काहुँ धरहराको हाईकमा रमाए हाईकर्स क्लब नेपालको टोली


पोखरा । हाईकर्स क्लब नेपालको टोलीले शनिबार पोखरा महानगरपालिका वडा नं. ११ काहुँकोटसम्म हाईकिङ गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ बाट सुरु भएको एक दिने हाईकिङ १२ किलोमिटरको दुरी पार गरी वडा नम्बर ११ को काहुँकोट, काँहु धरहरासम्म पुगेर सकिएको हो ।

पोखरा महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष रविन्सन प्रजुको शुभकामना सन्देश सहित वडा नम्बर ३ र ११ जोड्नेगरी निर्माण गरिएको आर्क ब्रिजबाट हाईकिङ सुरु गरिएको थियो ।

शुभकामना सन्देश दिदै वडाध्यक्ष प्रजुले स्वास्थ्यको लागी केही समय हिड्नु आवश्यक रहेको बताउनुभयो । हाईकिङले पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्ने भएकोले निरन्तरता दिन आग्रह गर्दै अफ्नो तर्फबाट पनि साथ र सहयोग रहने बताउनुभयो ।

हाईकर्स क्लब नेपालले काहुँ धरहरा प्रिमियम होमस्टेको पनि अवलोकन गरेको थियो । शनिबार हाईकर्स टोली काहुँ धरहरा प्रिमियम होमस्टे पुगेपछि फुलमालाद्धारा न्यानो आतिथ्यताले स्वागत गरेका थिए ।

होमस्टेमा पाहुनालाई खाजाको रुपमा कोदोबाट बनेको परिकार दिईएको थियो । आमा समुहद्धारा सांस्कृतिक कार्यक्रम पनि देखाईएको थियो । पोखराबाट नजिकै रहेपनि प्रचार प्रसारमा कमी भएकोले होमस्टेलाई सोचे अनुसार सञ्चालन गर्न नसकिएको होमस्टे सञ्चालक समितीका अध्यक्ष अन्जु पौडेल आचार्यले बताउनुभयो । उहाँका अनुसार उक्त समस्यालाई समाधान गर्नका लागी आश्यक पहल भैरहेको छ ।

हाईकिङमै संलग्न गाऊँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले होमस्टेको समस्या सुन्दै समाधानको लागी संस्थाको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो । स्थानिय कलासंस्कृती, कृषिलाई अत्याधिक प्रयोग तर्फ पनि उहाँको जोड थियो ।

हाईकिङमा टोलीमा पर्यटन व्यवसायी, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरु, विभिन्न राष्ट्रिय तथा स्थानिय मिडियामा क्रियाशिल पत्रकारहरु, बिद्यार्थीहरु गरी २४ जनाको सहभागिता रहेको थियो । पोखरामा एक दिने हाईकिङ अनिवार्य भइसकेकोले अब नियमित गर्ने योजना अनुसार आगामी साउन ३२ गते कास्कीको मिर्सा जाने निर्णय गरिएको हाईकर्स क्लब नेपालका हाईकिङ संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो ।