एनआरएन मार्फत प्रबिधि मैत्री रक्त सञ्चार प्रविधि नेपाल भित्रदै


बार्सिलोना ।गैर आबासीय नेपाली संघ (एनआरएनए) ले विदेशको सिकेको ज्ञान सीप,विज्ञतालाई नेपालसँग जोड्नेबारे बेलाबखत चर्चा भईनै रहन्छ। बेलाबखत बिभिन्न भेला,बैठक तथा सम्मेलनहरुमा चर्चापरिचर्चा हुने गरेतापनि विदेशमा सिकेको विज्ञतालाई नेपालसम्म जोड्ने कुनै ठोस आधारभने बनिसकेको छैन। त्यसो त संघले हरेक दुई बर्षमा हुने केन्द्रिय अधिबेशनसँगै बिभिन्न समिति,उपसमिति तथा कार्यदलहरु बनाएर गतिबिधिहरु संचालन गर्दै आएको छ।अधिकांशभन्दा बढी समितिहरुले नियमित छलफल तथा बैठक समेत नगरेको गुनासो सुनिन्छ। तर पछिल्लोक्रममा एनआरएन एकेडेमी अन्तर्गतका बिभिन्न समितिहरु भने निकै सक्रिय देखिन्छन्। 

त्यसमध्येको एक सक्रिय रक्त सञ्चार प्रविधि हस्तान्तरण समिति हो। ३० हजार युरोको लागतमा बाग्लुङमा प्रबिधि मैत्री ब्लड ब्यांक प्रोजेक्ट अघि सारिएको छ। समितिले एनआरएनए नेदरल्यान्ड्स र बाग्लुङ ब्लड ब्यांकको कोल्याब्रेसनमा  उक्त प्रोजेक्ट संचालन गरेको हो। यस्तै १ करोड रुपैयाँको लागतमा चितवनमा “मोबाइल ब्लड ब्यांक भरतपुर परियोजना” समेत अघि सारिएको छ। रक्तदाताको संख्या बढाउने,रक्तदानकार्यक्रमलाई अत्याधुनिक बनाउने,रक्तदानलाई गुणस्तर,सुरक्षित र भरपर्दो बनाउने सडक दुर्घटना,प्राकृतिक विपदमा छिटो छरितो रक्तदान सम्भव गराउने परियोजनाका मुख्य उदेश्यहरु हुन्। यसैको पेरिफेरीमा रहेर एक दशकभन्दा लामो समयदेखि नेदरल्याडसको एक ब्लड ब्यांकमा कार्यरत फणिन्द्र पन्तसँग जिज्ञासा राखेका छौ। प्रस्तुत छ:- रक्त सञ्चार प्रविधि हस्तान्तरण समितिका संयोजक समेत रहेका पन्तसँग गरिएको कुराकानीको सम्पादित अंश :-

रक्त सञ्चार प्रविधि हस्तान्तरण समितिका संयोजक फणिन्द्र पन्त

एनआरएन एकेडेमी ब्लकभित्र रक्त सञ्चार प्रविधि हस्तान्तरण कस्तो समिति हो ? 


सन् २००८–०९ देखि एनआरएनएमा प्रवासी नेपालीहरुको स्किल, नलेज, इनुभेसन ट्रान्सफर को विषय उठान भएको हो ।  विभिन्न समितिहरुको कार्यदल बन्ने क्रम त्यतिबेलादेखि नै सुरु भएको थियो । तर २०१६–१७ मा आइपुग्दा संस्थाको परिपक्कता पनि थपिदै गयो । अग्रजहरुले अब यसरी धेरै समितिलाई अलग अलग ढंगले भन्दा प्रकृति मिल्ने समितिको ब्लक बनाउने भनेर एनआरएन एकेडेमी ब्लक बनाइयो । विभिन्न १२ वटा समितिहरुसहित एनआरएन एकेडेमी ब्लक बनेको छ। स्किल,नलेज इनुभेसन ट्रान्सफर गर्नका लागि विभिन्न महत्वपुर्ण विषय जसलाई नेपालमा पनि महत्वपुर्ण रुपमा हेरिन्छ। अर्कोतर्फ डायस्फोरामा पनि एक्सपोर्टहरु हुनुहुन्छ सबैलाई जोड्ने काम गरेको छ। यो महत्वपूर्ण बिषय थियो तर मिडियामा खासै चर्चा भएको पाईदैन। तर यो प्राविधिक विषयमा निकै लगाव दिएर काम गर्ने विभिन्न समितिहरु छन्। ति मध्ये नेपालको रक्त सञ्चार क्षेत्र ब्लड ट्रान्सफर सिस्टममा कन्ट्रिव्युट गर्ने यो एउटा समिति हो। यसलाई बिटिएस टेक्नोलोजी ट्रान्सफर कमिटि भनिन्छ ।  विगत २ वर्षदेखि, हाम्रा सयौँ साथीहरुले डायस्फोराबाट नेपालको रक्तसञ्चारको क्षेत्रमा विशेषगरी प्रविधि उत्थान गर्ने विषयमा प्रत्यक्ष सहयोग गरेका छन् । जसलाई संयोजन गर्ने मौका मैले पाएको छु। 

