबाट समेत प्रतिनिधिहरुको सहभागिता रहन्छ वा दूताबासले आफैँले मात्र यसबारे तयारी गर्दैछ ?

प्रस्तुतिकरणका लगानी वोर्ड नेपालबाट विज्ञ पठाईदिन दूतावासले अनुरोध गरेबमोजिम सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा एक टोली मनोनयन भएको छ। उहाँहरु आउनुभएमा उहाँहरुबाट नै प्रस्तुतिकरण हुने छ। यदी प्राबिधिक कारणले उपस्थित हुन सक्नुभएन भने  उहाँहरुको गाईडलाइन्समा रहेर दूतवासले प्रस्तुतिकरण गर्ने छ। नेपालको मौजूदा नियम र कानूनका (एक्जिस्टीङ्र रुल्स एण्ड रेगुलेसन) बारे पनि ब्यबसायीहरुलाई जानकारी गराउने छौ। 

अहिले त,अन्य दूताबासहरु भिजिट नेपाल २०२० को अभियानमा जुटेका छन् । म्याड्रिड दूताबासले पर्यटन प्रवद्वनकालागि खास त्यस्तो के गरेको छ ?

भिजिट नेपाल २०२० को अभियानमा यस दूतावास पनि सक्रियतापूर्वक लागेको छ । हामीले गत माघ  २४ गते स्पेनका १०/१२ वटा टुर्स एण्ड ट्राभल्स कम्पनीहरुलाई दूतावासमै बोलाएर अन्तक्रिया कार्यक्रम सम्पन्न गर्यौ। यस्तै जुन २० मा यहाँको एक होटलमा करिब १०० जनाको उपस्थितिमा “नेपाल ईभिनिङ् -२०१९” को कार्यक्रम पनि सफलता पूर्वक सम्पन्न गर्यौ। जहाँ टुर्स एण्ड ट्राभल अपरेर्ट्सहरु,स्थानीय पत्रकारहरु, लगायत बिभिन्न क्षेत्रमा प्रसिद्वी कमाएका स्पेनिशहरुको बाक्लो उपस्थिति रह्यो। विश्वविख्यात पर्वतारोही कार्लोस सोरिया पनि सहभागी बन्नुभयो। उहाँको प्रस्तुतिकरण नेपाल घुम्न र पुग्न प्रेरित थियो। 

स्पेनका परराष्ट्रमन्त्री जोसेफ बोरेलसंग

यस्तै  स्पेनको पर्यटकीय शहर बार्सिलोनामा पनि नेपालबारे जानकारी गराउने उद्देश्यले त्यहाँको स्थानीय कातालान भाषामा नै ब्रोसरहरु छपाई गर्ने काम अगाडी बढेको छ । जानकारीमूलक ६ पेजको जानकारीमूलक ब्रोसर वितरण गर्दा नेपालबारे वार्सिलोनामा प्रचार प्रसार हुने दूतावासले अपेक्षा लिएको छ । हामीले छोटो समयमा नै पर्यटन प्रर्वद्दनका यस्ता बिभिन्न कार्यक्रमहरु गरिरहेका छौ। 

म्याड्रिडमा दूताबास स्थापना हुनु अगावै प्रत्येक बर्ष १२-१५ हजारको संख्यामा स्पेनिश पर्यटकहरु नेपाल पुग्ने गरेका तथ्यांकहरु छन्। अहिले त  करौडौ खर्च गरेर नेपाल सरकारले म्याड्रिडमा कुटनीतिक नियोग स्थापना पनि गरेको छ। पर्यटकहरु बढ्लान् भन्ने अपेक्षा राख्न त मिल्ला नि। 

गत वर्ष २०१८ मा २० हजार २ सय १० स्पेनिश पर्यटकहरुले नेपाल भ्रमण गरेको तथ्यांक छ । दूताबास स्थापना पूर्व सन २०१७ मा १५ हजार ९ सय ५३ जना पर्यटकहरुले नेपाल  भ्रमण गरेका थिए । तथ्यांकलाई हेर्दा दूतावास स्थापना पश्चाता करिब २६ प्रतिशतले बढेका छन् । भ्रमण वर्ष २०२० मा स्पेनबाट करिब ३५ हजार पर्यटकहरु नेपाल पठाउन सकिन्छ भनेर प्रयास भईरहेका छन्। 

अर्कोकुरा, द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन दूताबास त्यति सक्रिय छैन भन्ने गुनासो सुनिन्छ नि। 