गुडविल एम्बासडर चर्चित गायिका इन्न्दिरा जोशी रक्तदान गर्दै

तपाई नेदरल्याण्डसको एक ब्लड ब्यांकमा कार्यरत हुनुहुन्छ,तपाईजस्तै थुप्रै प्राबिधिक बिज्ञताभएका साथिहरु समितिमा जोडिनु भएकै होला। नेपालका लागि कस्तो रणनीति बनाएर काम गरिरहनुभएको छ ?


रक्तसञ्चार एउटा पद्धति हो । रक्तदान जीवनदान भनेर हामीले सरसर्ती बुझ्छौ । मेडिकल टेक्नोलोजिमा यसको निकै ठुलो महत्व छ । विश्वभरीको डाटालाई हेर्ने हो भने प्रत्यक वर्ष ११७.४ मिलियन मानिसले रक्तदान गर्छन् भने त्यतिकै संख्याका मानिसले यो पद्धतीबाट उपचार पाएर आफ्नो जीवन बचाउँछन्, स्वास्थ्य सुर्धाछन् । एनआरएनमा यो सोसियल अर्गनाइजेसन पनि भएकाले हाम्रा धेरै नेपाली रक्तदाता बाहिर हुनुहुन्छ। हाम्रो समितिले विशेषगरी दुईवटा स्टाटिजिमा काम गरिरहेको छ । एउटा चाहि जुन नेपालीहरु प्रवासमा बस्नुहुन्छ उहाँहरुलाई रक्तदान गर्न उत्पेरणा गर्ने, जो रक्तदाताहरु हुनुहुन्छ उहाँहरुलाई एकत्रित गर्ने, भावनात्मक रुपमा संयोजन गर्ने। र अर्को विकसित देशमा प्रयोग भइरहेको सुरक्षित रक्तदान पद्धतिलाई नेपालमा कार्यरत प्यारल कलिकहरुसँग कोल्याब्रेसन स्थापित गर्ने । यस मार्फत देशभित्र र बाहिरको पद्धतिलाई जोड्ने टेक्नोलोजी पुलको काम भईरहेको छ। 

यो व्यक्त्तिगत रुपमा मात्र एक्लैले गर्न असम्भव छ। प्राविधिक विषय स्वास्थ्यसँग जोडिएको विषय हो । व्यक्तिले चाहेर अभ्यास गर्न इथिकल रुपमा पनि मिल्दैन । त्यसैले हामीले संस्थागत रुपमा गरेका हौ । एनआरएनए एकेडेमीको रक्त सञ्चार पद्धति समिति मार्फत नेपालका सक्रिय नेपाल रेडक्रस सोसाइटीसँग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धन लिएर कोल्याब्रेसन बनाएका छौ। 

तपाईहरुसँग नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न अस्पतालहरुमा ट्रांसफ्यूजन युनिटमा काम गर्ने हेल्थ केयर प्रोफेसनलहरु पनि प्रत्यक्षरुपमा जोडिनु भएको छ ? 

नेपालसँग कोल्याब्रेसन गर्ने हाम्रो यो कन्सेफ्ट सन् २०१४ देखि सुरु भएको हो । सन् २०१७ पछि व्यवहारिक रुपमानै एमओयु गरेर सुर गरेका छौ । नेपाल रेडक्रस सोसाइटीमा काम गर्ने र नेपाल भरीका विभिन्न अस्पतालहरुमा ट्रांसफ्यूजन युनिटमा काम गर्ने हेल्थ केयर प्रोफेसनलहरु हुनुहन्छ। उहाँहरुसँग हामीले प्रत्यक्ष रुपमा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय रक्त सञ्चार काठमाण्डौ मार्फत ट्रेनिङ नियमित रुपमा गरिरहेका छौ । विगत तीन महिनादेखि प्रवासमा भएका विभिन्न विषयका रक्तसञ्चार विज्ञहरु वायोमेडिकल साइन्टिस्टलाई जोडेर सेमिनार गरिरहेका छौ । यसलाई हामी लाइफ लङ एजुकेशन भन्छौ । मेडिकल टेक्नोलोजी फास्ट मुभिङ छ । नेपालमा करिब २० देखि ३० वर्ष पछाडिको अभ्यासमा छौ । नेपालमा हुदै नभएको त होइन । भइरहेको छ तर ढिलो गतीले भएको छ । स्वास्थ्यसँग सबैको सरोकार हुन्छ । अलिकती बुझेकोले विदेशमा उपचार गर्नुको अवस्था आउनुको कारण यहि हो । नेपालमा जुन गतिले प्रविधि विकास हुनुपर्ने त्यो गतीले प्रविधिको विकास नहुँदा खाडल छ । त्यो खाडललाई पुर्नका लागि हामीले काम गरिरहेका छौ । 


नेपालमा भएका ब्लड ब्यांकहरुलाई प्रविधिमैत्री बनाउने कुनै त्यस्ता प्रयासहरु भएका छन् ?


जस्तै बाग्लुङमा ब्लड ब्यांकको अवस्थालाई हेरेर सानो ब्लड ब्यांकलाई कसरी प्रविधि मैत्री बनाउन सकिन्छ भने नेदरल्याण्डकै नेपाली साथिहरुको सहयोगमा ३० हजार युरोको प्रोजेक्ट ल्यायौ। हामीले एक वर्ष पहिला सुरु गरेका हौँ । त्यहाँको समन्वयपछि असाध्यै राम्रो प्रतिक्रिया पायौ। सहकार्यको वातावरण पायौ । वाग्लुङ जिल्ला रेडक्रस सोसाइटि, जिल्ला रक्त सञ्चार केन्द्रका कर्मचारीहरु, लायन्स क्लब अफ कालिका बाग्लुङले राम्रो कोल्याब्रेसन स्थापित गर्न सहयोग गर्नु भयो । नेदरल्याण्डका भएका नेपाली साथिहरुले एकै साझ २० हजार डलर सहयोग उठाउन सक्यौ । यस्तै एनआरएनए केन्द्रिय नेताहरुको सहयोगमा ३० हजार युरो बराबरको परियोजना त्यहाँ सञ्चालन हुदैछ । रकम पठाइसकेका छौ । उपकरण पनि पठाइसकिएको छ ।

गुडविल एम्बासडर लोकप्रिय गायक शिव परियार

तपाईहरुले त्यहाँ गर्नु भएको खर्च उपकरणका लागि हो ?

हो विशेषगरी उपकरणको लागि नै हो। अत्यन्त साधरण अवस्थामा मात्र रक्तसञ्चार हुदोरहेछ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड भन्दा तलको अवस्था देखेको भएर हामीले सानो स्याटेलाइटको ब्लड ब्यांक छान्यौ। त्यसलाई एउटा नमुनाको रुपमा बनाएर देखाउ भनेर आधारभुत उपकरण खरिद गरिएको छ। भवन चाहि ब्लड ब्यांकका लागि छुट्टयाइएको जिल्ला रेडक्रस वाग्लुङको आफ्नै भवन छ । सुरक्षित ल्याब र ट्रांसफ्यूजन युनिट बनाउनको लागि त्यहाँको जिल्ला अस्पतालसँग समेत समन्वय गरेर काम गरिरहेका छौ । उपकरण आधुनिक तर भवनको अवस्था र इन्टरनल ल्याब्रोटरीको अवस्था नमिलेको जस्तो भएर त्यसलाई मिलाउने प्रयास भइरहेको छ ।

सेमिनारको एक झलक ..

चितवनमा मोबाइल बैकको कन्सेप्ट सुरु गर्दैहुनुहुन्छ नि। खास त्यो के -हो ?