म आँफू कार्यवाहकको जिम्मेबारी रहे यता पनि स्पेनमा रहेका नेपालीहरुको समस्या समाधान तथा सम्बन्धमा सुधार गर्न कुटनितिक भेटवार्ताका थुप्रै प्रयासहरु भएका छन्। यहाँका परराष्ट्र मन्त्रालयका अधिकारीहरु,वाणिज्य तथा उधोग मन्त्रालयका प्रतिनिधिहरु पटकपटक भेटवार्ता गर्दै द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउने प्रयास दूताबासले थालेको छ। पाल्मा दे मायोर्कामा एक कार्यक्रमको शिलशिलामा स्पेनका परराष्ट्रमन्त्री जोसेफ बोरेलसंग पनि छोटो शिष्टाचार कुराकानी गरेका थियौ। साथै रानी लात्जियासँग परिचयात्मक दर्शन भेट पनि भयो। यस्तै बार्सिलोना पुगेर पहिलोपटक कातालोनिया सरकारका पदाधिकारीहरुसंग पनि छलफल गर्यौ। कातालोनियाका परराष्ट्र विभागका महानिर्देशकसंग छलफल तथा भेटबार्ता गर्यौ। यस्तै वार्सिलोना नगरपालीकाका विदेश विभागका उच्च अधिकारीहरुसंग उनीहरुकै कार्यकक्षमा गएर कुराकानी गर्दै नेपाल र नेपाली नागरिकका चासो र हितका विषयमा कुराकानी गरेका थियौ। 

स्पेनकी रानी लात्जियासँग परिचयात्मक दर्शन भेट गर्दै कार्यबाहक राजदूत पौडेल

अन्त्यमा  एउटा फरक प्रसंग, अध्ययनका लागि स्पेन आउँन चाहेका बिद्यार्थीहरुको भिसा नलागेपछि मोटो रकम बार्सिलोना स्थित एउटा कलेजले फिर्ता नगरेको भन्दै परराष्ट्र मार्फत दूताबासमा निबेदन आएको छ भन्ने सुनियो। खास घटनाबिबरण के हो ? रकम फिर्ता गराउन दूताबासले कस्तो पहल गरिरहेको छ ?

यो दूतावास स्थापना पूर्वको कुरा हो । नेपालबाट करिब २५/३० जनाले विद्यार्थी भिसाकोलागी बार्सिलोना स्थित एक कलेजमा रकम पठाउनुभएको रहेछ। तर भिसा नलागेको कारण विद्यार्थीहरु आउन सक्नुभएन तर कलेजले सम्बन्धित विद्यार्थीले नै नक्कली कागजात बनाएको हुनाले भिसा नलागेको जवाफ दिदैआएको छ । यस सम्बन्धमा मैले स्पेनको परराष्ट्र मन्त्रालयमा समेत लिखित तथा मौखिक कुरा राखेको छु। यस्तै बार्सलोना गएको बेला त्यहाँ स्थित गैरआबासीय नेपाली संघ स्पेनका पदाधिकारीहरुलाई समेत लिएर कलेजमा पुगेको थिए। कातालोनिया प्रान्त सरकारको परराष्ट्र विभागमा समेत रकम उठाईदिन पहलको लागि लिखित पत्राचार र मौखिक रुपमा पनि आवाज उठाएको छु। 

कति रकम फिर्ता गर्नुपर्ने रहेछ ?

नेपालका ४ वटा कन्सल्टेन्सीहरुले संयुक्तरुपमा रकम फिर्ताका लागि पहल गर्न भन्दै मोफामा संयुक्त निबेदन दिएका थिए। ८० हजार युरो फिर्ता गर्नुपर्ने उहाँहरुको कुरा छ। यस सम्बन्धी काम कारबाही भईरहेको जानकारी प्राप्त छ । साथै कलेजले पनि न्यून रकम भएपनि फिर्ता गरिरहेको जानकारी प्राप्त हुन आएको छ । यहाँको सरकारको सुझाव अनुसार भने उक्त कलेज निजी भएकोले कानूनी कारबाहीमा जान सुझाव दिएको छ । सोही अनुसार वार्सिलोनामा एक कानूनी वकिलसंग सरसल्लाह गरी केश अगाढि बढाउने भनेर नेपालका कन्सल्टेन्सीहरु छलफलमा नै हुनुहुन्छ ।