चितवनको अलिकती फरक छ । देशैभरी ठुला साना गरेर १ सय १० ब्लड ब्यांकहरु छन् । एनआरएनले सबै काम गर्ने त होइन । हामीले त टेक्नोलोजी ट्रान्सफर्ममेसन भनेका छौ । विशेषगरी अनुभव साट्ने कुरा हो । बाहिर भएको नलेजलाई नेपालमा केही कमी छ भने त्यसलाई साट्ने हो । ज्ञान बाड्ने कुरा हो । देखिने खालको परिवर्तनका स्टेप पनि लिनुपर्यो भनेर हाम्रो पहलमा सानो–सानो प्रयास भएका छन् । वाग्लुङको पुरै ब्लड ब्यांकनै सुधार गर्ने परियोजना हो । चितवन अलि ठुलो रिजन छ । चितवनको क्षेत्रीय ब्लड ब्यांक भरतपुरले ११ जिल्लालाई सेवा दिन्छ । भरतपुरको ब्लड ब्यांक धैरै मोबाइल ब्लड क्याम्पका माध्यमबाट ब्लड कलेक्सन गरिन्छ । चितवन गर्मी ठाउँ पनि हो । विशेषगरी हाइवेको जक्सन पनि हो । त्यहाँ ट्राफिक एक्सिडेन्ट पनि धेरै हुनेहुँदा इर्मजेन्सीमा रगत पनि चाहिने । त्यो हिसाबले मोबाइल ब्यांकको कन्सेप्ट गर्न लागेका छौ । त्यहाँ एउटा बस हुन्छ । ब्लड कलेक्सन गर्नको लागि त्यो बस ११ जिल्लामानै पुग्न सक्छ । तापक्रमलाई मेन्टेन गर्ने एयर कन्डिसन, डाक्टर रुम सहितको त्यो भित्रनै चारवटा ब्लड कलेक्सन गर्ने बेड हुन्छन् । यो करिब १ करोड रुपैयाँको यो योजना हो । सबै नेपाली साथीहरु विशेषगरी युरोप, अमेरिका,मध्यपूर्व जहाँ भएपनि सबैको संयुक्त सहयोगमा काम पुरा गर्ने लक्ष्य छ। करिब १ हजार जना नेपालीले यसलाई सहयोग गरुन् भन्ने हाम्रो चाहाना हो। रकम ठुलो सानो भन्ने छैन । एक डलर पनि हुन सक्छ । अहिलेसम्म एकैजनाले ५ लाखसम्म पनि  दिनु भएको छ । सबैको सहयोगमा चितवनमा मोबाइल ब्लड ब्यांक स्थापना गर्ने लक्ष्य छ। यसमा चितवन रेडक्रसको पनि सहकार्य छ। 

तपाईले बताएअनुसार रक्त सञ्चार प्रविधि हस्तान्तरण उपसमिति सक्रिय नै देखियो। तर एनआरएनमा त यस्तै ४७ वटा विभिन्न समिति र उपसमितिहरु छन्। कतिपय त बैठक समेत बस्न सकेका छैनन् भन्ने सुनिन्छ नि। 
मेरो जानकारीमा पनि अहिले एनआरएनएमा ४७ वटा विभिन्न समिति र उपसमितिहरु छन् । ती मध्ये एनआरएन एकेडेमी ब्लकमा चाहि स्किल नलेज ट्रान्सफरसँग सम्बन्धीत साइन्स इनोभेसनसँग सम्बन्धित १२ वटा हुन् । त्यसमध्ये हामी पनि हौ । संस्थागत रुपमा भित्र हेर्दा धेरै साथीहरुसक्रिय छन् । कृषिको समित असाध्यै सक्रिय छ,  सरसफाइको सक्रिय छ, ट्राफिक मेनेजमेन्टको सक्रिय छ, साइन्स एकेडेमी पनि सक्रिय छ यहाँले देखि सक्नु भयो पहिलोचोटी नेपालमा बिज्ञ सम्मेलन भयो यसलाई सक्रिय नै भन्नुपर्छ । तपाईले भनेजस्तो केहि निष्क्रिय कमिटिहरु पनि होलान् । तर एनआरएन एकेडेमी भित्रको टिममा मैले सक्रियता पाउछु ।मिडियाले ध्यान नदिएको बाहिर आउन नसकेको हुनसक्छ। 

अझ यहाँ अर्कोकुरा पनि जोडौ हेल्थ ईसुमा पब्लिसिटी गर्न ब्लड डोनेसनबारे चेतना फैलाउनको लागि हामीले नेपालका लागि नेपाल रेडक्रससँग संयुक्त रुपमा गुडविल एम्बासडर पनि नियुक्त्त गरेका छौ। लोकप्रिय गायक शिव परियार र चर्चित गायिका ईन्धिरा जोशीले यो भूमिका निभाईरहनु भएको छ। 

तपाईको प्रतिक्रिया